मधेश प्रदेशमा निलगाई, बँदेल र बाँदर आतंकले किसान मारमा परेका छन् ।
मुटु काम्ने जाडोमा पनि मधेस प्रदेशका किसानहरू बाली जोगाउन खेतमै दिनरात पहरा बसिरहेका भेटिन्छन्।
धनुषा, महोत्तरी, सर्लाहीका जंगलबाट नजिक पर्ने कतिपय गाउँमा बाँदरको आतंक पनि उस्तै छ । बाँदर धपाउन स्थानीयले अनेकन उपाय लगाउँदा पनि सकेका छैनन् ।
‘बाँदर र बँदेले कुनै बाली छोडेको छैन। सबै तहसनहस पारिदिने गरेको छ। दक्षिणी भेगमा निलगाईँको आतंकले पनि किसान धेरै पीडित छन्,’ सर्लाहीको बरहथवा नगरपालिकाकी मेयर कल्पना कुमारी कटुवालले भनिन्।
उनका अनुसार यी जनावर नियन्त्रणका लागि वन कार्यालयसँग छलफल भैरहेको छ।
जंगलमा बस्ने यी जनावरको संख्या पछिल्लो ७/८ वर्ष यता तिब्र रुपमा बढ्दै छ। पछिल्लो समय यी जनावरको संख्या हेर्दा तत्काल नियन्त्रणका लागि प्रयास नगरिए मधेसमा कृषि उत्पादनमा ह्रास, बेरोजगारी र त्यसले समाजमा ठूलो असर पर्ने जानकार बताउँछन्।
उनीहरूका अनुसार कृषिमा ठूलो असर निम्त्याउने यो समस्याको कारण भने मान्छे जंगल पस्नु हो।
मिथिला वाइल्डलाइफ ट्रस्टका अध्यक्ष देव नरायण मण्डलका यी वन्यजन्तु मधेशका बस्ती पस्नुमा विभिन्न कारण देख्छन्।
‘प्राकृतिक रुपमा चितुवा, अंजिगर, हुडार, हाइना लगायतका जिवजस्तु जो यी जनावरका बच्चालाई मारेर खान्थे त्यो जंगलबाट लोप भयो त्यसले उसका बच्चा हुर्कदै ठूलो हुँदै गयो । संख्या घटेन,’ मण्डलले भने, ‘चुरेमा पानीको श्रोत पनि सुक्दै गयो। त्यसले ती जनावरहरु चुरे छोड्न बाध्य भएर तलतिर मधेसका गाउँघर र खेतबारीमा झरे।’
चुरेको जंगलमा वन्यजन्तुले खाना नपाएका कारण पनि मधेशको वस्ती र खेत पसेको उनको भनाई छ।
‘चुरे र जंगलतिर पहिलेजतिको खाना पाइदैन,’ उनले भने, ‘जहाँ किसानले खेतबारीमा फलफूलको रुख लगाएका छन् त्यहाँ उनीहरु सिफ्ट भएर आउँछ। पहिले जंगलमा हर्रो, बर्रो, आँप, अम्बा, लगायतका फलहरु प्रसस्त पाइन्थ्यो तर ती बोटबिरुवा काटिँदै गए। व्यापक वन फडानी भयो। त्यसकै प्रभाव देखिन्छ यो सबै।’
मधेशमै ती वन्यजन्तुले आश्रय स्थल बनाउन भारतसँगको खुला सिमानाले पनि सजिलो भएको देखिन्छ। विहारको विभिन्न ठाउँमा सुटर हायर गरेर बँदेल र नीलगाई मारिंदैछ।
ज्यान जोगाउने क्रममा भागेर निलगाई र बँदेल भारतबाट मधेशतिर पसेको अध्यक्ष मण्डलले बताए।
नेपालमा वन मन्त्रालयले २०७६ साल माघ २० गते राजपत्रमा सूचना प्रकाशित गर्दै कसैको खेतबारीमा बँदेल आएर नोक्सान गरे सम्बन्धित कृषकले धपाउन, लखेट्न, पक्रन वा मार्न सक्ने प्रावधान ल्याएपछि केही ठाउँमा बँदेल नियन्त्रण भयो। तर निलगाई नियन्त्रण हुन सकेन।
मानव–वन्यजन्तु द्वन्द्व कम गर्ने र बँदेलको संख्या नियन्त्रण गर्ने उद्देश्यले एक वर्षसम्मका लागि यो व्यवस्था ल्याइएको थियो। लगतै मधेशका धेरैजसो ठाउँमा कानुनको फाइदा उठाउँदै धेरै बँदेल मारियो पनि। मार्ने क्रम अझै पनि जारी छ।
त्यसैले बँदेल कतिपय ठाउँबाट लोप हुँदै गएको छ।
निलगाई मार्न पाउने गरि कानुन खुकुलो नहुँदा किसानले मार्न डराएका छन्। मधेश प्रदेशका उद्योग, पर्यटन तथा वनमन्त्रालयका एक अधिकृतका अनुसार चुरे क्षेत्रमा केही निलगाई पनि मारियो। तर असुरक्षित भएपछि निलगाई पनि चुरेभन्दा तल आउँदै गए।
‘मधेशतिर रुख बिरुवा प्रशस्त भएकाले ती जनावरले लुक्ने ठाउँ भेटेर यसलाई वासस्थानै बनाए,’ ती अधिकृतले भने।
निलगाई, बँदेल र बाँदरले रुचाउने नरम खाना मधेशका खेतबारीमा प्रसस्त पाइने हुँदा यो उनीहरुको हटस्पट बनेको मिथिला वाइल्डलाईफ ट्रस्टका अध्यक्ष मण्डलको भनाई छ।
डिभिजन वन कार्यालय धनुषाका अधिकृत अजय कुमार मिश्रले निलगाई र बँदेल मधेसतिर सरेर आउनुका अर्को कारण खेतीपाती कम हुँदैजानु पनि रहेको बताउँछन्।
‘खेती हुँदा दिनभर मान्छे चौरीमा हुन्थे। अहिले खेती पहिलेको तुलनामा झण्डै ५० प्रतिशतले गिराबट आयो। युवाहरु विदेश गइसके। खेततर्फ किसानको प्रेसर हुँदा जंगलबाट खेततर्फ प्रवेशै नगरी भाग्थे,’ उनी भन्छन्।
'हामीले रुख बिरुवा पनि धेरै रोप्यौँ । त्यसले लुक्ने ठाउँ पाएपछि निलगाई र बँदेलको संख्या बढ्यो। यीनीहरु दिउँसो खासै सक्रिय हुन्न लुकेरै बस्छ । राति धेरै सक्रिय हुन्छ त्यसले क्षति बढी हुन्छ। राति हामी घरमा हुन्छौँ उनीहरु खुलेयाम बालीनाली नष्ट गर्छ।’
उनका अनुसार एउटा बँदेलले वर्षमा झण्डै एक दर्जन बच्चा जन्माउँछ जसले संख्या लागातर बढ्दो छ। यी जनावरको नियन्त्रण तत्काल गर्नुपर्ने आवश्यक रहेको अधिकृत मिश्रको भनाई छ। नियन्त्रणका लागि पालिकाहरुले सहकार्य गरी यी वन्यजन्तुलाई आयस्रोतमा रुपान्तरण गर्न सकिने उनले बताए ।
‘निलगाईलाई एकै ठाउँमा राखेर पर्यटक लोभ्याउन सक्नुपर्छ। अर्को बँदेललाई शुल्क निर्धारण गरेर शिकार गर्न मिल्ने कानुन बनाए राम्रो आम्दानी गर्न सकिन्छ,’ उनले भने।
खेतबारी र वस्तीबाट यी जन्तुलाई जंगलतर्फ व्यवस्थापन गर्नु उपयुक्त हुने मिथिला वाइल्ड लाइफ ट्रष्टका अध्यक्ष मण्डलको भनाई छ।
‘वनमा एकै प्रजातिको बिरुवा रोप्ने अभियान चलिरहेको छ । त्यसलाई निरुत्साहित गरी फलफूलको बिरुवा पनि रोप्नुपर्छ। चुरेमा पानीका मुहान फेरि बित्याउँनुपर्छ,’ उनले थपे, ‘भाले निलगाईलाई बँध्याकरण गर्न सकिन्छ तर त्यसका लागि धेरै स्रोतसाधन चाहिन्छ। त्यति सजिलो देखिन्न।'
यी जनावरको संख्या पहिलेभन्दा धेरै भएको होइन्। पहिले उनीहरु बस्ने क्षेत्र धेरै थियो । अहिले क्षेत्र कम हुँदैजाँदा एक ठाउँमा जम्मा भएको छ त्यसले संख्या धेरै देखिने मण्डलले बताए।