नेपाली डायस्पोरा साहित्य अन्तर्गत बेलायतको पुरानो साहित्यिक संस्था नेपाली साहित्य विकास परिषद यूकेको आयोजनामा लन्डनमा एक कार्यक्रम सम्पन्न भएको छ। नेपाली नयाँ वर्षको अवसर पारेर बिहिबार साँझ वेम्बलीमा आयोजित साहित्य सन्ध्या कार्यक्रममा कविता वाचन तथा साहित्य पुरस्कार वितरण गरियो।
जस अनुसार कवि तथा समाजसेवी ध्रुब केसी र हरिविभोर कार्कीलाई परिषदको एन. एल. डी.सी. दोश्रा स्वर्णपदक पुरस्कार तथा घनबहादुर थापा मगर र हरिसिंह थापालाई नेपाली साहित्य पुरस्कारबाट सम्मानित गरियो ।
स्वर्णपदकको राशी ५० हजार रूपैयाँ छ भने साहित्य पुरस्कारको राशी २० हजार।
पदक तथा सम्मानपत्र बेलायतका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदीले वितरण गरे । सम्मान पत्र परिषदका निवर्तमान अध्यक्ष तथा बिबिसि नेपाली सेवाका पुर्व प्रमुख कवि खगेन्द्र नेपाली र उपाध्यक्ष वीरेन्द्र कुँवरले वाचन गरेका थिए।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका राजदूत डा.सुवेदीले कवि कोमल प्रसाद श्रेष्ठ मल्लको "म देश लेख्छु" कविता संग्रह कृति लोकार्पण पनि गरेका थिए ।
कार्यक्रममा राजदूत डा सुवेदी, बुद्धिजिवी डा राघवधिताल ( ओबिइ) , यति एशोसिएसन अध्यक्ष शशीधर नेपाल लगायतले शुभकामना मन्तव्य राख्दै प्रवासमा नेपाली भाषा तथा साहित्यको प्रबर्द्धनमा परिषदको ठूलो भुमिका रहेको भन्दै प्रसंशा गरे ।
सो अवसरमा वसन्त रायक्षेत्री,,घन बहादुर थापामगर,वासु शर्मा, श्रीमती शर्मा,विस्वासदीप तिगेला,मनोज अन्जान, रेशम अर्याल, ध्रुब केसी,दुत पुन, खगेन्द्र नेपाली, डा.सुधा श्रेष्ठ, केशव पुडासैनी, कोमल प्रसाद श्रेष्ठ मल्ल, माधव प्रसाद पौडेल, ज्ञानेन्द्र रावत, डम्बर सिँह लगायतका स्रष्टाले कविता वाचन गरेर सुनाए ।
परिषदका अध्यक्ष सुरेशजङ शाहको सभापतित्वमा सम्पन्न कार्यक्रममा उपाध्यक्ष रेशम अर्यालले स्वागत मन्तव्य दिए भने ,कार्यक्रम सन्चालन वरिष्ठ सहअध्यक्ष कोमल प्रसाद श्रेष्ठ मल्ल र महासचिव डा.सुधा श्रेष्ठले गरेका थिए ।