विज्ञहरूले यो वर्ष खाद्यान्न संकट हुने चेतावनी दिएका छन्। हिउँदमा पनि आवश्यक वर्षा नभएको र आगामी मनसुनमा कम वर्षा हुने भएकाले खाद्य चक्रलाई सहज बनाउन सरकारले विशेष कार्यक्रम लागू गर्नुपर्ने विज्ञहरूको सुझाव छ।
नेपालमा यस वर्षको वर्षायाममा आवश्यक मात्रामा वर्षा नहुँदा सम्पूर्ण खाद्य प्रणालीमा नै समस्या देखिने र वातावरणीय समस्या उत्पन्न हुनेतर्फ सरकारलाई सचेत गराएका हुन्।
विज्ञहरूले गत वर्षको हिउँदमा पनि आवश्यकभन्दा कम वर्षा भएको र वर्षायाममा पनि सुक्खा खडेरी पर्ने हुँदा भोकमरी, कृषि उत्पादनमा कमी लगायत अन्य समस्याहरू सिर्जना हुनसक्ने भन्दै पूर्वतयारीका साथ रहनुपर्नेमा जोड दिएका हुन्।
न्युज एजेन्सी नेपालसँगको कुराकानीमा जलवायु तथा विपद् विज्ञ डा. धर्म उप्रेतीले यस पटकको वर्षायाममा आवश्यक वर्षा नहुने भन्दै सरकारले खाद्य सुरक्षाका लागि आवश्यक रणनीति बनाई पूर्वतयारी थाल्नुपर्ने सुझाव दिए।
उनले गहुँ, धान, मकै लगायतका बालीहरूमा कमी आउने र खाद्यान्न पहिलाको भन्दा बढी आयात गर्नुपर्ने स्थिति आउनसक्ने भन्दै समयमा नै पूर्वतयारी गर्न सरकारलाई सुझाव दिए।
उनले वर्षायाम आउँदा समुन्द्रको सतहको तापक्रममा आएको उत्तारचढावका कारण कम वर्षा हुने बताए।
यस वर्षको वर्षायाममा औषतभन्दा कम वर्षा हुने प्रक्षेपण विभिन्न अध्ययनले देखाइसकेको भन्दै आकाशे खेतीहरू घट्ने उनले बताए।
विज्ञ डा. उप्रेतीले जलवायु परिवर्तनका कारण वर्षा कम हुँदा कृषि उत्पादकत्व घट्ने हुनाले सबैले समयमा नै खाद्यान्नको जोहो गर्न आग्रह गरे।
विज्ञ डा. उप्रेतीले भने, ‘हिउँदे वर्षा हाम्रो २१ प्रतिशत मात्रै भयो। अत्यन्तै न्यून वर्षा हो। त्यसले ल्याउने भोकमरी, कृषि उत्पादनमा हुने कमी, मैले लिएको जानकारी अनुसार गहुँको मूल्य ह्वात्तै बढेको छ। किनभने यसपटक उत्पादन नहुने देखे पनि व्यापारीहरूले गहुँको मूल्य बढाइसकेका छन्। त्यसको सिधा असर गहुँ आयात गर्नुपर्ने देखियो। यतिबेला केही मात्रामा वर्षा भए पनि जुन महिनाको जब वर्षायाम आउँदैछ, वर्षायाम आउँदा समुन्द्रको सतहको तापक्रममा आएको उत्तारचढाव छ।’
उनले दक्षिण एसिया क्षेत्रमा यसपटक कम वर्षा हुने आकलन गरिएकाले त्यसको असर नेपालमा पनि पर्ने बताए।
‘भारतले पनि यस वर्षको वर्षायाममा औषत भन्दा कम वर्षा हुने भनेर प्रक्षेपण गरिसकेको अवस्था छ। अमेरिकाको नेवा भन्ने संस्थाले पनि त्यसलाई प्रमाणित गरिसकेको छ। समग्रलाई हामीले हेर्ने हो भने दक्षिण एसिया क्षेत्रमा यस पटक कम वर्षा हुने आकलन गरिएको छ’, उनले भने, ‘धेरै अध्ययन हेर्दा थोरै वर्षा हुने भनिएकाले यसको सिधा असर हाम्रो कृषि प्रणालीमा, उत्पादनमा देखिन्छ। आकाशे पानीमा भर परेर गरिने खेतीको उत्पादकत्व घट्छ, यसले खाद्यान्नमा असर पर्छ। आर्थिक अवस्था कमजोर भएको बेलामा झनै खाद्यान्न आयात गर्नुपर्ने अवस्था आयो भने त्यसको लागि हामीले आजैदेखि तयारी गर्नुपर्छ, त्यसको आकलन गर्नुपर्छ।’
यता सरकारले आगामी मनसुन सिजनमा कम वर्षा हुने मौसमविद्हरूको आकलन रहेको भन्दै खाद्यान्न जोहो गर्नुपर्नेमा सरकार सचेत रहेको बताए।
कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव डा.गोवन्दप्रसाद शर्माले मौसमविद्हरूको अनुमानलाई मध्यनजर गरेर सरकारले मौसमी अन्नबालीमा लगानी बढाउनुपर्ने आवश्यकता औंल्याएको बताए।
उनले विगतका वर्षहरूको तुलनामा यस वर्ष आकाशे पानी मनसुन सिजनमा कम हुने आकलन रहेको भन्दै त्यही अनुसार सरकारले आवश्यक रणनीति बनाइरहेको बताए।
उनले मनसुन सिजनमा विशेष गरी धान रोप्ने बेलामा मध्यनजर गरी सिँचाइमा विशेष जोड दिनुपर्ने देखिएको बताए।
सचिव शर्माले सरकारले सबै पालिकाहरूमा मौसमबारे पूर्वसूचना प्रणाली विस्तार गरी नागरिकलाई सुसूचित बनाउनुपर्ने बताए।