कैलालीको टीकापुर नगरपालिका–५ की दुर्गादेवी कुमाल परम्परागत कृषिखेती गर्दै आएकी छन्। अहिले उनले आफ्नो मनस्थिति बदल्दै कागती खेतीमा रुचि देखाएकी छन्।
गत आर्थिक वर्षमा रानी जमरा कुलरिया सिंचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन इकाइले दिएको अनुदानमार्फत् १० कठ्ठा जग्गामा कागतीखेती शुरु गरेकी उनी यसलाई व्यावसायिक रुपमा सञ्चालन गर्ने योजनामा छिन्।
‘मैले कृषिमा केही फरक गर्नकै लागि कागतीखेती शुरु गरेकी हुँ’, दुर्गाले भनिन्, ‘कागती लगाएको करीब एक वर्ष पुग्नै लागेको छ। अर्को वर्षमा उत्पादन शुरु हुनेछ।’ कृषि जेटिए अध्ययन गरी कृषि व्यवसायमा लाग्नुभएकी दुर्गाका अन्य परिवारका सदस्य भने जागिरे पेशामा छन्।
उनले कागतीखेतीको शुरुआतसँगै मौसमी तथा बेमौसमी तरकारी खेतीसमेत गर्दै आएकी छन्। ‘उत्पादन र आम्दानी राम्रो छ। मेरो अध्ययनको विषय पनि कृषिसम्बन्धी नै भएको हुँदा अरुको भन्दा राम्रो उत्पादन गर्न सफल भएकी छु’, दुर्गाले भनिन्, ‘बजारीकरणमा समस्या छ। सरकारले उचित बजारीकरणको व्यवस्था गर्न सके कृषिबाटै सफलता हासिल गर्न सकिन्छ।’
टीकापुर नरगपालिका–३ की खेमा विकले रु १० हजार ५१० को लगानीमा दुई कठ्ठा क्षेत्रफलमा कागती रोपेका छन्। रु छ हजार ३८२ आयोजनाको अनुदान र अन्य आफ्नो लगानीमा शुरु गरिएको कागतीखेती राम्रो हुँदै गएको खेमा बताउँछन्। उनले छाडा चौपायाका कारण कागतीका बोट बचाउन समस्या भएको बताउँदै अहिले कागतीखेतीलाई आफूले परीक्षणको रुपमा लिएको बताए।
‘मेरो लागि यो नयाँ व्यवसाय हो। यसले उत्पादन कस्तो दिन्छ रु त्यसपछि मात्र थप गर्न सकिने अवस्था छ।’ खेमाले भने, ‘कागतीको बजारीकरणमा समस्या छैन। अहिले पनि प्रतिदाना पाँचदेखि १० रुपैयाँ तिरेर हामी आफैँ पनि प्रयोग गर्दै आएका छौँ।’
त्यस्तै लम्कीचुहा नगरपालिका–३ व्यवस्थित नगरका शङ्कर विष्ट होटल व्यवसाय गर्दै आएका थिए। होटलमा भविष्य नदेखेपछि शङ्कर कुखुरापालनतर्फ आकर्षित हुनुभयो। उहाँले कुखुरापालनसँगै छ कठ्ठा क्षेत्रफलमा कागती खेतीको शुरुआतसमेत गरेका छन्।
‘‘अनुदानबाट रु १९ हजार ८४५ अनुदान पाएसँगै कागतीखेती शुरु गरेको हुँ। अहिलेसम्म हेर्दा राम्रै होला जस्तो छ।’ शङ्करले भने,,‘त्योसँगै मैले सल्यानबाट समेत कागतीका बिरुवा मगाएर थप गरेको छु।’ उनले स्थानीय र कडकनाथ कुखुरासँगै बङ्गुरपालनसमेत शुरु गरेका छन्। रासस