दशैं र तिहारमा सर्वसाधारणलाई राहत उपलब्ध गराउने उद्देश्यले साल्ट ट्रेडिङ लिमिटेडले सुपथ मूल्यको पसल सञ्चालनमा ल्याएको छ ।
चिनीमा प्रतिकिलो पाँच रुपैयाँ र नूनमा प्रतिकिलो दुई रुपैयाँ घटाएर ग्राहकलाई उपलब्ध गराउने सो कार्यालयका प्रमुख नवीनचन्द्र झाले जानकारी दिए ।
विराटनगरस्थित कार्यालयमा सञ्चालनमा ल्याएको उक्त सुपथ मूल्यको पसलबाट चिनी प्रतिकिलो ७७ रुपैयाँ ५० पैसा र नून प्रतिकिलो १८ रुपैयाँमा विक्री वितरण भइरहेको छ । बजारमा चिनीको मूल्य प्रतिकिलो ८२ रुपैयाँ तथा नूनको मूल्य २५ रुपैयाँ पर्छ । ग्राहकलाई बढीमा ६ किलोसम्म मात्र दिने गरिएको कार्यालयले जनाएको छ ।
भदौ १६ गते सञ्चालनमा आएको सो सुपथ पसलबाट आज मध्याह्न सम्ममा १४ हजार ४१६ रुपैयाँ मूल्य बराबरको १८६ किलो चिनी र १० हजार ४५८ रुपैयाँ मूल्य बराबरको ५८१ किलो नून विक्री भएको हो । उक्त सुपथ पसल कात्तिक ९ गतेसम्म सञ्चालनमा रहनेछ । रासस