बाँझो पल्टिएको जग्गामा अलैँची खेती फस्टाएपछि जैमिनी नगरपालिका–२ र ३ का किसान खुशी छन्।
परीक्षणमै राम्रो आम्दानी पाएका किसानले अलैँचीको व्यावसायिक खेती सुरू गरेका हुन्। राम्रो बजार मूल्यका कारण पनि अलैँची खेतीमा किसानको आकर्षण बढेको हो।
सोही ठाउँको गाँजा सामुदायिक कृषि सहकारी संस्थामार्फत एक सय रोपनी जमिनमा पनि अलैँची खेती भइरहेको छ।
अन्य क्षेत्रमा पनि खेती विस्तार गर्ने योजना रहेको उल्लेख गर्दै सहकारीका अध्यक्ष होमनाथ सापकोटाले भने, ‘परीक्षण सफल भएपछि हामी उत्साहित छौँ। दमेकका सरकारी, सामुदायिक र निजी वनमा समेत अलैँची खेती सुरू गरिएको छ।’
स्थानीयवासी आनन्द अम्माई, झापाका पारस काफ्ले र अन्य किसानले पनि अलैँचीको नर्सरी स्थापना गरेका छन्। किसानले अलैँचीको फलदेखि बिरुवासमेत विक्री गर्ने गरेका छन्। गत वर्ष जिल्लाभरका किसानले १० लाख रुपैयाँको बिरुवा बेचेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ।
वार्षिक ५० लाख रुपैयाँ भित्र्याउने गरी किसानले काम गरिरहेको कार्यालयका कृषि प्रसार अधिकृत विप्लवप्रसाद अधिकारीले बताए। उनका अनुसार जिल्लाभर ३० हेक्टर बढी क्षेत्रफलमा अलैँची खेती गरिएको छ। दमेक, दुदिलाभाटी, खरबाङ, बुर्तिबाङ, अर्गल, हिल, राङ्खानी, बरेङलगायतका क्षेत्र अलैँची खेतीका लागि उपयुक्त मानिएको छ।
अलैँचीतर्फ किसानको आकर्षण बढेकाले खेती विस्तार हुँदै गएको कार्यालयका कृषि प्रसार अधिकृत विप्लवप्रसाद अधिकारीले बताए।
‘बागलुङमा अलैँचीको राम्रो सम्भावना छ’, उनले भने, ‘खेती गरिरहेका किसानले राम्रो आम्दानी गरिहेका छन्।’ सिमसार, उत्तिसको रुख भएका खोल्सा र पाखोबारी अलैँची खेतीका लागि उपयुक्त मानिन्छ। अलैँची विक्रीका लागि भने पूर्वको झापालगायतका ठाउँमा पुर्याउनुपर्ने अवस्था रहेको अधिकृत अधिकारीको भनाइ छ। ठूलो मात्रामा उत्पादन भएको अलैँची भने व्यापारीले गाउँमै आएर खरीद गर्ने गरेका छन्। नेपालमा उत्पादन हुने अलैँची विदेशी मुलुकमा समेत निर्यात हुने गरेको छ।
पछिल्लो समय भने अलैँचीको मूल्यमा कमी आएपछि किसान चिन्तित छन्। प्रतिकिलो दुई हजार रुपैयाँसम्ममा विक्री हुने अलैँची अहिले घटेर एक हजार रुपैयाँभन्दा पनि कम भएको छ।
उत्पादन गर्न सके विक्रीको भने समस्या नरहेको सम्बद्ध किसानको भनाइ छ। कम लगानीमा राम्रो आम्दानी दिने भएकाले पनि किसान अलैँची खेतीतर्फ आकर्षित भएका हुन्। जिल्ला कृषि विकास कार्यालयले खेती गर्न चाहने किसानलाई निःशुल्क बिरुवा उपलब्ध गराउँदै आएको छ।