वर्कशपमा हाम्रो लागि एउटा टेबल छुट्टयाईएको थियो। छलफलका बुँदाहरु थोरै थिए, सरल लाग्ने तर जटिल प्रकृतिका। संयोगबस हामी बसेको टेबलमा एक जना ८० वर्षीय बुवा पनि थिए।
बेलायतमा सेवानिवृत्त जीवन बिताईरहेका हजारौँ यस्ता वृद्द बुवाआमाहरुको जीवन अनुभुति र भविष्यको योजना बारे छलफलका बुँदाहरुले मेल खाईरहदा हामीले उनैलाई सोध्यौँ, 'तपाई बाँकी जीवन यतै बिताउने कि नेपाल जाने?'
'नेपाल जाने होनी, यस्तो ठाउँमा बसेर के गर्ने? न भाषा आउँछ, न आफ्नो गाउँ ठाउँको रहन सहन, न आफ्नो देश,' बेलायती सेनाबाट सेवानिवृत्त बुवाले जवाफमा भने, 'यहाँ हामीलाई भाषा र एक्लोपनाको कारण निकै कष्ट छ। न अस्पतालमा कुरा गर्न सक्छौँ, न घुमघाममा निस्किन सक्छौँ, यो त झेलखाना जस्तो छ हाम्रो लागि बाबु।'
सोसाइटी अफ नेपालिज प्रोफेसनल्स् यूकेले शनिबार लण्डनको वेलिंगमा आयोजना गरेको कार्यक्रममा प्रवासमा सेवानिवृत्त जीवनका चुनौति र अवसरहरुबारे चर्चा गरिएको थियो। कार्यक्रममा केही जानकारहरुको सोधमुलक प्रस्तुतीपछि कार्यशाला गोष्ठीको रुपमा चलेको छलफलको सेसनमा नेपालमा जन्मे हुर्केर विदेशिएको पहिलो पुस्ताको दुविधा माथि छलफल भयो।
बेलायतमा विशेषतः आर्मी पृष्ठभूमिबाट सेवानिवृत्त भएर यतै सेटल भएका वयोवृद्धहरुको जीवन यसैपनि कष्टकर अवस्थामा छ। अर्कोतिर अध्ययन तथा कामको शिलसिला बेलायत पसेर रैथाने बनेका दक्ष तथा अर्ध-दक्ष जनशक्ति पनि विस्तारै नयाँ पुस्ता उदाउँदै जाँदा बाँकी जीवन नेपालमा बिताउने वा बेलायतमै बस्ने भन्ने दुविधामा छन्।
कार्यक्रम आयोजकहरुले यस्तै अनुभुति र उपयुक्त भावी योजनामा केन्द्रित रहेर यो बहस छेडेका हुन्। अवसर र सुविधाका हिसावले आफ्ना सन्तानहरु यतै बरालिदा खुशी देखिए पनि भावना र मातृभूमिको मायाका हिसावले पुरानो पुस्ता भने नेपाल फर्किने कल्पनामै दिन बिताईरहेका हुन्छन। तर व्यवहारिक कठिनाई र परिस्थितीले उनीहरु त्यसो गरिहाल्न सक्ने अवस्था पनि छैन।
'पहिले यता (बेलायतमा) कसरी सेटल हुने भन्नेमा केन्द्रित उनीहरु अब आफ्नो पहिचान र नेपालकै नोस्टाल्जिया बोकेर मानसिक र कतिपय अवस्थामा सामाजिक हिसाबले पनि एक्लो महशुस गर्दै छन,' यूनिभर्सिटी कलेज लन्डनका लेक्चरर डा. तेजेन्द्र फेरालीले आफ्नो प्रस्तुतीमा भने।
'उनीहरुलाई नेपालमै बस्ने औधि मन छ तर यताको स्वास्थ्यजन्य लगायतका सेवा सुविधा र परिवार समेत त्याग्नु पर्ने र अर्कोतिर नेपालमा फेरी कसरी पेशागत तथा सामाजिक रुपमा जोडिन सकिन्छ भन्ने चिन्ता देखिन्छ,' आफ्नो रिसर्चको प्रस्तुतीमाथि फैरालीले भने।
नेपाली प्रवासीको तथ्य तथा इतिहास केलाउँदै अर्का अनुसन्धानकर्ता नारायण भट्टराईले बेलायतमै सेटल भएर बसेपनि सामाजिक रुपमा नेपाल सँगै जोडिएको तर्क प्रस्तुत गरे। 'एउटा फरक वातावरणमा जन्मे हुर्केको मान्छे दोहोरो पहिचान बोकेर विदेश बस्नुमा पिडा झल्किन्छ तर सबै परिस्थितीहरुले गर्दा नेपाल फर्किने वा यतै बस्ने भन्ने दुविधामा यो पुस्ता देखिन्छ,' भट्टराईले भने।
'नेपालमा श्रवणकुमारका कथाहरु सुनेर हामी हुर्कियौं, अबको हाम्रो नयाँ पुस्ता ती कथाका आदर्शतर्फ त नफ़र्किएला, त्यसकारणले पनि एउटा दिमागी अवस्थितीको सृजना आवश्यक छ,' अधिवक्ता तथा लेखक गोविन्द बेलवासेले भने। उनले कानुनी तथा नागरिकता सवालहरुमा आफ्नो खोजमुलक प्रस्तुतीको सारांश प्रस्तुत गरे।
कार्यक्रम संचालन समेत गरेका दिप गिरीले हाम्रो पुस्ता बिचमा परेको बताए। 'बुवाआमा लगायतको बृहत्तर परिवार नेपालमा छन्, सन्तानहरु यता छन। सामाजिक र आर्थिक कनेक्सन उता छ, कर्म यता छ,' उनले भने, 'हामीले यसैबीचको सन्तुलन र भविष्यको लागि पनि यस्तो छलफलको आवश्यकता महसुस गरेका हौँ।'
बेलायतमा समायोजनका क्रममा नेपाली ज्येष्ठ नागरिकहरुले भोग्ने गरेका भाषागत तथा समाजिक, सांस्कृतिक समस्याका साथै भावनात्मक र मनोवैज्ञानिक समस्या प्रमुख रहेको धारणा कार्यक्रमका सहभागीहरुले राखेका थिए।
बेलायतमै बसिरहेपनि सामाजिक रुपमा नेपालसँगको सम्बन्ध निरन्तर रहने तथा बेलायतमा समायोजन हुन अफ्ठ्यारो हुने गरेको उनीहरुको भनाइ थियो। बेलायतमा झन्डै ५ दशकदेखि बस्दै आएका मदन सिहं थापा, हरि सिंह थापा लगायतले आफ्नो जीवन अनुभुतीहरु सुनाएका थिए।