आर्थिक वर्ष २०७३/७४ मा जिल्लामा २७ मेट्रिक टन मह उत्पादन भएको छ ।
जिल्ला कृषि विकास कार्यालयका सूचना अधिकारी तिलक डिसीकाअनुसार हरेक वर्ष मौरीका घार (गोलासहित) वितरण र मौरीपालन सम्बन्धी तालिम दिएका कारण कृषक मौरीपालनतर्फ आकर्षित भएका हुन् ।
कार्यालयले युवा लक्षित मौरीपालन कार्यक्रम सञ्चालन गर्न एक लाख ८० हजार रुपैयाँ अनुदान दिएसँगै मौरीपालन गर्ने कृषकको संख्यामा वृद्धि भएको हो । कार्यालयले गत आवमा तीन सय आधुनिक घार तथा ५० वटा मौरीसहितका घार वितरण गरेका सूचना अधिकारी डिसीले बताए। अहिले जिल्लाका विभिन्न स्थानमा चार हजार पाँच सय आधुनिक घार तथा करीब एक हजार मुढे घारमा मह उत्पादन हुँदै आएको छ ।
उत्पादन भएको कुल २७ मेट्रिक टन महमध्ये २२ मेट्रिक टन आधुनिक घारबाट र पाँच मेट्रिक टन मुढे घारबाट उत्पादन भएको हो । बीस मेट्रिक टन मह विक्रीबाट दुई करोड रुपैयाँ आम्दानी भएको डिसीले बताए ।
जिल्लाका किसानले सेरेना जातको मौरीपालनलाई व्यावसायिक रुपमा अगाडि बढाएका छन् । यहाँ उत्पादित मह पोखरा, बुटवल, भैरहवा, काठमाडौंमा विक्री हुने गरेको छ । रासस