चोभारमा बन्दै गरेको फलफूल तथा पुष्प संकलन केन्द्रको निर्माण कार्यमा ठेकदार कम्पनीले ढिलासुस्ती गर्दा विश्व बैंकको करोडौं अनुदान रकम फिर्ता हुने भएको छ।
दुई वटा ५ तले, एउटा ३ तले भवन र अन्य केही अन्तर्राष्ट्रियस्तरका संरचना बनाउने लक्ष्य राखिएकोमा करिब ३० प्रतिशत मात्र काम पुरा भएको व्यवसायिक कृषि तथा ब्यापार अयोजनाका बरिष्ठ योजना अधिकृत दिनेश प्रसाद सापकोटाले जानकारी दिए।
विश्व बैंकको सहयोगमा संचालित ‘व्यवसायिक कृषि तथा व्यापार आयोजना’को अवधि यही असार १६ गते सकिँदै छ। सोही मितिसम्म काम नसकिए बैंकले खर्च भएका बाहेक बाँकी अनुदान फिर्ता लानेछ।
बाहिरबाट आयात गरी काठमाडौ उपत्यकाको लागि फलफूल तथा पुष्प उपजहरु वितरण गर्नको लागि यो संकलन केन्द्र निर्माण गर्न लागिएको थियो।
महादेव खिम्ती निर्माण सेवा, अनक कन्ट्रक्सन र बंगलादेशी कम्पनी साम्सोजामोनले संयूक्त रुपमा ३३ करोडमा निर्माण गर्ने ठेक्का पाएका थिए। यी कम्पनीहरुलाई १३ महिनाको लागि ठेक्का सम्झौता गराइएको थियो।
संकलन केन्द्र बनाउन लागिएको भु–भागको बीचबाट बाहिरी चक्रपथ पर्यो भने स्थानीयको अवरोधपछि करिव ६ महिना काम प्रभावित बनेको थियो।
काममा अवरोध आएपनि निर्माण कम्पनीले पुरा रफ्तारमा गरेको भए ६०/७० प्रतिशत काम सकिने र थोरै रकम मात्र फिर्ता जाने सापकोटाले बताए।
‘काममा अवरोध हटेपछि पनि राम्रोसँग गरेको भए करिव २५ करोडको काम गर्न सकिन्थ्यो तर कम्पनीको ढिलासुस्तीले करिव १० करोडको मात्र काम सम्पन्न भएको छ’ उनले भने ‘उहाँहरुले घटीघटाउ लागतमा ठेक्का हाल्नुभयो, निर्माण सामाग्रीको भाउ बढ्यो, नाफा नहुने देखेपछि आलटाल गर्नुभयो र काम सन्तोषनजक भएन।’
कृषि मन्त्रालयका तत्कालीन सहसचिव काशिराज दाहालले ठेकेदार कम्पनीले राम्रोसँग काम गरे आयोजनाको अवधिभर ८० प्रतिशत काम भ्याउन सक्ने बताएका थिए।
अहिलेको स्थिति हेदा असार १६ गतेसम्म ३२ प्रतिशत भन्दा धेरै काम नसकिने र बाँकी रकम नेपाल सरकारले बजेट विनियोजन गर्नु पर्ने सापकोटाले बताए।
प्रशासनले निर्माण कम्पनीलाई कडाई गर्न नसक्दा करिव २० करोड फिर्ता हुने देखिएको छ। व्यवसायिक कृषि तथा व्यापार आयोजनाको अन्य क्षेत्रीय काम सन्तोषजनक भएपनि आयोजनाको मुटु नै मानिने यो अयोजना भने अलपत्र बनेको हो।
चोभारको २२ रोपनी क्षेत्रफलमा निर्माण हुन लागेको संकलन केन्द्रबाट उपत्यकाका बजारमा फलफूलको वितरण गर्ने योजना रहेको छ।