गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्ष पदमा कुल आचार्यले औपचारिकरूपमा उम्मेदवारी घोषणा गरेका छन्।
संघको वर्तमान उपाध्यक्ष समेत रहेका आचार्यले आगामी कार्यकाल २०१९–२०२१ का लागि अध्यक्ष पदमा उम्मेदवारी दिएका हुन्।
भूतपूर्व गोर्खा सैनिकहरूको बाक्लो बसोबास रहेको बेलायतको अल्डरसटस्थित एम्पायर हलमा घोषणासभामार्फत् आचार्यले आगामी अक्टोबर १५ देखि १७ तारिखसम्म काठमाडौंमा हुने संघको नवौं विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय अधिवेसनमा आगामी कार्यकालका लागि आफूले अध्यक्ष पदमा उम्मेदवारी दिने बताए।
‘आदरणीय अग्रजहरू, संसारभर रहनुभएका एनआरएनकर्मी मित्रहरू तथा शुभचिन्तकहरूसँग सरसल्लाह गरी एनआरएन अभियानलाई नयाँ गति र दिशा दिने अठोटका साथ मैले केन्द्रीय अध्यक्ष पदमा उम्मेदवारी दिने निर्णय गरेको छु,’ आचार्यले भने,‘विगतमा झैं यो अभियानलाई सबै अग्रजहरू, मित्रहरू र शुभचिन्तकहरूको साथ, सुझाव र समर्थन पाउनेमा म विश्वस्त छु।’
उम्मेदवारी घोषणासभामा आचार्यले एनआरएनएलाई मौलिक दृष्टिकोण र ठोस प्रतिवद्धताका साथ अगाडि बढाउन भिजनरी नेतृत्व आवश्यक भएको बताउँदै संस्थालाई अझ गतिशील, सशक्त, संस्थागत र समावेशी बनाउने संकल्प समेत गरेका छन्।
उनले आफ्नो उम्मेदवारी घोषणा गर्दै १० बुँदे प्रतिवद्धतापत्र समेत सार्वजनिक गरेका छन्।