कोरोनाभाइरस (कोभिड १९) का कारण अहिले विश्व नै आक्रान्त भइरहेको छ।
बेलायतमा पनि कोरोनाका कारण मंगलबारसम्म ६ जनाले ज्यान गुमाएका छन् भने ३७३ जनामा संक्रमण देखिएको अखबारहरूले उल्लेख गरेका छन्।
कोरोनाभाइरसबाट मृत्यु ८० वर्षीय वृद्ध बेलायतमा छैठौं व्यक्ति रहेका एनएचएस इंग्ल्याण्डले जनाएको छ। मंगलबारसम्म २६ हजार २ सय ६१ जनाले उक्त भाइरसको परीक्षण गराएका छन्। तीमध्ये २५ हजार ८ सय ८८ जनामा नेगेटिभ पाइएको छ।
बेलायती स्वास्थ्यमन्त्री नादिन डोरिस पनि कोरोनाबाट संक्रमित छिन्। आफूलाई संक्रमण भएको पुष्टि भएपछि अपनाउनुपर्ने सम्पूर्ण सावधानी अपनाइरहेको उनले बताएकी छन्। हाल उनी आफ्नै घरमा 'सेल्फ आइसोलेसन'मा बसिरहेकी छन्।
कोरोनाको महामारी फैलनेक्रम बढेपछि हवाई सेवा कटौती भएका छन्।
बेलायतबाट इटाली जाने आउने सयौं उडान कटौती गरिएको छ। बेलायतको विदेश मन्त्रालयले अत्यावश्यक काम नपरी इटाली भ्रमण नगर्न सुझाएको छ।
मन्त्रालयले इटालीको भ्रमण गरेर फर्किएको भए १४ दिनसम्म आफैं अलग (सेल्फ आइसोलेसन) रहन भनेको छ।
चीनपछि कोरोना भाइरसबाट युरोपेली मुलुक इटाली सबभन्दा प्रभावित छ। त्यहाँ मंगलबारसम्म ६३१ जनाले ज्यान गुमाएका सिभिल प्रोटेक्सन एजेन्सीले जनाएको छ।
ब्रिटिस एयरवेजले ४ अप्रिलसम्म यूके इटाली जाने आउने उडान रद्द गरेको छ भने इजी जेट, रायन एयर र जेट टु जस्ता विमान कम्पनीहरूले पनि आफ्ना नियमित उडान रद्द गरिरहेका छन्।
उता, जिपीहरूले तय भइसकेका अपोइन्टमेन्ट पनि रद्द हुन सक्ने चेतावनी दिएका छन्। बेलायतका व्यवसायहरू संकट उन्मुख छन् भने बजारमा ट्वाइलेट पेपर, ह्याण्ड सेनिटाइजर, साबुन, अल्कोहल जेल जस्ता सामग्रीको अभाव सृजना भइसकेको छ।
मानिसहरूले कोरोनाभाइरसको संकट कहिलेसम्म लम्बिने हो भन्ने चिन्ताले अत्यधिक सामान खरिद गर्दा अभाव देखिएको हो। बेलायतका ठूला सुपरस्टोर आस्डा, टेस्को, वेटरोज आदिले सीमित संख्यामा मात्र सामान खरिद गर्न सकिने नियम लागू गरेका छन्।
बेलायतले कोरोनाभाइरसविरूद्ध लड्न पर्याप्त तयारी भएको बताउँदै आएको छ। बेलायती अधिकारीहरूले कोरोनाभाइरसको संक्रमण रोक्ने प्रयास स्वरूप श्वासप्रश्वाससम्बन्धी संक्रमणको सामान्य लक्षण भएका वा ज्वरो आएका मानिसलाई छिट्टै अलग्गै बस्न अनुरोध गरिरहेका छन्।
ब्रिटेनका प्रमुख चिकित्सा सल्लाहकार प्राध्यापक क्रिस व्हिटीले लन्डनमा आयोजित एक पत्रकार सम्मेलनमा सरकारले आउँदो १० देखि १४ दिनभित्र सामान्य लक्षण देखिएका मानिसलाई ७ दिनसम्म एक्लै बस्न निर्देशन दिन सक्ने जनाए।
यसैबीच बैक अफ इंग्ल्याण्डले आकस्मिक रूपमा आजैदेखि लागू हुने गरी बैंकहरूको लागि तोकिने ब्याजदरमा ०.२५ प्रतिशत रहने गरी इतिहासमै न्यून कायम गरेको छ।
बैंकले कोरोनाको कारण अर्थतन्त्रमा पर्न सक्ने असरलाई कम गर्दै ग्राहकहरूको आत्मविश्वास बढाउन यसो गरिएको जनाएको छ।
विश्वका केही मुलुक र खास गरी इटालीमा कोरोना भाइरसको प्रकोप बढेसँगै आममानिसमा एक किसिमको त्रासको अवस्था छ। त्यसैले पनि जनस्तरमा अहिले कोरोनाभाइरसबाट बच्न व्यापक रूपमा चेतना बढेको देखिन्छ।
क्वीन एलिजावेथ अस्पतालका वरिष्ठ व्यवस्थापक डा. बच्चुकैलाश कैनी बेलायतमा पनि कोरोना भाइरसको संक्रमण बढेसँगै अस्पतालहरूमा जनशक्ति, उपकरण, शैया र पूर्वाधारका लागि विशेष तयारी भएको बताउँछन्।
'यसका लागि हरेक दिन अस्पतालहरूमा वरिष्ठ व्यवस्थापकहरूको बैठक बसेर वर्तमान अवस्थाको मूल्यांकन भइरहेको छ', कैनीले भने, 'आगामी दिन र केही हप्तामा कोरोनाभाइरसबाट संक्रमित हुनेको संख्या तुलनात्मक रूपमा बढ्ने अनुमान गरिएकाले सबै स्वास्थ्यकर्मीलाई सतर्कता अपनाउन र कुनै किसिमको थप जिम्मेवारी लिनुपरे त्यसका लागि तयारी हुनुपर्ने स्थिति छ।'
बेलायतमा नेपाली संघ संस्था तथा नेपाली दूतावासद्वारा तय गरिएका कार्यक्रम रद्द गरिएका छन्। हालसम्म कुनै नेपालीलाई कोरोना संक्रमण देखिएको छैन।