सर्लाहीको चन्द्रनगर गाउँपालिकाले 'सोहजन' आन्दोलन सुरू गरेको छ। सहजन ठूलो रूखमा लामो र पातलो आकारको फल लाग्ने बोट हो। सामान्यतया यसको फल तरकारीका रूपमा खाने चलन छ। सर्लाहीतिर यसलाई सहजन भनिन्छ भने ठाउँअनुसार शितलचिनी, सैजुन, सजिवन, सोहिजन लगायत नामले चिनिन्छ।
किसानको आर्थिक वृद्धिका लागि सोमबारदेखि आन्दोलन सुरू गरिएको गाउँपालिका अध्यक्ष राजकुमार महतोले बताए।
'किसानले दिएको निवेदनको आधारमा हामीले १२ हजार सोहजनको बेर्ना वितरण गरेर आन्दोलन सुरू गरेका छौं। पालिकाका हरेक परिवारमा यसको महत्व बुझाउँदै जनजागरण ल्याउने र प्रयोग गर्दै समृद्ध चन्द्रनगर बनाउने हाम्रो योजना छ। आन्दोलन अन्तर्गत सोहजनको नर्सरी स्थापनादेखि खेती, अनुसन्धान केन्द्र र उद्योग खोल्ने, बजार व्यवस्थापन गर्ने लगायतका कामहरू हुन्छ,' उनले भने।
सोहजन खेतीको अवधारणा ल्याइ किसानको आम्दानी बढाएर तराइका २२ वटै जिल्लामा सोहजन आन्दोलन गर्ने तयारी रहेको गाउँपालिकाका अध्यक्ष महतोको भनाइ छ।
'सम्मानित जीवन' समृद्ध चन्द्रनगर नाराका साथ चन्द्रनगर गाउँपालिकाबाट सुरू भएको सोहजन आन्दोलनलाई तराइ-मधेसका सबै जिल्लामा तीव्रता दिइने उनले बताए।
'हामी तराइका २२ वटै जिल्लामा यो आन्दोलनका लागि लबी गर्ने, वकालत गर्ने, नीति बनाउनेदेखि प्राविधिक सहयोग लगायतका काम गर्छौं,' उनले भने।
उनका अनुसार सोहजन पोषण, स्वास्थ्य, सौन्दर्य, वातावरण तथा समुद्धिका लागि पनि बहुउपयोगी बिरूवा हो। यसको खेतीबाट चन्द्रनगरका किसानहरूले आर्थिक लाभ लिनेछन् र चन्द्रनगरलाई समृद्ध बनाउने छन्। यसको खेतीले आन्दोलनको रूप लिई अरू जिल्लामा पनि विस्तार भएर मधेसकै अर्थतन्त्र रूपान्तरण गर्ने गाउँपालिकाका अध्यक्ष महतोको भनाइ छ।
चन्द्रनगरमा सोहजन उद्योग तथा अनुसन्धान केन्द्र खोल्ने तयारी समेत रहेको उनले बताए।
'सोहजनको पातको पनि धूलो, फेसवास, साबुन तथा विभिन्न औषधि उत्पादन तथा प्रशोधन गरी उद्योगमार्फत राष्ट्रिय, अन्तर्राष्ट्रिय बजारीकरण गरी चन्द्रनगरलाई समृद्धिको दिशा तर्फ लग्ने योजना हो। नेपालको पहाडी तथा हिमाली भेगमा पानी र जडिबुटीले त्यो क्षेत्र विकास गर्न सकिन्छ भने मधेसमा प्रकृतिले हावापानी र मौसमका रूपमा हामीलाई ठूलो उपहार दिएको छ। सोहजन नेपालको तराइको वातावरणमा मात्र हुर्किन्छ। यसले मधेसलाई नै उन्नतिको दिशामा लग्न सक्छ,’ अध्यक्ष महतोले भने।
नेपालमा सोहजनको पर्याप्त मात्रामा उत्पादन भएपछि विदेशमा निर्यात गरेर आर्थिक लाभ लिन सकिने उनले बताए।