बगैंचाभरि आँपका बोट छन्। पाक्न लागेका आँपका दाना र झुप्पा प्लास्टिकका थैलाले बाँधेर छोपिएका छन्। थैलाले आँपका बोट ढकमक्क रातो फूल फुलेका जस्ता देखिन्छन्।
यो दृश्य रुपन्देहीको सुद्धोधन गाउँपालिका–२, कलुवामा रहेको ‘शाह एग्रिकल्चर फार्म’ को हो। फार्म हो बुटवलमा नुरुद्दिन शाह र उनका दाजुभाइको।
नेपालमा सामान्यता जेठदेखि साउनभरि पाकेका आँपको सिजन हुन्छ। भदौ लागेपछि आँप पाउन कम हुन्छ।
शाह दाजुभाइले भदौको दोस्रो सातासम्म पनि प्लास्टिकका थैलाले छोपेर आँपका दाना बोटमै सुरक्षित राखेका छन्।
बगैंचामा दसरी, मालदह, बमोई, गौरजित, चौसा, आम्रपाली, अल्फान्सो र कपुरी जातका गरी आँपका कम्तीमा साढे दुई हजार बोट छन्।
यीमध्ये अल्फान्सो प्रजातिका पाँच सय बोटमा लटरम्म आँप छन्। आँपका दाना अलग–अलग प्लास्टिक थैलाले छोपेका छन्।
‘फलफूलको दानामा कीरा फट्यांग्रा बसेपछि औंसा कीरा पर्छ। प्लास्टिकले छोपेर राखेपछि कीरा बस्न पाउँदैन,’ नुरुद्दिन भन्छन्, ‘प्लास्टिकभित्र आँपको दाना बढ्दै जान्छ, खुला आँपभन्दा केही ढिलो पाक्छ।’
प्लास्टिकले छोपेर राखेपछि चराचुरुंगी र कीराफट्यांग्राबाट जोगाउन विषादी हाल्न नपर्ने भएकोले पूरै अर्गानिक हुने उनको दाबी छ।
प्रशस्त आँप पाइने सिजनमा भन्दा ढिलो गरी बजार पठाउँदा बढी मूल्य पाउने उनको विश्वास छ।
‘यही आँप साउनमा बजारमा पठाएको भए मूल्य कम हुने थियो। अहिले बजारमा अरू आँप छैन,’ उनी भन्छन्, ‘सिजन गएपछि बोटबाट टिपेको आँपले मूल्य पनि राम्रो पाउँछ।’
अन्तिम सातामा आँप टिपेर बेच्न सुरु गर्ने उनले बताए।
उनका अनुसार अल्फान्सो प्रजातिको आँप नेपालका अन्य प्रजातिको तुलनामा ढिलो पाक्छ। प्लास्टिकले छोपेर अझै ढिलो गराउन सकिन्छ।
‘पोहोरसम्म अल्फान्सो जातको धेरै जानकारी थिएन। अरू जातसँगै टिपेर बजार पठाइयो,’ उनले आफ्नो अनुभव सुनाए, ‘अरूभन्दा ढिलो पाक्छ भन्ने थाहा भएपछि यसरी (प्लास्टिकले छोपेर) जोगाएर ढिलै टिप्ने योजना गरेको हो।’
शाह दाजुभाइ तरकारी र फलफूलको गोदाम र पसल हेर्दै हुर्किए। उनीहरूका हजुरबा सैफुल्ह शाह बुटवलमा फलफूल र तरकारीका नामी व्यापारी थिए।
हालको बुटवल उपमहानगरपालिका कार्यालय अगाडि अहिलेजस्तो हाटबजार थिएन। खुला चौर थियो। सैफुल्ह भारतबाट फलफूल र तरकारी ल्याउँथे र त्यही चौरबाट बुटवलका साना व्यापारीलाई थोकमा बेच्थे।
शाह दाजुभाइका बा अमजद अलीले आफ्नो बाको पेसा सम्हाले। हजुरबा र बाले धानेको पेसा नुरुद्दिनसहित दाजुभाइ नुर, बजिर र नेवास अलीसँगै भतिजा समेतले सम्हालेका छन्।
कृषि फार्म व्यवस्थापन र व्यपारमा सबैको आआफ्नो जिम्मेवारी छ।
नुरुद्दित भन्छन्, ‘चौथो पुस्तासम्म आइपुग्दा हामीले तरकारी र फलफूललाई नै आफ्नो जीविकाको माध्यम बनाएका छौं। हजुरबा र बाको पेसामा हामी दाजुभाइ छौं। भतिजाहरू पनि छन्।’
कक्षा दसको अन्तिम परीक्षा (एसएलसी) उत्तीर्ण गरेपछि नुरुद्धिनले बुटवलमै व्यवस्थापन विषय पढे। बाल्यकालदेखि नै कृषिमा रुचि थियो।
‘स्कुल छुट्टी भएका दिन म नयाँ बिरुवा हेर्दै जंगल र खोलाकिनार चाहार्थें। कुनै फलफूलको बिरुवा देख्दा घर लैजाऊँ र रोपूँजस्तो हुन्थ्यो तर आफ्नो जमिन थिएन,’ बाल्यकाल स्मरण गर्र्दै उनले भने, ‘त्यो बेलाको इच्छा अहिले पूरा गर्दै छु। पहिले जंगलमा देखेका तिनै बिरुवा अहिले नर्सरीमा हुर्काउँदै छु।’
शाह दाजुभाइले करिब २० बिघा जमिनमा कृषि फार्म चलाएका छन्। उनीहरूले १२ वर्षअघि दुई बिघा जग्गाबाट काम सुरु गरेका थिए। हरेक वर्ष जग्गा खरिद गर्दै हाल २० बिघा पुगेको नुरुद्दिनले बताए।
खेतीसँगै पशुपालन पनि गरेका छन्। उनका अनुसार सबै खेती पूर्णरूपमा अर्गानिक छ।
कृषि फार्ममा आँप, कटहर, अम्बा, अमला, मेवा, कागती लगायतका फलफूल छन्। पहाडमा हुने सुन्तला पनि छ।
सुन्तलाका बिरुवा पाँच वर्षअघि भारतको राजस्थानबाट ल्याएको नुरुद्दिनले बताए। ती बिरुवामा यतिबेला लटरम्म फल लागेको छ।
उनले भने, ‘कस्तो हुने रहेछ भनेर एक सय जति बिरुवा ल्याएको थिएँ, दोस्रो वर्षमै फल लाग्न थाल्यो। पोहोरसम्म धेरै फलेको थिएन, फार्ममै खाएर सकियो। यो वर्ष बजार पठाउने सोचेका छौं।’
उनले पहाडमा हुने सुन्तला तराईमा पनि राम्रो फलाउन सकिन्छ भन्ने पुष्टि भएको र पहाडको जस्तै स्वादिलो रहेको बताए।
पशुपालनतर्फ भैंसी, बाख्रा, भेंडा, खरायो पालेका छन्। पन्छीमा हाँस, लौकट, लोकल कुखुरा र परेवा छन्। माछा पनि पालेका छन्।
भैंसीपालनबाट दूध उत्पादन गरिरहेको र अन्य पशुपन्छी परीक्षणमा रहेको उनले बताए। हाल दैनिक कम्तीमा दुई सय लिटर दूध बजार पठाउने गरेका छन्।
हालसम्मको अनुभवले शाह दाजुभाइ फार्ममा रहेका सबै पशुपन्छी व्यावसायिक रूपमा पाल्न सकिने निष्कर्षमा पुगेका छन्।
आफ्नो फार्मलाई कृषिको ‘अध्ययन केन्द्र’ रूपमा विकास गर्ने उनीहरूको योजना छ।
‘कृषि र भेटेरेनरी विषय पढ्ने विद्यार्थी, फलफूल खेती गर्ने र पशुपालन गर्ने किसानहरू अवलोकन गर्न आउनुहुन्छ। हाम्रो अनुभव सोध्नुहुन्छ,’ नुरुद्दिन भन्छन्, ‘नेपालमा फलफूल खेती र पशुपालन सबैभन्दा राम्रो र भरपर्दो व्यावसायिक क्षेत्र हो। हामी आफ्नो फार्मलाई अध्ययन केन्द्र बनाउन चाहन्छौं।’
एकपटक बिरुवा रोपेर हुर्काएपछि लगातार १०–१५ वर्ष प्रतिफल लिन सकिने भएकोले आफूहरू फलफूल खेतीमा आकर्षित भएको उनले बताए।
‘तरकारी खेतीमा एक सिजन मात्र प्रतिफल पाइन्छ। फलफूलमा एउटै बोटबाट धेरै वर्ष प्रतिफल पाइन्छ। त्यसको हेरचाह गरे पुग्छ,’ उनी भन्छन्, ‘काममा मिहिनेत छ तर फलफूल खेती सजिलो छ। एकपटक बिरुवा हुर्काएपछि धेरै खर्च गर्नु पर्दैन।’
बगैंचामा फलफूलका बोटबिरुवा लहर मिलाएर रोपिएका छन्। बाटाको दायाँबायाँ र बीचबीचमा लहरे तरकारी छ। हिउँदमा सिमी, टमाटर, काउली इत्यादि लगाउँछन्। यतिबेला काँक्रो, लौको, घिरौंला, भिन्डी, तितेकरेला, फर्सी फलेका छन्।
उनी भन्छन्, ‘अहिले दैनिक दुई सय किलो काँक्रा र चार सय किलो लौका बजार जाने गरेको छ। घिरौंला, भिन्डी, तितेकरेला र फर्सी पनि जान्छ।’
यति ठूलो फार्मको विविध खेतीमा कतै पनि विषादी प्रयोग नगरेको नुरुद्दिनको दाबी छ।
‘यहाँ जति पनि तरकारी र फलफूल छ, कुनैमा पनि विषादी हालेको छैन। विषादी हालेर सग्लो देखिएको भन्दा अलिअलि कीरा लागेकै भए पनि अर्गानिक तरकारी र फलफूल खाऔं भन्ने गरेका छौं,’ उनी भन्छन्, ‘उपभोक्ताले चिल्लो–सग्लो तरकारी र फलफूल रोज्नुहुन्छ तर त्यसमा विषादी प्रयोग भएको हुनसक्छ भन्ने सोच्नुहुन्न।’
बकैनो र बयरको झाडीले ढाकिएको खोला किनारको जमिन मलजल १०–१२ वर्षमा अर्गानिक कृषि फार्म बनाउन सकेको उनले बताए।
‘यहाँ रहेको झाडी हेर्दा कसरी यस्तो (बगैंचा) बनाउन सकिएला र भन्ने लागेको थियो,’ उनले भने, ‘पसलमा कुहिएका फलफूल, तरकारी र गाईभैंसीको मल हाल्दै मलिलो बनाउन सकियो।’
यसरी शाह दाजुभाइले आफ्नो फार्मलाई पशुपन्छी, माछा, फलफूल र तरकारीको ‘मल्टी एग्रो फार्म’ का रूपमा विकास गरेका छन्। धान खेती पनि छ।
फर्ममै गोबरबाट बिजुली निकालेका छन्। फार्ममा हाल २५ जना श्रमिक छन्। फार्मभित्र बस्ने सबैले गोबर ग्यासबाटै खाना बनाउँछन्।
आफ्नो फार्मको कृषि उपज बजारीकरणका लागि बुटवल सहज रहेको उनले बताए। उनीहरू उत्पादक र बिक्रेता दुबै हुन्।
बुटवलमा आफ्नै थोक व्यापार केन्द्र राखेका छन्।
‘बिक्रीका लागि अर्को व्यवसायीलाई दिँदा आफूले राम्रो मूल्य पाइँदैन। हामी आफैले बजार व्यवस्थापन गर्ने भएकोले बजारको समस्या छैन,’ उनी भन्छन्, ‘परिश्रम त जुन पेसामा पनि गर्नैपर्छ। अलिकति दुःख पनि खट्नै पर्छ।’
नुरुद्दिनले हालसम्म भएको लगानीको यकिन हिसाब नराखेको बताए। पारिवारिक व्यवसाय भएकोले हिसाब सहज रहेको उनको भनाइ छ।
अहिलेसम्म कुनै पनि किसिमको सरकारी अनुदान नलिएको पनि उनले बताए। ‘अनुदान खोज्न थाल्ने हो भने एकजना त त्यसकै लागि सरकारी कार्यालयमा धाउनुपर्छ,’ उनले भने ‘त्यता लाग्ने हाम्रो फुर्सद छैन। अनुदान पाए पनि धेरैजनाको चित्त बुझाएर मात्र किसानको हातमा पर्छ।’
वास्तविक किसानभन्दा ‘कागजमा खेतीपाती र पशुपालन’ गर्नेले अनुदान पाउने गरेको उनको टिप्पणी छ। ‘कागजमा खेतीपाती र पशुपलान’ भनेर उनले गैरकृषकले कृषि अनुदान लिने गरेको संकेत गरे।