विबाइडीको प्रिमियम सब-ब्रान्ड याङवाङले ग्लोबल इलेक्ट्रिक भेइकल (ईभी) मा सबैभन्दा तीव्र गतिको ईभीको रेकर्ड बनाएको छ।
जर्मनीको एटीपी अटोमोटिभ टेस्टिङ पापेनबर्ग टेस्ट ट्रयाकमा ४७२.४१ किलोमिटर प्रतिघण्टाको गतिका साथ सो रेकर्ड कायम भएको हो।
याङवाङको सबैभन्दा नयाँ मोडल यु९ ट्रयाक एडिसन सुपर कारले गत अगस्ट ८ मा विश्वकै सबैभन्दा तीव्र गतिको ईभीको रूपमा यो रेकर्ड कायम गरेको हो।
जर्मनीका व्यावसायिक ड्राइभर मार्क बासेङले गाडी चलाएर सो रेकर्ड कायम गरेका हुन्।
गत वर्ष पनि उनले यस्तै ग्लोबल ईभी स्पिड रेकर्ड कायम गरेका थिए। उनले नयाँ प्रविधिका कारण यसपटक उही ट्रयाकमा नयाँ रेकर्ड कायम गर्न सफल भएको र आफ्नै रेकर्ड तोडेकोमा खुसी व्यक्त गरेका छन्।
याङवाङ यु९ हाल चीनमा बिक्री भइरहेको छ। अहिले रेकर्ड ब्रेक गरेको याङवाङ यु९ ट्रयाक एडिसन त्यसैको सुधारिएको भर्सन हो।
यसमा पनि यु९ मा प्रयोग गरिएको ई४ प्लेटफर्म र डिसस–एक्स कोर टेक्निकल आर्किटेक्चर प्रयोग गरिएको छ।
यसमा विश्वकै पहिलो १२०० भोल्टको अल्ट्रा–हाई–भोल्टेज भेइकल प्लेटफर्म फिचर उपलब्ध छ र एक्स्ट्रिम कन्डिसनमा पनि सहजताका लागि थर्मल म्यानेजमेन्ट सिस्टमसँग पेयर गरिएको छ।
याङवाङ यु९ ट्रयाक एडिसनमा भएको ई४ प्लेटफर्ममा विश्वकै पहिलो विशेष प्रकारको मोटर सिस्टम प्रयोग गरिएको छ। यसमा ३० हजार आरपीएमको हाई–पर्फर्मेन्स मोटर छ, यसको पिक पावर प्रतिमोटर पाँच सय ५५ किलोवाट छ।
यी सबैबाट तीन हजार पीएसको कम्बाइन्ड सिस्टम आउटपुट हुन्छ। यसका कारण गाडीको पावर टु वेट रेसियो पनि प्रतिटन एक हजार दुई सय १७ पीएस हुन जान्छ।
यी बाहेक ई४ प्लेटफर्मको क्वाड–मोटर इन्डेपेन्डेन्ट टर्क–भेक्टरिङ सिस्टमले लगातार रूपमा सडकको मोनिटर गरिरहेको हुन्छ। यसले गर्दा स्पिड, पोस्चर आदिको निगरानी गरी चक्का चिप्लन वा ट्रयाक्सन लस हुनबाट बचाउँछ।
डिसस–एक्स इन्टेलिजेन्ट बडी कन्ट्रोल सिस्टमले सस्पेन्सनलाई जस्तोसुकै कर्नरिङ र एक्सिलरेसनको समयमा पनि सहजता ल्याउन सघाउँछ।
याङवाङ यु९ मै प्रयोग भएको एरोडाइनामिक डिजाइन यु९ ट्रयाक एडिसनमा पनि प्रयोग गरिएको छ। त्यसैगरी यसमा अझै सुधारिएको अप्सनल कार्बन–फाइबर फ्रन्ट स्प्लिटर प्रयोग गरिएको छ। अल्ट्रा–हाई स्पिडमा समेत चलाउन सहज हुने गरी यसमा पुरै साइन्टिफिक डिजाइन र टेक्नोलोजी प्रयोग गरिएको छ। यसमा प्रयोग भएको टायर पनि विशेष किसिमको छ। यसका लागि ट्रयाकमा केन्द्रित सेमी–स्लिक टायर प्रयोग गरिएको छ।
यसरी पहिले नै उपलब्ध विशेष प्राविधिक दक्षता र थप सुधारका कारण याङवाङ यु९ ट्रयाक एडिसनले सो उपलब्धि हासिल गर्न सफल भएको हो। यी सबैका कारण यो ग्लोबल अटोमोटिभ इन्डस्ट्रिकै टपमा पर्न सफल भएको हो।