धानवालीको उत्पादन र उत्पादकत्व वृद्धि गरी देशको अर्थतन्त्र निर्माणमा टेवा पुर्याउने भन्दै देशभर २० औं राष्ट्रिय धान दिवस मनाइरहँदा लुम्बिनी प्रदेशमा भने हालसम्म जम्मा ११ प्रतिशत मात्रै धान रोपाइँ भएको छ।
विगतका वर्षहरूमा असार १५ अर्थात् धान दिवस मनाइरहँदा अधिकांश क्षेत्रमा धान रोपाइँ सकिने गरेकोमा पछिल्ला वर्षहरूमा भने समयमै मल, बिउ र सिँचाइको उपलब्धता नहुँदा रोपाइँमा ढिलाइ हुँदै गएको छ।
आज पनि देशभर जलवायु अनुकूलित कृषकमैत्री प्रविधि, धान उत्पादनमा वृद्धि भन्ने नाराका साथ २० औं राष्ट्रिय धान दिवस मनाइँदै छ। तर रासायनिक मल बिउ तथा सिँचाइको पर्याप्त सुविधा नहुँदा सरकारका यी नारा नारामा मात्रै सीमित हुने गरेका छन्।
असार महिनालाई किसानहरू मानो छरेर मुरी उब्जाउने महिनाको रूपमा मान्ने गर्छन्। तर मध्य असार हुँदासम्म लुम्बिनी प्रदेशमा जम्मा ११ प्रतिशत खेतमा मात्रै रोपाइँँ सकिएको छ। यो तथ्यांक असार १२ गतेसम्मको हो।
यसवर्ष भने लामो समय परेको खडेरीका कारण रोपाइँ हुन नसकेको कृषि तथा भूमि व्यवस्था मन्त्रालयले जनाएको छ।
मन्त्रालयका प्रवक्ता अनिल मरासीनिले यसवर्ष ढिलो गरी मनसुन सुरू भएको र मनसुन सुरू भएपछि पनि तराईका जिल्लाहरूमा पर्याप्त वर्षा नहुँदा रोपाइँमा ढिलाइ भएको बताए।
मरासिनीका अनुसार मन्त्रालयले हरेक आइतबार प्रत्येक जिल्लाहरूबाट धान रोपाइँ भएका क्षेत्रको तथ्यांक संकलन गर्दै आएको छ।
गत असार १२ गते जिल्लाहरूबाट लिएको पछिल्लो तथ्यांक अनुसार प्रदेशभरिमा ११ प्रतिशत मात्रै रोपाइँ भएकोमा तीन दिनयता वर्षा र रोपाइँ भइरहेकोले तथ्यांक अपडेट नभए पनि रोपाइँ भएको प्रतिशत बढेको मरासिनीले बताए।
‘मन्त्रालयलाई जिल्लाहरूबाट १२ गते पछाडिको अपडेट नआए पनि हालसम्म २५ प्रतिशत बढी रोपाइँ भएको हुनुपर्छ, आइतबारसम्म ३० प्रतिशत बढी रोपाइँ सकिन्छ भन्नेमा हामी विश्वस्त छौं,’ मरासिनीले भने।
उनका अनुसार अघिल्लो वर्ष २०७९ सालको असार १५ सम्म लुम्बिनी प्रदेशमा ३३ प्रतिशत बढी खेतमा रोपाइँँ सकिएको थियो। त्यसभन्दा अघिल्लो वर्ष २०७८ मा भने असार १५ सम्म करिब ४८ प्रतिशत खेतमा धान रोपाइँ सकिएको थियो।
रूपन्देहीको ओमसतिया गाउँपालिका वडा नं. ३ की निर्मला चौधरीको १० कट्ठा खेत छ।
गएका वर्षहरूमा असार नलाग्दै धान रोपेर सक्थिन्। यसवर्ष भने आधा खेतमा मात्रै धान रोप्न सकेको उनले बताइन्।
‘सिँचाइको लागि कुलोको व्यवस्था भए पनि खडेरीका कारण कुलोमा पानी आउन सकेन, बोरिङबाट तानेको पानीले जेनतेन बिउ राखे पनि खडेरीले ब्याडमा धाँजा फाटेपछि बिउ समेत राम्ररी उम्रिएन,’ चौधरीले भनिन्।
उनका अनुसार पर्याप्त सिँचाइको सुविधा भए ब्याडमा बिउ छरेको २२ दिनदेखि नै खेतमा रोप्न मिल्छ। तर बिउ छरेको १ महिनाभन्दा बढी हुँदा समेत हातमा राम्रोसँग छोप्न मिल्ने नभएको उनले बताइन्।
‘कुलोबाट ल्याएको पानीले ब्याड टम्म डुबाउन पाएको भए पो बिउ पनि हर्लक्क बढ्थ्यो, बोरिङ चलाएर गरेको सिँचाइले भोलिपल्टै ब्याड सुकिहाल्छ, जेनतेन बिउ छरे पनि उम्रिनै गाह्रो भयो,’ उनले भनिन्।
जेठको मध्यतिर जसोतसो धानको बिउ राखेका किसानहरू असारमध्य हुँदा समेत धाँजा फाटेको ब्याड हेरेर बस्न बाध्य छन्। पानी नपरेपछि रोप्न तयार भइसक्नुपर्ने बिउ ब्याडमै सुक्ने गरेको छ।
किसानहरूले खेत जोतेर ठिक्क पारेर राखेका छन्। ढिलो गरी बिउ राख्दा कतिपय ठाउँमा पानी परे पनि रोप्नको लागि बिउ तयार हुन सकेको छैन।
तिलोत्तमा दरखसवाकी विन्दा बर्माले गएको वर्ष जेठको तेस्रो सातादेखि धान रोपाइँ सुरू गरेकी थिइन्।
यसवर्ष भने बल्ल रोपाइँ सुरू गरेकी छन्। दरखसवाकै निर्मला अहिरले आफ्नो १० कठ्ठा र अधिया लिएको १५ कठ्ठा खेतमा धान रोप्दै आएकी छन्।
गएको वर्ष धान दिवस मनाइरहँदा धेरैजसो खेतमा धान रोपिसकेकी थिइन्। यसवर्ष भने बिउ समेत ढिलो राख्दा बल्ल रोप्न सुरू गरेको उनले बताइन्।
नजिकै नहर र कुलो भएका क्षेत्रहरूमा पनि कुलोको पानी खेतसम्म पुग्न सकेको छैन।
खेतमा पानी जम्ने गरि वर्षा हुन सकेको छैन। जसले गर्दा आकाशे पानीको भरमा धान रोप्ने किसानहरूलाई पानी जमेका पोखरी र नालाहरूबाट मोटरले पानी तानेर धान रोप्नुपर्ने बाध्यता छ।
यसरी खेतमा सिँचाइ गर्दा प्रति घण्टा ४/५ सय रुपैयाँ खर्च बढ्ने गरेको किसानहरूको दुखेसो छ।
त्यस्तै समयमा धान रोप्न नसक्दा उत्पादन घट्ने पिरलो पनि किसानहरूलाई छ। रूपन्देहीको मायादेवीका रामजनम यादवले सरकारले कृषिमा अर्बौंको लगानी गरेको भए पनि आफूहरूलाई भने बर्सेनि मल, बिउ र सिँचाइको अभाव हुने गरेको बताए।
सरकारले खेतीयोग्य जमिनका लागि समयमै मल, बिउ र सिँचाइको व्यवस्था मिलाउन सके धान र चामलमा नेपाल आत्मनिर्भर बन्न सक्ने उनले बताए।
‘धान रोपेर खेत हरियो बन्नुपर्ने बेलासम्म खेतमा डल्ला फुटाउन सकिएको छैन। यसरी कसरी धान उत्पादन बढाउन सकिन्छ?,’ उनले गुनासो गरे।
रूपन्देहीको उत्तरी क्षेत्र बुटवल, शंकरनगर, मणिग्राम, मोतिपुर, फर्साटिकर, सेमलार, शुद्धोधन लगायतका क्षेत्रका किसानहरू पछिल्लो सातादेखि धान रोपाइँमा लाग्न थालेपछि दक्षिणी क्षेत्रमा भने अधिकांश खेतमा धान रोपाइँ हुन सकेको छैन।
कृषि तथा भूमि व्यवस्था मन्त्रालयका प्रवक्ता अनिल मरासिनीका अनुसार प्रदेशका तराईका जिल्लाभन्दा पहाडी जिल्लाहरूमा धान रोपाइँ केही बढी भएको छ।
धेरै धान रोपाइँ तराईका जिल्लामा हुने भए पनि समयमा रोपाइँ हुन नसक्दा उत्पादनमा गिरावट आउन सक्ने मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार लुम्बिनी प्रदेशमा सबभन्दा धेरै धानखेती कपिलवस्तुमा हुन्छ। कपिलवस्तुमा धान खेती हुने ७० हजार हेक्टर क्षेत्रफलमध्ये हालसम्म जम्मा ६ प्रतिशत खेतमा धान रोपाइँ भएको छ।
त्यस्तै, रूपन्देहीमा धान रोपाइँ हुने ६३ हजार ४९७ हेक्टर क्षेत्रफलमध्ये ८ प्रतिशत खेतमा मात्रै रोपाइँ सकिएको छ।
त्यस्तै, दाङमा ३७ हजार ४३० हेक्टर क्षेत्रफलमा धान खेती हुनेमा ८ प्रतिशत मात्रै रोपाइँ भएको छ भने बर्दियामा ४९ हजार ३३ हेक्टर क्षेत्रफलमध्ये १० प्रतिशत खेतमा रोपाइँ भएको छ।
बाँकेमा ३३ हजार हेक्टर क्षेत्रमा धान खेती हुनेमा १३ प्रतिशत खेतमा मात्रै धान रोपाइँ भएको छ।
पश्चिम नवलपरासीमा हालसम्म १२ प्रतिशत खेतमा रोपाइँ भएको छ। नवलपरासीमा २० हजार ५ सय हेक्टर क्षेत्रफलमा धान खेती हुन्छ।
प्रदेशमा सबभन्दा कम धान खेती हुने पूर्वी रूकुममा ६० प्रतिशत बढी रोपाइँ भएको छ। पूर्वी रूकुममा ४ हजार २ सय ४ हेक्टर क्षेत्रमा धान रोपाइँ हुन्छ।
त्यसैगरी प्रदेशका १२ जिल्लामा पहाडी जिल्लामध्ये सबभन्दा धेरै खेती हुने गुल्मीमा पनि यसवर्ष जम्मा ८ प्रतिशत मात्रै धान रोपाइँ भएको छ। गुल्मीमा ८ हजार ६७० हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको छ।
सबभन्दा बढी प्युठानमा धान रोपाइँ सकिएको छ। कुल ६ हजार ५२५ हेक्टर क्षेत्रफलमा धान खेती हुनेमा ५ हजार २ सय २० हेक्टर क्षेत्रफलमा धान रोपाइँ सकिएको मन्त्रालयका प्रवक्ता मरासिनीले बताए।
त्यस्तै, ८ हजार ५० हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने अर्घाखाँचीमा १० प्रतिशत मात्रै रोपाइँ भएको छ।
पाल्पामा पनि १० प्रतिशत मात्रै रोपाइँ भएको छ। पाल्पामा ८ हजार २१० हेक्टर क्षेत्रफलमा रोपाइँ हुने प्रवक्ता मरासिनीले बताए। त्यस्तै, ४ हजार ६३८ हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने रोल्पामा ४५ प्रतिशत बढी खेतमा रोपाइँ सकिएको मरासिनीले बताए।
सिँचाइको सुविधा नभएका क्षेत्रमा आकाशे पानीको भरमा धान रोप्नुपर्ने किसानहरूले यसवर्ष समयमा वर्षा नहुँदा धान रोप्न नसकेको उनले बताए।
प्रवक्ता मरासिनीका अनुसार लुम्बिनी प्रदेशमा कुल ३ लाख ११ हजार ४२ हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने गर्छ।