दलाल मार्फत भिजिट भिजामा आएका २२ नेपालीको युएईमा विचल्ली भएको छ। दलालहरुले आकर्षक रोजगारीको प्रलोभनमा पारि दुई महिना अघि ती नेपालीहरुलाई युएई ल्याएका थिए।
हेटौंडाका दिनेश मोक्तान, ईमानसिंह सेनतेन र काठमाडौमा पाण्डुरा मेनपावर एजेन्सी चलाएर बस्ने केशव थापाले उनिहरुलाई भिजिट भिजामा युएई ल्याएका हुन। राम्रो काम र तलब हुने आश्वासन देखाई आफुहरुलाई युएई ल्याएर विचल्ली बनाएको पीडित नेपालीहरुले बताए। उनीहरुले आफुहरुलाई विचल्लि बनाउनेहरुको विरुद्ध शुक्रबार नेपाली दूतावास युएईमा निवेदन समेत दिएका छन्।
विचल्लीमा परेका २२ नेपालीहरुको संयुक्त दस्तखत रहेको निवेदनमा काठमाडौको धुम्बाराहीस्थित पान्डोरा ईनकर्पोरेसन प्रालिका कार्यकारी निर्देशक केशव थापा, रमेस कुँवर र दिनेश लामाले रोजगारीको प्रलोभनमा पारी आफुहरुलाई युएई ल्याएर विचल्ली पारेको उल्लेख छ। उनिहरुले दलाल उपर आवश्यक कार्वाही प्रक्रिया अघि बढाई घर फिर्ताका लागि हवाई टिकट र दलाललाई बुझाएको रकम फिर्ता गाराईदिन आग्रह गरेका छन्।
श्रावण महिनाको विभिन्न मितिमा ल्याईएका उनीहरुलाई एउटा साँघुरो कोठामा जबर्ज्स्ति कोचेर राखिएको थियो। ८ जना मात्रै बस्न मिल्ने कोठामा जबर्ज्स्ति २२ जना राखिएको र खाना समेत नदिएको गोर्खाका चन्द्रबहादुर गुरुङले बताए। गुरुङले केशव थापालाई २ लाख ७० हजार बुझाएको बताए। त्यस्तै मोरङका विष्णु कुमार खवासले २ लाख ५० हजार नगद सहित १६ सय डलर बुझाएको बताए। यसैगरी सबै नेपालीबाट दलालले २ लाख देखि ५ लाखसम्म लिएको पीडितहरुले बताए।
उद्दारमा जुट्यो एनआरएनएनेपाल आदिवासी जनजाति महासंघ युएईका अध्यक्ष पासाङ शेर्पाले शुक्रबार दिउँसो अजमानमा नेपाली विचल्ली परेको खबर पाउनसाथ एनआरएनए सहित स्थानीय नेपाली संघसंस्थासंग समन्वय गरेका थिए।
शेर्पा सहित नेपाली सोसल क्लबका अध्यक्ष शालिक सुवेदी , नेपाल पत्रकार महासंघ युएईका अध्यक्ष भुपराज बस्याल , नेपाल प्रेस युनियन युएईका अध्यक्ष नारायण भुर्तेल सहितको टोलि शुक्रबार स्थलगत अध्यनका लागि गएको थियो। पीडितहरुको अवस्था बुझेर फर्किए लगत्तै उक्त टोलिले नेपाली दूतावासलाई जानकारी गराएको थियो। सोही दिन साँझ नेपाली दूतावासका श्रम सहचारि हिरा यादव र एनआरएनए युएईका केन्द्रिय सदस्य दिनेश पराजुलीले क्याम्प भ्रमण गरेका थिए। एनआरएनएले तत्काल पीडितहरुलाई ग्याँस, पानी, तेल, दाल, चामल लगायतको खाद्यान्न सहयोग गरेको थियो।
दूतावासका श्रम सहचारी हिरा यादवले पीडित नेपालीहरुको यथाशीघ्र उद्दारका निम्ति पहल गर्ने बताएकी थिईन।
क्याम्पबाट निकालिए पीडितशुक्रबार दूतावासका प्रतिनिधि , एनआरएनए र पत्रकारहरु पुगेपछि केहि राहत महसुस गरेका पीडित नेपालीहरु शनिबार क्याम्पबाटै निकालिएका छ्न।
दलालले २ महिना देखि क्याम्पको भाडा नतिरेकाले क्याम्प व्यवस्थापनले उनिहरुलाई शनिबार दिउँसो क्याम्पबाट निकालेको हो। क्याम्पबाट पीडितहरु निकालिएपछी एनआरएनए युएईका अध्यक्ष रमेश श्रेष्ठ र दिनेश पराजुलीले उद्दार गरि दुबईको देरा स्थित अर्को लेबर क्याम्पमा लगेर राखेका छन् ।
शनिबार मध्यरातसम्म श्रेष्ठ र पराजुली पीडितहरुको उद्दारमा जुटेका थिए। पीडित नेपालीहरुलाई आज (आईतबार) नेपाली दूतावासमा पठाउने श्रेष्ठले बताए। विभिन्न प्रलोभनमा पारी नेपालीहरु विदेश ल्याएर विचल्ली बनाउने दलालहरुलाई कानुनी कार्वाहीका लागि पहल गर्ने उनले बताए।