जेन–जी आन्दोलन क्रममा प्रदर्शनकारीहरूले एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका नेता तथा पूर्वसभामुख कृष्णबहादुर महराको नाम जोडेर दाङका दुई होटलमा तोडफोड, लुटपाट र आगजनी गरेका थिए।
तर यथार्थमा यी दुवै होटलसँग ओली र महराको कुनै सम्बन्ध छैन।
हामी कुरा गर्दै छौं, घोराहीको 'माला इन होटल' र तुलसीपुरको 'कोमल रिसोर्ट' को।
तीनतारे माला इन होटलका सञ्चालक ५२ वर्षीय ओबिन्द्रबहादुर महरा हुन् भने कोमल रिसोर्टकी सञ्चालक चर्चित लोकगीत गायक कोमल ओली हुन्। न ओबिन्द्रको कृष्णबहादुर महरासँग कुनै नाता छ, न कोमलको केपी ओलीसँग साइनो छ।
ओबिन्द्रका अनुसार भदौ २४ को लुटपाट र आगजनीबाट २ करोड ८२ लाख रूपैयाँ बराबर क्षति पुगेको छ। मदिरा र पिय पदार्थ मात्र २१ लाख बराबरको लुटिएका छन्। होटलको प्रत्येक कोठाबाट टिभी चोरिएको छ। पकाउने भाँडादेखि प्लेट, काँटा र चम्चा पनि लगिएका छन्।
अन्दाजी ५० वर्षीय एक व्यक्तिले एउटा हातमा खसीको साँप्रा र अर्को हातमा मदिराको बोतल होटलबाट लैजाँदै गरेको तस्बिर सामाजिक सञ्जालमा भाइरल नै भएको थियो।
त्यस्तै, होटलको काउन्टरबाट ५ लाख ७० हजार रूपैयाँ नगद, होटलका चारवटा ल्यापटप र ग्राहकका तीनवटा ल्यापटप लुटपाटमा परेका थिए।
ओबिन्द्रले यति ठूलो नोक्सान बेहोर्नुको कारण एउटै छ — माओवादी केन्द्रका नेता तथा पूर्वसभामुख कृष्णबहादुर महरासँग थर मिल्नु।
त्यही कारणले आफ्नो होटलमा महराको लगानी रहेको आशंका गर्दै प्रदर्शनकारीहरूले आक्रमण गरेको ओबिन्द्र बताउँछन्।
'मैले रोल्पाबाट झरेर वर्षौंको मिहिनेतपछि यो होटल खोलेको हुँ,' उनले भने, 'कृष्णबहादुर महरासँग थर मिल्नु संयोग मात्र हो। उहाँसँग मेरो कुनै नाता छैन। यो होटलमा उहाँको एक सुका लगानी पनि छैन।'
ओबिन्द्रबहादुर महरा
उनी पाँच वर्षको उमेरमै बुबा कर्णबहादुर महरासँग रोल्पाबाट दाङ झरेका थिए। उनीहरूको पुर्ख्यौली घर हालको सुनिल स्मृति गाउँपालिकामा थियो। कृष्णबहादुर महराको घर भने लिवाङ नगरपालिकाको मेझाङमा पर्छ।
ओबिन्द्रका अनुसार उनले दाङमा १६ वर्ष औषधि व्यवसाय गरे। त्यसबाट राम्रो आम्दानी भएपछि २०५४ सालदेखि घोराही क्षेत्रमा घरजग्गा कारोबारमा लागे। त्यही क्रममा अहिले होटल रहेको ८ रोपनी जग्गा किनेको उनी बताउँछन्।
'दाङ लुम्बिनीको राजधानी बन्ने चर्चा सुरू भएपछि मैले घोराहीमा एउटा स्तरीय होटल जरूरी छ भन्ठानेँ,' उनले भने, 'त्यसपछि यही जग्गा धितो राखेर १० करोड रूपैयाँ लागतमा आमाको नामबाट होटल सञ्चालन गरेको हुँ।'
उनले नेपाल बैंकबाट ७ करोड ४५ लाख रूपैयाँ ऋण लिएका थिए भने २ करोड ५० लाख जग्गा बेचेर जुटाएका थिए। अझै पनि ४ करोड ३९ लाख ऋण बैंकलाई तिर्न बाँकी छ।
२०७१ सालबाट निर्माण सुरू भएको माला इन होटलको उद्घाटन २०७४ माघ ४ गते ओबिन्द्रका बुबा कर्णबहादुरले नै गरेका थिए।
आफ्नै बलबुताबाट सफल व्यवसायीको परिचय बनाएका ओबिन्द्र उद्योग वाणिज्य संघ दाङका पूर्वउपाध्यक्ष, सिएमए संघ दाङका संस्थापक जिल्ला अध्यक्ष, रोटरी क्लब र घोराही जेसिजका पूर्वअध्यक्ष हुन्। उनी लायन्स क्लब अफ घोराहीका निवर्तमान अध्यक्ष पनि हुन्।
आफू मिहिनेत गर्न नसक्ने, अनि अरू मिहिनेत गरेर सफल भएको पनि देखी नसहने 'इखालु' सामाजिक मनोविज्ञानको सिकार हुनुपरेको उनको भनाइ छ।
'शंकै शंकाको भरमा मेरो वर्षौंको मिहिनेत सखाप पारियो। कसैलाई अझै पनि मेरो होटलमा कृष्णबहादुर महराको लगानी छ भन्ने शंका भए म प्रमाणित गर्न चुनौती दिन्छु,' उनले भने।
उक्त घटनापछि महराले सहानुभूति प्रकट गर्न ओबिन्द्रलाई फोन गरेका थिए।
'हल्लाकै भरमा मेरो नाम जोडेर तिम्रो होटलमा त्यत्रो विध्वंश गरिएछ,' महराको भनाइ उद्धृत गर्दै ओबिन्द्रले भने, 'म यो घटनाबाट साह्रै दुःखी छु। मेरो नाम जोडेर अनाहकमा तिमीलाई क्षति पुर्याए। धैर्य राख्नू, नआत्तिनू!'
माला इन होटलमा ५१ वटा कोठा थिए। तीमध्ये ३३ वटामा आगजनी भएर १८ वटा मात्र जोगिएका छन्। होटलका पाँचवटै हलमा ठूलो क्षति पुर्याइएको छ। प्रदर्शनकारीहरू फर्किनासाथ कर्मचारीहरूले होटलभित्रै जडान गरिएको अग्नि नियन्त्रण प्रणाली चालू गरेर आगो निभाएकाले मात्र सबै कोठामा सल्किन नपाएको ओबिन्द्रले बताए।
यहाँ ५० जना कर्मचारी कार्यरत छन्। यो घटनापछि पनि ओबिन्द्रले कसैलाई जागिरबाट निकालेका छैनन्।
भदौ २४ अघि माला इन होटल।
'अहिले आएर मलाई यस्तो लाग्न थालेको छ, हाम्रो समाजमा अर्काले गरिखाएको डाहा गर्नेहरू धेरै रहेछन्,' उनले भने, 'कोही मिहिनेत गरेर धनी भएको पनि समाजलाई पच्दो रहेनछ। धनी हुनुलाई अपराध ठानिँदो रहेछ, पाप ठानिँदो रहेछ। म समाजको त्यही सोचको सिकार भएँ।'
यो होटलले राम्रो आम्दानी गरिरहेकाले उनी पछिल्लो समय अर्को ठाउँमा लगानी गर्ने तयारीमा थिए। भदौ २४ को घटनापछि नयाँ लगानीको योजना त्यागेको उनी बताउँछन्।
'मैले आफ्नो छोरालाई नेपालमै बस्नुपर्छ भनेर विदेश जान रोकेको थिएँ। अब ऊ मलाई प्रश्न गरिरहेको छ,' ओबिन्द्रले भने, 'के नेपालमै लगानी गर्नु र यही भूमिलाई कर्मथलो बनाउनु मेरो गल्ती थियो?'
यस्ता अनगिन्ती पीडा र आक्रोश मनमा भए पनि उनले हार मानिसकेका छैनन्। अहिलेलाई नयाँ लगानीको योजना थाती राखे पनि क्षतिग्रस्त होटल ब्युँताउनमा जुटिसकेका छन्। त्यसका लागि काठमाडौंबाट ५० जना मिस्त्री झिकाएर जीर्णोद्धार सुरू गरेको उनले बताए।
'फेरि उठ्ने प्रयास गर्दै छु,' उनले भने, 'सकभर तिहारअघि नै होटल सञ्चालनमा ल्याउने योजना छ।'
उता चर्चित लोकगीत गायक कोमल ओलीले जीवनभरको बचत लगानी गरेर खोलेको 'कोमल रिसोर्ट' पनि उनको थर र उनी नेकपा एमालेकी केन्द्रीय सदस्य भएकै कारण तोडफोड र आगजनीको सिकार भयो।
तुलसीपुर–६ गोलौरास्थित यो रिसोर्ट कोमलको पैतृक सम्पत्तिमा बनेको छ। उनले जीवनभर दु:ख गरी बचत गरेको पुँजीले पैतृक सम्पत्तिमा रिसोर्ट चलाएको बताउँदै आएकी थिइन्।
एक बिघा क्षेत्रफलमा बनेको कोमल रिसोर्टको निर्माण २०७८ सालबाट सुरू भएको थियो। यसले २०८० को आखिरीबाट सेवा दिन थालेको हो। उद्घाटन भने २०८१ फागुन ५ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए।

घोराहीमा पार्टी कार्यकर्तालाई सम्बोधन गर्न आएका बेला ओली यो रिसोर्ट उद्घाटन गर्न तुलसीपुरसम्म आएका थिए। त्यति बेला ओली हेलिकप्टरमा उडेर रिसोर्ट उद्घाटन गर्न आएको खबरले निकै चर्चा पाएको थियो।
त्यही बेला नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सुदूरपश्चिम भ्रमणमा थिए। उनी लुम्बिनीका पूर्वमुख्यमन्त्री डिल्लीबहादुर चौधरीको निम्तोमा सुर्खेत हुँदै हेलिकोप्टर चढेर दंगीशरण–३ चखौरास्थित थारू संग्रहालय आएका थिए। त्यही मौकामा कोमलले कांग्रेस नेता डिल्लीबहादुरलाई भनेर सभापति देउवालाई पनि उद्घाटन समारोहमा निम्त्याएकी थिइन्।
यसरी ओली र देउवालाई डाकेर तामझामका साथ गरिएको उद्घाटन नै आखिरमा यो रिसोर्टमाथि हमलाको कारण बन्यो।
धेरैले कोमल र केपी ओली नातेदार भएको अड्कल मात्र काटेनन्, यो रिसोर्टमा केपीको लगानी रहेको हल्ला पनि पत्याए। सँगसँगै, प्रधानमन्त्रीबाट निजी रिसोर्ट उद्घाटनमा सहभागी हुन सरकारी स्रोत दुरूपयोग गरिएको भन्दै तीव्र आलचोना पनि भयो।
आखिरमा त्यही आलोचना र भ्रमको आगोले कोमल ओलीको वर्षौं वर्षको मिहिनेत खरानी बनायो।
यो रिसोर्ट तुलसीपुर बजारबाट झन्डै ३ किलोमिटर दक्षिणको एकलास ठाउँमा छ। कोमलका भाइ तथा होटलका म्यानेजर नरेन्द्र ओलीका अनुसार रिसोर्टमा २ करोड ४१ लाख रूपैयाँ बराबरको क्षति पुगेको छ। आक्रमणकारीहरूले १६ लाख रूपैयाँ बराबरको मदिरा मात्र लुटेका छन्।

'केपी ओलीसँग हुँदै नभएको नाता जोडेर गालीगलौज गर्दै रिसोर्टमा छिरेकाहरूले कुनै पनि कोठामा कुनै पनि चिज सग्लो छाडेका छैनन्,' नरेन्द्र भने।
रिसोर्टको भग्नावशेष देखेर आहत हुँदै उनले २० वर्षअघिको घटना सम्झे, जब तत्कालीन माओवादीले टिकरी गाउँस्थित उनीहरूको घर लुटपाट गरेका थिए।
'बीस वर्ष पहिले टिकरीको घरमा माओवादीहरूले बस्न दिएनन्,' नरेन्द्रले भने, 'त्यतिखेर पनि सर्वश्व लुटियो। बीस वर्षपछि त्यस्तै घटना दोहोरियो।'
विगतमा राप्रपाको केन्द्रीय सदस्य रहेकी कोमल २०७४ असोजमा एमाले प्रवेश गरेकी थिइन्। उनलाई एमालेले राष्ट्रियसभा सदस्य पनि बनाएको थियो। २०७९ को संसदीय निर्वाचनमा उनी दाङ क्षेत्र नम्बर ३ बाट संघीय संसदको उम्मेदवार बनिन्। तर कांग्रेस नेता दीपक गिरीसँग पराजित भइन्।
'उहाँको राजनीतिक जीवनसँग यो व्यवसायको कुनै सम्बन्ध छैन। यो हामीले पुर्ख्यौली जमिनमा आफ्नै मिहिनेतले खडा गरेका हौं। तर यसलाई पनि राजनीतिको सिकार बनाइयो,' नरेन्द्रले भने।
दाङमा व्यवसाय नगरौं भनेर आफूले जोडबल गर्दा पनि दिदी कोमल ओली र दाइ यामेन्द्रको करकापले यो रिसोर्ट खोलेको उनी सम्झन्छन्।
'जे गरे पनि आफ्नै ठाउँमा गर्नुपर्छ भन्ने दिदीको धारणा थियो। त्यही आफ्नै ठाउँमा हाम्रो यति ठूलो विनाश भयो,' नरेन्द्रले भने।
'आन्दोलनकारीका नाममा आएका लुटेराहरूले हामीले वर्षौं मिहिनेत गरेर सजाएको संसार ध्वस्त पारिदिए। खोरबाट कुखुराको भाले, हाँस र टर्की मात्र होइन, हामीले पालेको एउटा बँदेल पनि लैजान खोजेका थिए। तर बँदेल चाहिँ लैजान सकेनन्। त्यसबाहेक रिसोर्टको बाँकी कुनै चिज सग्लो बचेको छैन।'
यो अवस्थाबाट फेरि कहिले उठ्न सकिने हो यकिन नभएको उनी बताउँछन्।
***