युरोपेली संसदले बेलायत युरोपियन युनियन (इयू)बाट बाहिरिनेसम्बन्धी सम्झौता अनुमोदन गरेको छ।
ब्रसेल्सस्थित युरोपेली संसदमा बुधबार भएको मतदानमा ६२१ सांसदले बहिर्गमन सम्झौता अनुमोदनको पक्षमा मत दिएका हुन्।
४९ सांसदविरूद्धमा उभिए भने १३ जनाले मत नदिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। बेलायतबाट प्रतिनिधित्व गर्ने ७३ जना सांसदले भने युनियन झण्डा प्रदर्शन गरेर इयूसँग बहिगर्मनको हर्षोल्लास गरे।
युरोपेली संसदका अध्यक्ष डेभिड सासोलीले मत परिणाम घोषणा गर्दै बेलायत ईयूबाट अलग्गिए पनि सधैं युरोपको भाग रहिरहने बताए।
बेलायतले ४७ वर्षदेखि सदस्य रहेको ईयूसँगको सम्बन्ध यही शुक्रबार राति ११ बजे त्याग्दै छ।
त्यसपछि ११ महिना ‘संक्रमणकाल’ रहनेछ।
युरोपियन कमिसन अध्यक्ष युर्सुला भोन डेर लियनले इयू र युके असल मित्र र साझेदारका रूपमा रहुन् भन्ने आफ्नो चाहना रहेको उल्लेख गर्दै भनिन्, ‘हामी सधैं युकेलाई माया गर्नेछौं, कहिल्यै टाढा हुने छैनौं। युरोप अमर रहोस्।’
ब्रिटिस संसदको तल्लो सदन हाउस अफ कमन्सले पनि ब्रेक्जिट सम्झौता पारित गरिसकेको छ।
ब्रेक्जिट सम्झौतामा भविष्यमा युके इयू नागरिकका अधिकार, उत्तरी आयरल्याण्ड सीमा व्यवस्थापन र बेलायतले ब्रसेल्सलाई पारपाचुके रकम भुक्तानी गर्ने सहमति छ। प्रधानमन्त्री बोरिस जोनसन संक्रमणकालभित्र इयूसँग खुला व्यापार सम्झौता गर्ने योजनामा छन्।