एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषदको विशेष महाधिवेशन भर्चुअल माध्यमबाट सम्पन्न भएको छ।
नेपाल सरकारका परराष्ट्र मन्त्री प्रदिप कुमार ज्ञवालीले उद्घाटन गरेको विशेष महाधिवेशन जनवरी २३ र २४ तारिक दुई दिनसम्म चलेको हो।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै परराष्ट्र मन्त्री ज्ञवालीले गैर आवासीय नेपाली संघले नेपालको विकास र सम्वृद्धिमा योगदान गर्नसक्ने बताउँदै कोभिड-१९ लगायतका महामारीमा एनआरएनएले खेलेको भूमिकाको प्रसंशा गरेका थिए।
साथै मन्त्री ज्ञवालीले नेपालको राजनीतिका आधारमा एनआरएनहरू विभाजित हुन नहुने धारणा राखेका थिए। उद्घाटन समारोहमा संघका पूर्व अध्यक्ष तथा पदाधिकारीहरुले शुभकामना मन्तब्य राखेका थिए।
पहिलो दिनको सत्रमा संघका महासचिव डा. हेमराज शर्माले संघको कार्यप्रतिवेदन प्रस्तुत गरे ।
त्यसपछि शुरु भएको सत्रमा उपाध्यक्ष मन केसी तथा पूर्वप्रवक्ता भूषण घिमिरेले साझा सहमतिको आधारमा प्रस्तुत गरेको संशोधन प्रस्ताव माथि राष्ट्रिय समन्वय परिषद (एनसीसी) का अध्यक्ष तथा महासचिवहरुले आफ्नो सुझाव प्रस्तुत गरेका थिए । महाधिवेशनले विधान माथिको संसोधन प्रस्तावलाई सर्वसम्मत रुपमा पारित गरेको छ ।
दोस्रो दिनको कार्यक्रममा कोषाध्यक्ष महेश श्रेष्ठले प्रस्तुत गरेको संघको (२०१७-१९) आर्थिक प्रतिवेदनलाई पनि सर्वसम्मत रुपमा पारित गरेको छ । दोस्रो दिनको बिभिन्न सत्रमा संघका विभिन्न पदाधिकारीहरुले आफुहरुले संयोजन गरेका परियोजनाहरुको प्रगति विवरण सहितको प्रस्तुती दिएका थिए ।
२०१९ अक्टुवरमा सम्पन्न काठमाडौं सम्मेलनमा संघको आर्थिक प्रतिवेदन पारित नभएपछि विशेष अधिवेशन गर्ने तत्कालिन निर्णय बमोजिम यो महाधिवेशनको आयोजना गरिएको हो । विश्वका बिभिन्न देशका २६ सय भन्दा बाढी महाधिवेशन प्रतिनिधीहरु दर्ता भएको संघले जनाएको छ ।
एनआरएनएका अध्यक्ष कुमार पन्तले सहमति र सौहार्दतामा महाधिवेशन सम्पन्न गर्न सकेकोमा खुसी ब्यक्त गर्दै संस्थालाई परिवर्तित आवश्यकता अनुरुप गतिशिलताको नीति अवलम्बन गरिने बताए।
महाधिवेशनको अन्त्यमा संघका प्रवक्ता डिवी क्षेत्रीले महाधिवेशनको निर्णयहरु पढेर सुनाएका थिए ।