नेपालमा बिजुली गाडी (इभी) को बजार तीव्र गतिमा बढिरहेका बेला टाटाले आफ्नो प्रिमियम एसयुभी प्रतिस्पर्धामा उतार्दै छ।
संसारकै एक अग्रणी गाडी उत्पादक टाटाको नेपालस्थित आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले आगामी साताबाट बजारमा प्रिमियम इभी 'कर्भ' ल्याउन लागेको हो।
हाल यसको मूल्य तोकिएको छैन। तर कर्भ नेपाली बजारमा टाटाको सबभन्दा प्रिमियम एसयुभी हुने सिप्रदीका सिइओ राजनबाबु श्रेष्ठले बताए।
'स्टाइलिस, बलियो एसयुभी खोजिरहेका र लामो दुरी चलाउनुपर्नेलाई यो गाडी उपयुक्त छ,' उनले भने, 'डिजाइन पनि आकर्षक भएकाले ग्राहकहरूले मनपराउनेमा हामी विश्वस्त छौं।'
योसँगै टाटाका चार मोडलका इभी बजारमा हुनेछन् — टियागो, पन्च, नेक्सन के-३ र कर्भ।
बजारमा अहिले बिक्री भइरहेको ह्याचब्याक स्टाइलको टियागो टाटाको सबभन्दा सस्तो इभी हो। यसको नयाँ संस्करण पनि आइसकेको छ। रङ, लुक्स, डिजाइन र फिचर अपडेट भएर आएको उनले बताए। यसको सुरूआती मूल्य २७ लाख ४९ हजार रूपैयाँ छ।
टियागोभन्दा अलि महँगो छ— कम्प्याक्ट एसयुभी पन्च। यसले नेपालमा राम्रो बजार पाएको छ। यसको सुरूआती मूल्य ३३ लाख ९९ हजार रूपैयाँ छ।
'एसयुभी चढेको अनुभव चाहिएको छ तर पैसा कम छ भने कम्प्याक्ट एसयुभी पन्च लिन सकिन्छ,' श्रेष्ठले भने।
त्यस्तै अर्को मोडल प्रिमियम कम्प्याक्ट एसयुभी नेक्सन के-३ हालै मात्र बजारमा आएको हो। यसको सुरूआती मूल्य ४८ लाख ९९ हजार रूपैयाँ छ।
'पन्चभन्दा अलिकति महँगो गाडी किन्न खोज्नेका लागि नेक्सन के-३ उपयुक्त छ। यसको माइलेज राम्रो छ, सिट पनि आरामदायी छन्। त्यसैले लामो बाटो यात्रा गर्न सहज हुन्छ,' उनले भने।
नेक्सन के-३ भन्दा अझै प्रिमियम र पूर्ण रूपमा एसयुभी चाहनेका लागि चाहिँ कर्भ ल्याइएको उनले बताए।
'यो कूप डिजाइनको कार बलियो र शक्तिशाली छ। यसमा व्यावहारिक, गुणस्तरीय र उपयोगी फिचरहरू छन्,' श्रेष्ठले भने।
टाटा तीन वर्षअघि नेक्सन प्राइममार्फत नेपालको इभी बजार प्रवेश गरेको थियो। सिप्रदीले हालसम्म ७ हजार वटाभन्दा बढी टाटा इभी बेचिसकेको छ। नेपालको इभी बजारमा टाटाको हिस्सा ३६ प्रतिशत भएको श्रेष्ठले बताए।
नेक्सन के-३ र कर्भभन्दा अगाडि टाटाले ह्याचब्याक र कम्प्याक्ट एसयुभी मात्र बेचिरहेको थियो। इभी बजारमा यी दुई स्टाइलका गाडीको हिस्सा ४० प्रतिशत छ। बाँकी ६० प्रतिशत प्रिमियम कम्प्याक्ट एसयुभी, एसयुभी, प्रिमियम एसयुभी, सेडान लगायतको छ। अब टाटाले पनि यी सबै स्टाइलका इभी भित्र्याउने उद्देश्य लिएको उनले बताए।
'टाटाको सस्तोदेखि महँगोसम्म सबै गाडी उपलब्ध गराउने हाम्रो उद्देश्य हो,' उनले भने, 'सिप्रदीमा अब सबै किसिमका इभी उपलब्ध हुनेछन्।'

यसरी इभी बजारमा आक्रामक रूपले उपस्थिति जनाएको सिप्रदीका सिइओ श्रेष्ठसँग हामीले इभी सम्बन्धी आमचासो र प्रश्नबारे कुराकानी गरेका छौं।
खासगरी इभीको ब्याट्रीको आयु, मूल्य, पाटपुर्जाको उपलब्धता, चार्ज गर्ने सुविधा लगायतबारे धेरैलाई चासो छ। आगामी दिनमा इभी बजारले कस्तो रूप लिन्छ वा कता जान्छ भन्ने कुरा यी चासोको सम्बोधन कसरी हुन्छ, त्यसमा भर पर्नेछ।
नेपालमा इभीको प्रयोग बढ्दो छ। अघिल्लो वर्ष आयात भएका निजी सवारी साधनमध्ये ८० प्रतिशत इभी थिए। सरकारी नीति स्थिर हुनु, बिजुलीको बढ्दो उपलब्धता र आममान्छेमा भरोसा बढ्दै जाँदा इभीको प्रयोग बढ्दै गएको उनले बताए।
'पहिले मानिसहरूलाई गाडी किन्दा तीनटा कुराको चिन्ता हुन्थ्यो — माइलेज, पर्फर्मेन्स र सर्भिसिङ,' उनले भने, 'यी तीनै कुरामा इभीप्रति मानिसहरूको खासै भरोसा थिएन। तर पछिल्लो समय इभीले माइलेज, पर्फर्मेन्स र सर्भिसिङ तीनै क्षेत्रमा पेट्रोल गाडीभन्दा कम छैन भनेर प्रमाणित गरेको छ।'
उनका अनुसार धेरैलाई इभीको माइलेज धेरै हुँदैन भन्ने लाग्थ्यो। अहिले देशदेशाटन गर्न इभी प्रयोग हुन्छ। लामो दुरीका सार्वजनिक सवारी साधनमा समेत इभीको प्रयोग बढ्दो छ। टाटाकै इभी एकपटक पूरा चार्जमा दुई सयदेखि साढे तीन सय किलोमिटरसम्म चल्छ। भन्नुको मतलब, पूरा चार्ज भएको टाटा इभी कम्तीमा पनि सरर पोखरा पुग्छ।
काठमाडौंमा सामान्यतया निजी कार दैनिक औसत ४०/५० किलोमिटर कुद्छ। एकपटक चार्ज गर्यो भने तीन/चार दिनलाई सजिलै पुग्छ। घरमै बिहान-बेलुका चार्ज गरे भइहाल्छ। काठमाडौं बाहिर जानेलाई भने टाटाले ठाउँठाउँमा फास्ट चार्जिङ सुविधा दिएको छ। देशभर टाटाका १८५ वटा भन्दा बढी फास्ट चार्जिङ स्टेसन छन्। प्रत्येक ५० किलोमिटर दुरीमा एउटा स्टेसन रहेको कम्पनीले जनाएको छ।
इभीको बजार बढ्नुको अर्को कारण हो यसको 'पर्फर्मेन्स'।
पहिले मानिसहरूलाई यो गाडी कसरी चल्छ, उकालोमा तान्छ कि तान्दैन, लामो र अप्ठ्यारो बाटो जाँदैन कि, बिजुली गाडी भएकाले पानीले बिगार्ने हो कि भन्नेसम्मको डर थियो।
संसारभर इभीमा नयाँ प्रविधि, शक्तिशाली मोटर र ब्याट्री प्रयोग हुन थालेपछि मान्छेका यी शंका हट्दै गएको सिइओ श्रेष्ठले बताए।
लामो दुरी, उकालो र अप्ठ्यारो बाटोमा इभी पेट्रोल गाडी सरह चल्छ भन्नेमा शंका रहेन। जहाँसम्म ब्याट्रीको कुरा छ, अहिले नयाँ प्रविधिमा बनेका शक्तिशाली र धेरै माइलेज दिने ब्याट्री प्रयोग भइरहेका छन्। र, दिनप्रतिदिन ब्याट्रीको प्रविधिले फड्को मारिरहेको छ।
'अहिले प्रयोग भइरहेको लिथियम आयन ब्याट्रीको आयु थोरैमा पनि ३ हजार साइकल हुन्छ। यतिले एउटा गाडीलाई कम्तीमा आठ वर्ष त मजाले धान्छ,' उनले भने।
इभीको बजार भरपर्दो बनाउनुमा बिक्रीपछिको सेवाले पनि महत्त्वपूर्ण भूमिका खेलेको छ।
टाटाकै कुरा गर्दा, यसका १६ वटा सर्भिस सेन्टर छन् जहाँ इभीको सबै किसिमको मर्मतसम्भार हुन्छ।
कम्पनीले ब्याट्रीमा ८ वर्ष वारेन्टी दिन्छ। केही बिग्रिए उसैले बेहोर्छ। सिप्रदीले ब्याट्रीको अवस्था जाँच्ने र मर्मतसम्भार गर्ने छुट्टै ठाउँ (फ्यासिलिटी सेन्टर) पनि बनाएको छ। टाटा इभीको ब्याट्री सेलहरू (पाता) मिलेर बनेको हुन्छ। यो सेन्टरमा ब्याट्रीको कुन सेलमा समस्या छ भन्ने हेरेर, आवश्यकता अनुसार मर्मत वा फेर्ने काम हुन्छ। यसो गर्दा ब्याट्री टिकाउ हुन्छ, खर्च पनि कम लाग्छ।

त्यस्तै सिप्रदीले आफ्ना इभी सर्भिसिङका लागि मेकानिक र इन्जिनियरहरूलाई तालिम दिएको छ। इभीमा जे समस्या आए पनि यहाँका मेकानिकहरूले समाधान गरिदिने उनले बताए। यी सबैथोक सुनिश्चित गरेर नै टाटा इभी बजारमा प्रवेश गरेको उनको भनाइ छ।
इभी बजारमा टाटाको लोकप्रियता निजी कारमा मात्र सीमित छैन। काठमाडौंमा गुड्ने इभी ट्याक्सीमा टाटाको हिस्सा बलियो छ। यसको मुख्य कारण बिक्रीपछि सेवा नै भएको श्रेष्ठले बताए।
'ट्याक्सी भनेको मानिसको रोजीरोटी हो, लामो समय चल्नुपर्छ। त्यसैले त्यो बिग्रिनु भएन। बिग्रे पनि चाँडै बनाइहाल्नुपर्छ,' उनले भने, 'बजारमा गुड्ने टाटा ट्याक्सी चुस्तदुरूस्त होओऊन् भनेर मर्मत र सफाइमा विशेष ध्यान दिएका छौं।'
पछिल्लो समय काठमाडौंमा चल्ने टाटा ट्याक्सी प्रायः सफा र राम्रो अवस्थाका देखिन्छन्। यसनिम्ति कम्पनीले विशेष प्याकेज कार्यान्वयन गरिरहेको छ। यसमा पहिलो वर्षभरि मर्मतसम्भार र सफाइको निःशुल्क सुविधा पर्छ। त्यसपछि पनि कम्पनीले फोन गरेर ट्याक्सीमा समस्या छ कि छैन भनेर सोध्छ। समस्या भए वा ठोक्किएर पाटपुर्जा बिग्रेको/भाँचिएको भए तुरून्त फेर्न बोलाउँछ।
'फोहोर ट्याक्सी लिएर सडकमा नजानुस् भनेर हामी धुन पनि बोलाउँछौं,' उनले भने।
त्यस्तै ट्याक्सीका लागि काठमाडौंका विभिन्न ठाउँमा फास्ट चार्जिङ स्टेसन राखिएको छ। काठमाडौंमा ट्याक्सी लगायत सार्वजनिक गाडीहरू पार्क गर्न निश्चित ठाउँ बनाइएका छन्। टाटाले आफ्ना ट्याक्सीका लागि ती ठाउँमै फास्ट चार्जिङ सेन्टर राखिदिएको छ।
'बिक्रेताले गर्ने यी कामबाहेक सरकारी नीतिले पनि इभीको बजार बढाएको हो। सरकारको कर छुट नीतिले मूल्य किफायती भयो। बिजुली सस्तो भएकाले इभी चलाउँदा खर्च पनि कम लाग्ने भयो। अहिले पेट्रोल गाडी चलाउँदा प्रत्येक किलोमिटरमा १३/१४ रूपैयाँ खर्च हुन्छ, जबकि इभीमा २/३ रूपैयाँ मात्र पर्छ,' उनले भने, 'नेपालमा हाल तीन हजार मेगावाटभन्दा बढी बिजुली उत्पादन भइरहेको छ। यो बिजुली खपत गर्न पनि हामीलाई इभी नै चाहिन्छ।'
इभी बजार बढ्दै गए पनि चुनौतीरहित भने नभएको उनी बताउँछन्।
अहिले नेपालमा कहाँबाट, कुन कम्पनीका र कस्ता इभी ल्याउने भन्ने कुनै मापदण्ड छैन। झन्डै सय वटा ब्रान्डका निजी इभी भित्रिरहेका छन्। कतिपय ब्रान्ड त यस्ता पनि छन् जसको कुनै पहिचान छैन। चीनमा एकै कारखानाबाट सयौं ब्रान्डका गाडी बन्छन्, जुन आज हुन्छ, भोलि हुँदैन। यसले सिधा मर्का ग्राहकलाई पर्छ। स्थापित कम्पनीको गाडी होइन भने बिक्रीपछि सेवा पाइँदैन।
'सरकारले यो कम्पनीको मात्र ल्याऊ भनेर तोकेर भन्न सक्दैन। तर यति वर्ष अनुभव भएको, यति वटा गाडी उत्पादन गरेको, यति सर्भिस सेन्टर र शोरूम भएको कम्पनीको मात्र ल्याउन पाइने भनेर तोक्न सकिन्छ। त्यस्तै यहाँ भित्र्याउने वितरकका लागि पनि मापदण्ड लागू गर्न सकिन्छ। यसो गर्दा भरपर्दा कम्पनीहरू मात्र रहन्छन्। ग्राहकको भरोसा बढ्छ, इभीको बजार पनि,' सिप्रदी ट्रेडिङका सिइओ राजनबाबु श्रेष्ठले भने।
***