लन्डनमा एक ४० वर्षीय नेपालीको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको छ।
गत सोमबार मृत्यु भएका प्रशान्त अर्याललाई कोरोना संक्रमण पोजिटिभ देखिएको पुष्टि भएको अस्पतालले जनाएको छ।
दक्षिण पूर्वी लन्डनको प्लमस्टिडमा बस्दै आएका अर्यालको क्विन एलिजावेथ अस्पतालमा उपचारका क्रममा गत सोमबार बिहान निधन भएको थियो।
लन्डनमै बस्ने मृतकका आफन्त पदम कार्कीका अनुसार बुधबार अस्पतालले परिवारलाई टेलिफोन गरेर मृतकलाई कोरोना संक्रमण भएको पुष्टि गरेको थियो।
'हिजोमात्र अस्पतालले फोन गरेर कोरोना सक्रमणको कारण मृत्यु भएको बतायो,' कार्कीले भने।
पारिवारिक स्रोतका अनुसार मृतक अर्यालमा देखिएका लक्षणहरू कोरोनासँग मिल्दाजुल्दा थिए। उच्च रक्तचापलगायतका स्वास्थ्य अवस्थामा रहेका मृतक अर्यालको कुनै गम्भीर प्रकृतिको स्वास्थ्य अवस्था भने नरहेको बताइएको छ।
चितवन घर भएका मृतक अर्याल लामो समयदेखि लन्डनमा बस्दै आएका थिए। उनका श्रीमती, एक छोरा र एक छोरी छन्।
उनीहरू अहिले लन्डनको आफ्नै घरमा आइसोलेसनमा बसिरहेका छन्। उनीहरूको स्वास्थ्यमा कुनै समस्या देखिएका छैन।
'आइसोलेसनमा बसेको परिवारमा त्यस्तो कुनै लक्षण देखा परेको छैन,' अहिले परिवारको सहयोगीको रूपमा रहेका कार्कीले भने।
'हामीले आवश्यक दूरीमै रहेर उहाँहरूलाई सहयोग गरिरहेका छौ,' उनले भने।
अस्पतालमा बढेको चापको कारण अर्यालको पार्थिव शरीरलाई परिवारले अझै बुझ्न पाएको छैन। अस्पतालमा सम्पर्क गर्दा उनीहरू आफैंले परिवारलाई सम्पर्क गरेर बोलाउने बताइएको छ।
लन्डनस्थित नेपाली दूतावासका उपनियोग प्रमुख शरदराज आरनले पनि अर्यालको परिवारसँग दूतावास सम्पर्कमा आइसकेको बताए।
'राजदूत आफैंले मृतकको श्रीमतीसँग सम्पर्क गरिसक्नु भएको छ र यो दु:खद घडीमा हामी हाम्रोतर्फबाट हुन सक्ने सहयोग गर्ने नै छौं,' आरनले भने।
अर्यालको परिवारलाई स्थानीय समाजसेवी तथा गैर आवासीय नेपाली संघका पदाधिकारीहरुले पनि परिवारसँगको सम्पर्कमा आवश्यक सहयोगको पहल गरिरहेका छन्।
गतसाता लन्डनकै एक ६६ वर्षीय पूर्व गोर्खा लीलाबहादुर राईले कोरोना संक्रमणबाटै ज्यान गुमाएका थिए।