बजारमा प्याजको मूल्य ३० प्रतिशतले बढेको छ।
भारतले निर्यातमा भन्सार कर लगाएसँगै प्याजको मूल्य ३० प्रतिशतसम्मले बढेको हो।
सेन्ट्रल बोर्ड अफ इनडाइरेक्ट ट्याक्स एण्ड कस्टमले शनिबार प्याजमा ४० प्रतिशत भन्सार शुल्क लगाएको थियो।
यो कर २१ डिसेम्बर २०२३ सम्म लागु हुने भएको छ। मूल्य वृद्धिबाट आफ्ना जनतालाई राहत दिन भारत सरकारले यस्तो निर्णय गरेको त्यहाँका सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्।
कालिमाटी फलफूल तथा तरकारी बजारमा आइतबार प्याजको थोक मूल्य अधिकतम प्रतिकिलो ६२ रूपैयाँमा बिक्री भइरहेको थियो भने सोमबार ८० रूपैयाँमा बिक्री भइरहेको छ।
भारतमा गत महिना मात्रै प्याजको मूल्य २० प्रतिशतले बढेको थियो।
भारतमा प्याज केजीको २४ भारु परिरहेको छ। भारतमा अगष्ट महिनामा विगत एक दशक यताकै सुख्खायाम लागेकोले पनि उत्पादनमा कटौती भइरहेको छ।
नेपालमा भारतबाट वार्षिक ६ अर्ब ७५ करोड बराबरको ताजा प्याज आयात हुन्छ भने ७ करोडको सुकाएको प्याज आयात हुन्छ।
कालिमाटी फलफूल तथा तरकारी बजारमा प्याजको मूल्य प्रतिकिलो ६५ रुपैयाँ हाराहारीमा छ।
नेपाल सरकारले चालु आर्थिक वर्षको बजेटमा प्याजलाई पनि मूल्य अभिवृद्धि कर (भ्याट) लाग्ने वस्तुको सूचीमा राखेको छ।
जसअनुसार साउनबाट प्याजमा १३ प्रतिशत मूल्य अभिवृद्धि कर लाग्न थालेको छ। भारतले अहिले लगाएको करको कारण नेपालमा पनि मूल्य बढ्ने भएको छ।