न्यून ब्याजदर र सवारी साधनको बजारमा चलेको 'प्राइस वार'ले अहिले सवारी साधन किन्ने राम्रो अवसर बन्न पुगेको छ।
सवारी साधन बिक्रेताहरूको दुइटा संगठन बनेसँगै यस वर्षबाट पहिलो पटक वर्षमा दुईपटक सवारी एक्स्पो हुन गइरहेको छ।
गत साउन २१ गते बुधबारबाट 'नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ चलिरहेको छ।
एक्स्पोमा ५० ब्राण्डका सवारी साधनको ४८ वटा स्टल राखिएका छन्। यो एक्स्पोमा गाडी बुकिङ वा खरिद गर्दा बिक्रेताहरूले सवारीमा १ लाखदेखि २० लाख रुपैयाँसम्म नगद छुटका अफर ल्याएका छन्।
सवारी खरिदको लागि बैंकहरूले लिने ब्याजदर पनि करिब चार वर्षयताकै न्यून छ।
राष्ट्र बैंकको तथ्यांक अनुसार २०७९ माघमा बैंक तथा वित्तीय संस्थाहरूले औसत १३.७२ प्रतिशत ब्याजदरमा सवारी कर्जा दिइरहेका थिए।
गत जेठमा भने यस्तो कर्जाको औसत ब्याजदर ८.४७ प्रतिशत छ।
यसअघि असोज २०७८ मा यस्तो कर्जाको औसत ब्याजदर ८.३६ प्रतिशत थियो। तथ्यांकअनुसार हाल बैंकहरूले २०७८ यताकै न्यून ब्याजदरमा सवारी कर्जा दिइरहेका छन्।
बैंक अनुसार भने विगतमा कर्जाको ब्याजदर १६ प्रतिशतसम्म पुगेको थियो। अहिले केही बैंकहरूले ६.५ प्रतिशत ब्याजदरमै पनि यस्तो कर्जा दिइरहेका छन्।
कुन बैंकमा कति ब्याजमा पाइन्छ कर्जा?
पछिल्लो समय कर्जाको ब्याजदर थप घटेको छ। नाइमामा स्टल नै राखेको एभरेष्ट बैंकले आधारमा हुने परिवर्तनसँगै फेरिने फ्लोटिङ ब्याजदर ६.५२ प्रतिशतमा र कर्जा अवधिभर स्थिर रहनेमा ७ प्रतिशत ब्याजदरमा यस्तो कर्जा दिने भएको छ।
हाल राष्ट्रिय वाणिज्य बैंकको आधारदर ४.८९ प्रतिशत छ। बैंकले आधार दरमा न्यूनतम १.७५ देखि ३ प्रतिशत प्रिमियम थपेर सवारी कर्जा दिइरहेको छ। बैंकबाट करिब ६.६४ देखि ७.८९ प्रतिशत ब्याजदरमा ऋण पाइन्छ।
हाल नेपाल बैंकको आधारदर ५.६३ प्रतिशत छ। बैंकले आधार दरमा न्यूनतम ०.५० देखि ३.५० प्रतिशत प्रिमियम थपेर सवारी कर्जा दिइरहेको छ। बैंकबाट करिब ६.१३ देखि ९.१३ प्रतिशत ब्याजदरमा ऋण पाइन्छ।
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको आधारदर ५.७८ प्रतिशत छ। बैंकले आधार दरमा न्यूनतम १ देखि ४.५० प्रतिशत प्रिमियम थपेर सवारी कर्जा दिइरहेको छ। बैंकबाट करिब ६ देखि १०.२८ प्रतिशत ब्याजदरमा ऋण पाइन्छ।
नबिल बैंकले न्यूनतम ७.५८ प्रतिशत देखि करिब ८.८३ प्रतिशत ब्याजदरमा सवारी कर्जा दिइरहेको छ। बैंकको आधार दर ५.८३ प्रतिशत छ।
कृषि विकास बैंकको आधार दर ५.८७ प्रतिशत छ। बैंकले अधिकतम २.५ प्रिमियम थपेर सवारी कर्जा दिइरहेको छ। करिब ८.३७ प्रतिशत ब्याजदरमा सवारी कर्जा दिइरहेको छ।
ग्लोबल आइएमई बैंकको आधार दर ५.७६ प्रतिशत छ। बैंकले १.५ देखि ३.५ प्रिमियम थपेर सवारी कर्जा दिइरहेको छ। करिब ७.२६ देखि ९.२६ प्रतिशत ब्याजदरमा सवारी कर्जा दिइरहेको छ।
सानिमा बैंकले न्यूनतम ७.५० प्रतिशत देखि करिब ८.५० प्रतिशत ब्याजदरमा सवारी कर्जा दिइरहेको छ।
माछापुच्छ्रे बैंकले न्यूनतम ६.८० प्रतिशत देखि करिब १०.३ प्रतिशत ब्याजदरमा सवारी कर्जा दिइरहेको छ। बैंकको आधार दर ६.३० प्रतिशत छ।
एनएमबी बैंकले न्यूनतम ६.७२ प्रतिशत देखि करिब १०.२२ प्रतिशत ब्याजदरमा सवारी कर्जा दिइरहेको छ। बैंकको आधार दर ६.२२ प्रतिशत छ।
सिद्धार्थ बैंकले न्यूनतम ९.३४ प्रतिशतदेखि करिब ११.३५ प्रतिशत ब्याजदरमा सवारी कर्जा दिइरहेको छ।
नेपाल एसबीआइ बैंकले ६.५४ प्रतिशतदेखि १२ प्रतिशत ब्याजदरमा, सिटिजन्स बैंकले ९.३५ प्रतिशतसम्म ब्याजदरमा यस्तो कर्जा दिइरहेका छन्।
हिमालयन बैंकको आधार दर ६.५७ प्रतिशत छ। बैंकले ०.५० देखि २.५० प्रिमियम थपेर सवारी कर्जा दिइरहेको छ।
त्यस्तै, प्रभु बैंकको आधार दर ६.६६ प्रतिशत छ। बैंकले २ देखि ४.५० प्रिमियम थपेर सवारी कर्जा दिइरहेको छ।
लक्ष्मी सनराइज बैंकको आधार दर ६.५२ प्रतिशत छ। बैंकले १ देखि ३ प्रतिशत प्रिमियम थपेर सवारी कर्जा दिइरहेको छ।
कुमारी बैंकको आधार दर ६.६२ प्रतिशत छ। बैंकले २ देखि ४ प्रतिशत प्रिमियम थपेर सवारी कर्जा दिइरहेको छ।
त्यस्तै, प्राइम कमर्सियल बैंकको पनि आधार दर ६.६२ प्रतिशत छ। बैंकले अधिकत ५ प्रतिशत प्रिमियम थपेर सवारी कर्जा दिइरहेको छ।
एनआइसी एशियाको बेसरेट सबैभन्दा धेरै ७.१७ प्रतिशत छ। बैंकले करिब ९ प्रतिशतसम्म ब्याजदरमा कर्जा दिइरहको छ। स्ट्याण्डर्ड चार्टर्डले भने सवारी कर्जा दिने गरेको छैन।