हातले धागो कात्ने परम्परालाई नयाँ प्रविधिसँग जोड्न जेल्वाङमा अल्लोको धागो कात्ने मेसिन हस्तान्तरण गरिएको छ ।
कृषि मन्त्रालयसँगको साझेदारीमा उद्योग वाणिज्य महासंघले सञ्चालन गर्दै आएको ‘एक गाउँ, एक उत्पादन’ कार्यक्रमअन्तर्गत जेल्वाङमा १२ थान मेसिन हस्तान्तरण गरिएको जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत लालकुमार श्रेष्ठले जानकारी दिए ।
धागो कात्ने प्रविधिमा सुधार गर्दै गुणस्तरीय धागो उत्पादनमा सघाउ पुर्याउने उद्देश्यले मेसिन हस्तान्तरण गरिएको श्रेष्ठले बताए । जीविकोपार्जनको आधार बनेको अल्लोको आधुनिक मेसिन औजारको अभावका कारण उत्पादनमा कमी आएको उनको भनाइ छ । समुदायवाट थप मेसिनको माग आएको हुँदा सहयोग गर्न स्रोत खोजी भइरहेको छ ।
जेल्वाङमा अल्लोखेती गरिने हुँदा त्यसको विकास र प्रवर्द्धन गर्न मेसिन वितरण गरिएको रोल्पा उद्योग वाणिज्य संघका अध्यक्ष बालकृष्ण सुवेदीले बताए । जिल्लालाई अल्लोको माद्यमबाट परिचित गराउन सकिने सम्भावना छ । उत्पादित अल्लोको धागो हाल स्थानीय व्यापारीले नै खरिद गरिरहेका छन् । ठूलो परिमाणमा उत्पादन भए त्यसको बजारीकरण गर्न उद्योग वाणिज्य संघले सहयोग गर्ने सुवेदीले बताए । रासस