नेपाली दूतावास लन्डन र गैरआवासीय नेपाली संघ बेलायतको संयुक्त पहलमा कोरोना लकडाउनको कारण बेलायतमा रोकिन बाध्य नेपालीहरूलाई आगामी हप्ता दुई जहाजको चार्टर्ड उडान मार्फत नेपाल फर्काउने तयारी भएको छ।
नेपाल फर्किने प्राथमिकतामा भ्रमण, अध्ययन तथा सेमिनार लगायतको लागि बेलायत आएर यतै रोकिएका र अन्य आकस्मिक र विशेष परिस्थितीका यात्रुहरु रहनेछन।
लन्डन स्थित नेपाली दूतावासका अनुसार आगामी जुन २४ र २६ तारिखका दिन लन्डनको ग्याटविक विमानस्थलबाट ३ सय भन्दा बढी नेपालीलाई नेपाल फर्काउने गरी तयारी सुरू गरिएको छ।
दूतावासबाट प्राप्त सुचना अनुसार जजिरा एयरवेजले दुवै दिन दिनको २:५० बजे नेपालको लागि उडान भर्ने छन्।
जजिरा एयरका एयरबसले प्रति जहाज १५८ जना यात्रुहरुको उडान भर्ने क्षमता राख्दछन्।
एकतर्फी उडानको भाडादर प्रतिव्यक्ति ९ सय २० पाउण्ड तय गरिएको छ।
चार्टर्ड उडान मार्फत नेपाल जाने यात्रुहरुले कोरोना नेगेटिभ भएको स्वास्थ्य परिक्षण रिपोर्ट यात्रा अगावै बुझाउनु पर्ने छ भने उडानको लागि टिकट समेत स्वयंले लिनुपर्नेछ।
टिकटको लागि जजिरा एयरलाइन्सको नेपाल एजेन्ट एबल नेपाल ट्राभल एण्ड टुर्स प्राइभेट लिमिटेडमार्फत नेपाल सरकारले तोकेको ११ सय डलर बरावरको भुक्तानी गर्नुपर्ने छ। नेपाल आगमन पश्चातः यात्रुहरुले नेपाल सरकारले तोके बमोजिम क्वारेन्टिनको सर्त पुरा गर्नुपर्ने छ।
यस अघि परिस्थितिवस बेलायतमा अड्किएका नेपालीहरुलाई नेपाल फर्काउनको लागि एनआरएनए यूकेले तथ्यांक संकलन गरेर लन्डनस्थित नेपाली दूतावासमा बुझाएको थियो।
एनआरएनएबाट प्राप्त तथ्यांक तथा दूतावासमा आएका आवेदनहरुलाई प्राथमिकताको आधारमा नेपाल फर्काउने गरी चार्टर्ड उडानको तय गरिएको हो।