यो सिजनमा फलेको तरकारी सकिएर अर्को सिजनको तयारी सुरू भएको छ। अब असोजमा फल्ने तरकारी बाली लगाउने बेला भएको छ।
दलबहादुर वली अहिले यसकै तयारीमा बारी तथा टनेल बनाउने, बिरूवा लगाउने लगायत काममा व्यस्त छन्।
सुर्खेतको गुर्भाकोट नगरपालिका–१३ का दलबहादुर र उनका दुई छोरा मिलेर गुमी ढोरेनी गाउँमा व्यावसायिक रूपमा तरकारी खेती र गाईभैंसी पालन गरेका छन्।
उनीहरू तीन जना आ-आफ्नो भागको काम बाँडेर गर्छन्।
गाईभैंसीको जिम्मा बुवा दलबहादुरको हो। बचेको समय तरकारी खेतीमा जेठा छोरा वीरबहादुरलाई सघाउँछन्। तरकारी खेती लगाउने समयमा गर्नुपर्ने सबै कामको जिम्मा वीरबहादुरको हो। तरकारी फलेपछि बारीबाट टिपेर बजारसम्म पुर्याउने जिम्मा कान्छा छोरा गोविन्दको छ।
यसरी जिम्मेवारी बाँडेर काम गरिरहेका बाबुछोराले ठूलो मात्रामा व्यावसायिक तरकारी खेती गर्न थालेको तीन वर्ष भयो।
'हामीले पहिले पनि तरकारी खेती गरेका हौं,' दलबहादुरले भने, 'तर अहिलेजस्तो ठूलो मात्रामा थिएन।'
यी तीनै जना बाबुछोरा वैदेशिक रोजगारीमा गएर फर्किएका हुन्।
त्यसअघि दलबहादुर गाउँमै गाडा चलाउँथे। २०५७ सालदेखि २०६६ सालसम्म उनले गाडा चलाए। त्यति बेला उनको ठाउँमा गाडी नचल्ने भएकाले भेरी नदीपारिको गाउँमा सामान ढुवानी गर्ने साधन गाडा नै थियो। उनले गाडाबाट पसलहरूमा सामान ढुवानी गरिदिन्थे। कमाइ राम्रै थियो। पछि गाउँमा गाडी आयो, गाडा चलाउन छोड्नुपर्यो।
त्यसपछि नै दलबहादुरले तरकारी खेती गर्ने सोचे। तर जहाँ सिचाइँ सुविधा थियो, त्यो ठाउँमा उनको जमिन थोरै थियो।
'गाडा चलाउने काम नभएपछि ०६६ सालमा तरकारी खेती सुरू गरेँ। सिँचाइ पुग्ने ठाउँमा मेरो जग्गा थोरै थियो। त्यहाँ भएन भनेर मैले अर्को ठाउँमा १० कट्ठा जग्गा किनेँ,' उनले भने, 'त्यो जग्गा किनेपछि ऋण लाग्यो। खेती पनि राम्रो भएन। अनि ऋण तिर्न भनेर विदेश गएँ।'
२०६९ सालमा उनी विदेश गए। दिनरात नभनी काम गरे। कमाएको पैसाले ऋण तिरे र आफ्ना दुई छोरालाई पनि विदेश पठाए।
'महिनामा ५० हजार रूपैयाँभन्दा धेरै कमाइ हुन्थ्यो। ऋण तिरेर दुई छोरालाई विदेश पठाउन पनि सकेँ,' उनले भने।
तीन वर्षपछि स्वदेश फर्किएका दलबहादुर फेरि विदेश जाने सोचमा थिए। तर छोराहरूले घरै बसेर तरकारी खेतीलाई निरन्तरता दिन भने।
'हामी सबै यहाँ बस्नुभन्दा पनि तपाईं गएर तरकारी खेती गर्दै गर्नुहोस्, हामी फर्किएपछि अझ ठूलो तरिकाले गरौंला भनेर छोराहरूले मलाई विदेशमा नबस्न भने,' उनले भने।
उनीहरू विदेश गएपछि तरकारी खेती बन्द भएको थियो। दलबहादुर फर्केर फेरि सुरू गरे। तर सिँचाइको अभाव छँदै थियो। एउटा मुहानको पानी जम्मा गरेर बाल्टिनमा बोकेर तरकारीमा हाल्नुपर्थ्यो। धेरै दुःख भएपछि उनले छोराहरूसँग सल्लाह गरे र पानी जम्मा गर्ने ट्यांकी खने। मोटर पनि किने। सिँचाइका लागि सुरूमा दुई लाख रूपैयाँ लगानी भयो।
'छोराहरूले कमाएको पैसा पनि यही तरकारी खेतीमा लगानी गर्यौं। उनीहरूको कमाइ र यहाँ तरकारीबाट कमाएको पैसा जोरजाम गरेर ३० लाख रूपैयाँमा फेरि १० कट्ठा जमिन किन्यौं,' दलबहादुरले भने।
अहिले उनीहरूले तरकारी खेती गर्ने ठाउँमा आफ्नै दुई बिघाभन्दा बढी जग्गा छ। सुख्खा याममा यहाँ तरकारी मात्र फलाउँछन्। बर्खामा भने पानी जम्ने भएकाले ६ कट्ठामा मात्र तरकारी खेती हुन्छ। बाँकी खेतमा धान लगाउँछन्।
बर्खामा लहरे बालीहरू; लौका, घिरौंला, करेला, चिचिन्डो, तोराई, फर्सी, काँक्रा रोप्छन्। त्यस्तै खुर्सानी, भान्टा, भिन्डी जस्ता बुटे तरकारी पनि फलाउँछन्। हिउँदमा बन्दा, काउली, आलु रोपिने दलबहादुरका कान्छा छोराले गोविन्दले बताए।
'हामी सिजनअनुसार सबै खालका तरकारी फलाउँछौं। सुख्खा याममा बारीबाट दैनिक सात क्विन्टल तरकारी निकालेर बजार लैजान्छौं। त्यो एकै दिनमा बिक्छ। अहिलेसम्म खेर फाल्नुपरेको छैन,' गोविन्दले भने।
पूर्वी सुर्खेतका बजारहरू जहरे, मेहलकुना, बोटेचौरमा उनीहरूले उत्पादन गरेको तरकारी खपत हुन्छ। चैत-वैशाखमा त घरमै पनि ग्राहक आउँछन्।
गोविन्द बुबा दलबहादुर विदेशबाट फर्किएर तरकारी खेती थालेको दुई वर्षपछि, २०७४ सालमा वैदेशिक रोजगारीबाट फर्किएका हुन्। पूर्वयोजनाअनुसारै उनी फर्केर तरकारी खेतीमै लागे।
'बुबाले थालेको खेतीबाट भएको आम्दानी देखेर फेरि विदेश जान मन लागेन,' गोविन्दले भने, 'विदेशमा १८ घन्टासम्म खटेर अरूको काम गर्दा भएको आम्दानीको तुलनामा अहिले खेतीबाट भएको आम्दानीले आनन्द दिएको छ।'
मलेसिया गएका जेठा वीरबहादुर भने सबभन्दा पछाडि फर्किएका हुन्। उनी पाँच वर्ष त्यहाँ बसे। अरूको निगरानीमा काम गर्दा निकै दुःख पाएको उनी बताउँछन्।
'यहाँ आएर पनि त्यस्तै ज्यालादारी काम गर्न सकिन्थ्यो,' उनले भने, 'तर हामीले आफैं लगानी गरेर आफ्नै काम गरौं भनेर तरकारी खेतीलाई निरन्तरता दिएका हौं। राम्रो आम्दानीकै कारण निरन्तर खेती गर्ने हौसला बढेको हो।'
तरकारी खेतीबाट खर्च कटाएर मासिक एक लाख रूपैयाँ चोखो आम्दानी हुने दलबहादुरले बताए।
'यही आम्दानी देखेर छोराहरू पनि विदेश जान खोज्दैनन्,' उनले भने, 'मलाई पनि आनन्द लागेको छ। आफ्नै बारीमा काम गर्यो, परिश्रम पनि खेर गएन। यत्तिको आम्दानी भएपछि अब फेरि विदेश किन जानु?'
यो काम सुरू गर्दा उनीहरूसँग जमिन र प्रविधि दुवै अभाव थियो। अहिले खेतीकै आम्दानीबाट जमिन थपेका छन्, ढुवानीका लागि दुइटा मोटरसाइकल र एउटा तीनपांग्रे गाडी किनेका छन्।
दुइटा मोटरसाइकलमा ढुवानी गर्न जाँदा दुई जनाको समय खेर जाने भएकाले गाडी किनेको दलबहादुरले बताए।
दलबहादुरका अनुसार उनीहरूले गाउँका अरू युवालाई पनि सामूहिक तरकारी खेती गर्न सल्लाह दिएका थिए। तर गर्न चाहेनन्।
'१५–२० परिवारले व्यावसायिक तरकारी खेती गर्ने र व्यापारीहरू ट्रक लिएर तरकारी किन्न आउने वातावरण बनाउने सपना थियो तर कसैले चाहेनन्,' उनले भने।
उनीहरूले गाईभैंसीको दूध बेचेर पनि राम्रो आम्दानी गरिरहेका छन्। ६ वटा भैंसी र एउटा गाई छन्। तीमध्ये अहिले पाँचवटा भैंसी ब्याउने छन्।
गाईवस्तु भएपछि खेतीका लागि मलको समस्या छैन। गँड्यौले मल आफैं बनाउँछन्। किन्नुपर्ने भनेको कुखुराको मल मात्र हो।
तरकारी खेती र गाईभैंसी पालन सुरू गरेपछि उनीहरूले सरकारी तथा गैरसरकारी निकायबाट हालसम्म ३ लाख रूपैयाँसम्मको अनुदान पाएका छन्। कृषि विकास निर्देशनालयबाट एउटा मोटर, डेढ सय मिटर पाइप र पक्की टनेल बनाउन सहयोग पाएका थिए।
तरकारी खेतीका लागि थप ऋण भने अहिलेसम्म लिनुपरेको छैन।
'अहिले हाम्रो तीन लाख रूपैयाँ बैंकको ऋण छ। त्यो घर बनाउँदा ल्याएको हो,' दलबहादुरले भने, 'तरकारी खेतीका लागि ऋण लिएका छैनौं। थप लगानी चाहिँदा नाफाबाटै पुगिरहेको छ।'