डा. गोविन्द के.सीको जुम्ला अनशनको बेला निकै चर्चा पाएको जुम्ली मार्सी धान यतिबेला हुष्टपुष्ट छ। लहलहाउँदा धानका बालाले किसानको मनलाई हर्षित बनाएको छ। जिल्लाभरी लगाएको धानबाली पाक्नै आँटेको छ। किसानहरु पुरानो उखान ‘असौजे भेडाको झोल र कार्तिके चामलको भात’ खुब सम्झिरहेका छन्।
जिल्ला कृषि विकास कार्यालयले गरेको एक सर्वेक्षणले यस वर्ष जुम्लामा धान उत्पादन करिब बीस प्रतिशतले बढ्ने अनुमान गरेको छ।
पछिल्लो समय जुम्ली मार्सी धानको माग बजारमा ह्वात्तै बढेको छ। दिनहुँ जसो बाहिरबाट जुम्ला आउने पर्यटक तथा जुम्लाबाट बाहिर जाने अधिकांशले जुम्ली मार्सी धान किनेर लैजाने गरेको यहाँका व्यापारीहरु बताउँछन्। जुम्ली मार्सीले चर्चा पाएअनुसार उत्पादन जति बढ्यो त्यति नै बजारले व्यापकता पाउने देखिन्छ। त्यसैले उत्पादन जति बढाउन सकिन्छ त्यति नै किसानहरुको जीवनस्तर उठाउन पनि सहज हुन्छ।
तर यतिबेला किसानहरुले गरेको हतारोले केही निराशा जन्माइदिएको छ। जुम्ला चनन्दननाथ नगरपालिकाको छिनासिम जिउलोमा लगाइएको करिब १६०० रोपनीमा लगाइएको (७० देखि ८० हेक्टर) धान काट्न सुरु गरिएको छ। जिल्ला कृषि विकास कार्यालयका कृषि अर्थविज्ञ बालकराम देवकोटाका अनुसार ‘जुम्ली मार्सी धान पाक्ने समय भनेको कात्तिक पहिलो हप्तादेखि दोस्रो हप्ता हो।’ उनको भनाई विपरित छिनासिम जीउलामा धान लगाउने किसानहरु असोज नसकिदै धमाधम धान काट्न लागेका छन्।
देवकोटाको भनाईलाई नै आधार मान्ने हो भने धानबालीलाई व्यवस्थित रुपमा भण्डारण गर्नको लागि कम्तिमा पनि १४ प्रतिशत चिस्यान चाहिन्छ। अझ व्यवस्थित भण्डारणको लागि ११ देखि १२ प्रतिशत चिस्यान उपयुक्त हुन्छ। तर यसरी हतार गरेर काटिएको धानबालीमा २४ देखि २५ प्रतिशत सम्म चिस्यान हुने भएकोले यतिबेला भण्डारण गरिएको धान बालीमा घन, पुतली लाग्ने र धान नष्ट हुने सम्भावना बढी हुन्छ। यसरी नपाकी काटेको धानलाई बीउको रुपमा प्रयोग गर्दा उत्पादन घट्ने तथा गुणस्तर खस्किने सम्भावना पनि उत्तिकै हुन्छ।
राम्रो पाकेको धानलाई बीउको रुपमा प्रयोग गरे मात्रै पनि २० प्रतिशतले उत्पादन बढाउन सकिन्छ। राम्रो मल, बीउ भएमा तथा उपयुक्त मात्रामा वर्षा भएमा धानबाट राम्रो उत्पादन लिन सकिन्छ। तर छिनासिम जिउलोमा नपाक्दै काट्न थालेको धानको उत्पानद यो वर्ष बढेपनि अर्को वर्षको लागि गतिलो बीउ नहुने र गुणस्तर पुरै खस्किने सम्भावना छ।
यसो हुनुमा मान्छेहरुमा चेतनाको अभाव मात्रै होइन परापुर्वकालदेखि चलिआएको वैज्ञानिक युक्तिलाई पछ्याउन नसक्नु हो। चैत १२ गते धान बताउने र भिजाउने। १६ गते उतार्ने। सुकाउने र साँझ आगनमा उम्रनलाई सहयोग गर्न न्यानो गरि राख्ने। त्यसपछि हरेक दिन ताजा चिसो पानि छर्किने। २० गते बेर्नामा लगेर राख्ने। बैशाख १ गते बीउ पुजा गर्ने र कार्तिक पहिलो हप्ता धान काट्ने पुरानो चलन पछिल्लो समय हराउँदै गएको यहाँका बुढापाकाहरु बताउँछन्।
त्यसैले उत्पादन बढाउन उत्पादनको असल परम्परालाई बचाई राख्न तथा नयाँ अनुसन्धान गर्न जरुरी छ। जस्ले साँचो मानेमा उत्पादन बढाउन सहयोग गर्छ।