बैतडीसहित मध्यपहाडी क्षेत्रमा गहुँ छर्न सुरू भएसँगै किसान गहुँ छर्ने काममा व्यस्त छन्।
कात्तिक पहिलो सातादेखि मंसिर दोस्रो सातासम्म गहुँ छर्नका लागि उपयुक्त समय भएको जिल्ला कृषि विकास कार्यालयका योजना अधिकृत कर्णबहादुर चन्दले बताए।
गहुँ छर्ने बेलामा खेतलाई राम्रोसँग खनजोत गरी गोबर मल हालेर गहुँ छरेमा उत्पादन राम्रो हुने उनले बताए। बैतडीमा २० हजार ९०० हेक्टर क्षेत्रफल जमिनमा गहुँखेती गरिँदै आएको छ।
सिँचाइ सुविधा नहुँदा समस्या
बैतडीजस्ता मध्यपहाडी क्षेत्रमा गहुँ छर्ने चटारो भए पनि सिँचाइ सुविधा नभएका ठाउँका किसान भने मार्कामा परेका छन् । दश हजार ६५० हेक्टरमा मात्रै सिँचाइ सुविधा भएकाले अन्य किसानले भने अकाशे पानीको भरमा बस्न बाध्य छन् । खास गरेर लेकाली क्षेत्रमा सिँचाइको सुविधा नहुँदा अकाशे पानीको भरमा गहुँखेती गर्नु परिरहेको किसानले बताएका छन् । सिँचाइको सुविधा नहुँदा सोचेअनुसार उत्पादन हुन नसकेको उनीहरूको भनाइ छ।
सिँचाइको सुविधा नभएका ठाउँका किसान आकाश हेरेर बस्नुपर्ने बाध्यता रहिआएको सुर्नया गाउँपालिकाका किसान मोहनबहादुर विष्टले बताउनुभयो । जिल्लामा २० हजार ९०० हेक्टर जमिनमा गहुँखेती गरिँदै आए पनि १० हजार ५०० हेक्टरमा मात्रै सिँचाइको सुविधा छ । सिँचाइको सुविधा नभएका ठाउँमा आकाशे पानी नपरेकाले गहुँ छर्न समस्या भएको किसानले बताएका छन् ।
अधिकांश लेकाली क्षेत्रमा सिँचाइको सुविधा छैन् । बैतडीमा कात्तिक पहिलो सातादेखि मंसिर दोस्रो सातासम्म गहुँ छर्नका लागि उपयुक्त समय भए पनि सिँचाइ सुविधा नभएका ठाउँमा गहुँ छर्न समस्या भएको छ ।
वडा कार्यालयले अनुदानमा गहुँको बीउ वितरण
बैतडीको दशरथचन्द नगरपालिका वडा नं १ को कार्यालयले किसानलाई अनुदानमा गहुँको बीउ वितरण गर्ने भएको छ ।
गहुँ छर्ने समय भएकाले किसानलाई भोलिदेखि पूर्ण अनुदानमा प्रतिकिसान पाँच किलोका दरले गहुँको बीउ वितरण गरिने वडा अध्यक्ष भुवनराज भट्टले जानकारी दिए।
उन्नत जातको गहुँको बीउ वितरण गरी उत्पादनमा वृद्धि गर्ने लक्ष्यका साथ १० क्विन्टल गहुँको बीउ वडा कार्यालयमार्फत व्यावसायिकरूपमा कृषि पेशामा लागेका किसानलाई विशेष प्राथमिकता र गरीब तथा आर्थिक अवस्था कमजोर भएका किसानलाई प्राथमिकता दिने उनले बताए।
यस्तै, दशरथचन्द नगरपालिकाको वडा नं ७ को कार्यालयले पनि किसानलाई शतप्रतिशत अनुदानमा गहुँको बीउ वितरण गर्न थालेको छ। एक हजार २०४ जातको गहुँको बीउ प्रतिकिसान चार केजीका दरले वितरण सुरू गरिएको वडा कार्यालयका सचिव कृष्णबहादुर बोहराले बताए।
यस्तै, दशरथचन्द नगरपालिका वडा नं ३ मा निःशुल्करुपमा गहुँको बीउ वितरण गरिने भएको छ। वडा कार्यालयले सोमबारदेखि किसानलाई निःशुल्करुपमा गहुँको बीउ वितरण गर्ने वडा अध्यक्ष दामबहादुर क्षेत्रीले बताए।
उन्नत जातको गहुँको मूल बीउ वितरण
जिल्ला कृषि विकास कार्यालयले खाद्यसुरक्षा सञ्चालन भएका साविकका १० गाविसमा ५० प्रतिशत अनुदानमा उन्नत जातको गहुँको मूल बीउ वितरण गरेको छ। एक हजार २०४ जातको गहुँको मूल बीउ ८४ क्विन्टल जति वितरण गरिएको योजना अधिकृत चन्दले बताए।
साविकका ग्वाल्लेक, हटैराज, पाटन, कैलपाल, देउलेक, श्रीकेदार, न्वाली, गोकुलेश्वर, कोटपेटरा र हाट गाविसका किसानलाई अनुदानमा मूल बीउ वितरण गरिएको उनले जानकारी दिए।