बाँकेका शशीराम डाँगी हरेक बिहान ६ बजे दूध लिन आउने गाडीको प्रतिक्षामा बस्छन्। उनले तयार पारेको ३५ लिटर दूधको भाँडो उठाएर गाडीले लैजान्छ। बिहान दूध लैजान आउने गाडीले बेलुका पनि उहाँको घर छेउमा आएर हर्न बजाउँछ। अनि शशीरामले तयार पारी राखेको २५ लिटर जति दूधको भाँडो बिहानझैँ उठाएर लैजान्छ। यो क्रम विगत पाँच वर्षदेखि चलिरहेको छ।
कोहलपुर नगरपालिका–१३ खडकवारका शशीराम १० वर्ष साउदीमा बसेर फर्किएपछि व्यावसायिक रुपमा पशु व्यवसायी बनेका छन्। गुर्वाकोटी पशुपालन फार्म र अमृत पशुपालन फार्म गरी दुई फार्म दर्ता गराएर पशु पालन सुरू गरेका उनलाई अहिले भ्याइनभ्याइ छ।
शशीरामले सुरूमा दुईवटा गाई किनेर फार्म सञ्चालन गरेका थिए। अहिले उनको फार्ममा ‘होलस्टेनक्रस' प्रजातिका सात गाई छन्। दूधबाट मनग्य आम्दानी भएपछी उनले थप गाई किनेका हुन्।
‘व्यवसाय सानैबाट गर्नुपर्छ भन्ने जानेर सुरुमा दुई गाई पालेँ। त्यसबाट चित्त बुझ्दो भएपछि पाँच वटा गाई थपेको हुँ,’ उनले भने।
शशीरामले दूध बेचेर मासिक ९० हजार आम्दानी गर्छन्। गाईको दानापानीमै ५० हजारसम्म खर्च हुने उनको भनाई छ। ‘मासिक ४० हजारसम्म नाफा हुन्छ। नाफा धेरै नभएपनि छोडौं भन्ने चाहीँ लाग्दैन,’ उनले भने।
बजारमा दूधको मूल्य प्रतिलिटर १२० रूपैयाँसम्म पर्छ। तर शशीरामले ९० रूपैयाँ प्रतिलिटरमा दूध बेच्दै आएका छन्।
कोहलपुरकै राम सुहवन यादव पनि व्यवसायिक रूपमा पशुपालन गरेका छन्। उनले २० लाख खर्चेर बनाएको फार्ममा १३० वटा भैँसी पालेका छन्। तीमध्य ३५ वटा भैँसीले दूध दिन्छन्। उनले पालेको भैँसीको दुध बाँकेका विभिन्न ठाउँमा पुग्छ।
धेरै भैँसी भएपनि नाफा भने न्यून रहेको उनको भनाइ छ। उनका अनुसार मासिक ५० देखि ६० हजार रूपैयाँ मात्रै नाफा हुन्छ। सरकारले ल्याएको पशुबीमा योजनाबारे उनको ठूलो गुनासो छ। बीमा गरिएपनि पशु मरेपछि बीमाको रकम पाउने प्रकृया नै झन्झटिलो रहेको उनको भनाइ छ।
‘बीमा गराउनुभन्दा बीमा रकम पाउने प्रक्रिया नै निकै झन्झटिलो रहेछ,’ उनले भने, ‘हामी किसानलाई दिनभरि बीमा रकमको लागि दिनैभरि अफिसमा बस्ने कहाँ फुर्सद ? हामीले त गत वर्षदेखि नै बीमा गराउन छाड्यौं।’
शशीराम र राम सुहवनजस्तै बर्दियाका गोविन्द उपाध्यले पनि सात वर्षदेखि पशुपालन गर्दै आइरहेका छन्। पन्ध्र वटा गाईबाट व्यवसाय गर्न सुरु गरेका उनको फार्ममा अहिले ४४ गाई छन्।
२०७३ मा एकता पशुपालन फार्म दर्ता गराएर व्यावसायिक पशुपालनको थालनी गरेका थिए। जर्सी र होलस्ट्रेनक्रस प्रजातिका गाई पालेका उनले दैनिक २३० देखि २३५ लिटरसम्मको दूध उत्पादन हुने बताए।
किसान र उपभोक्ताबीचको मूल्यबीच ठूलो फरक रहेकोमा भने उनको असन्तुष्टी छ। तर, केही समय लागेपनि सन्तुलन हुने विश्वासमा दूध उत्पादनप्रति हतोत्साहित भएका छैनन्।
त्यति धेरै दूध उत्पादन गरेपनि गोविन्दको पनि नाफा अनुपात उही हो। दूध बेचेरै मासिक साढे तीन लाखसम्म आम्दानी हुने तर तीन लाखको हाराहारीमा त फार्ममै खर्च हुने उनको भनाइ छ।
उनले आफ्नो फार्ममा पाँच जना कामदार राखेका छन्। गाईलाई दानापानीदेखी कामदारलाई तलब खुवाउँदा मासिक ४०/५० हजार जोगिने उनले बताए।
बाँकेकै एस के डेरी इन्डस्ट्रिज प्रालिले किसानहरूले उत्पादन गरेको दूध संकलन गर्छ। नेपालगञ्ज उपमहानगरपालिका-२२ मा रहेको डेरीमा बाँके र बर्दियाका गरी दैनिक पाँच हजार किसानले उत्पादन गरेको दूध संकलन हुन्छ।
कम्पनीका प्रोडक्सन इञ्चार्ज सन्तोष पौडेलका अनुसार विसं २०७६ देखि उक्त उद्योगले किसानका दूधलाई सङ्कलन गर्दै आएको छ। सो प्रालिमा ३२ जना कर्मचारी कार्यरत छन्। उहाँका अनुसार किसानबाट सङ्कलित दूधलाई चिसो बनाएर प्रयोगशालामा परीक्षण गर्दै परामिटरले परीक्षण गरेर दूधको ‘फ्याट’ निकालिन्छ।
फ्याटबाट निकालिएको दूधलाई ४५ डिग्रीमा राखिएपछि उक्त दूधबाट आइसक्रिम, केक, पनिरलगायत अन्य दूधबाट बनिने सबै परिकार बनाएर बजारमा पठाइने उनले बताए।
त्यहाँ बनाइएको दुग्धजन्य खानेकुरा बाँके, बर्दियादेखि कर्णालीका विभिन्न जिल्ला र काठमाडौंमा समेत पठाइने पौडेलले बताए। - रासस