नेपालमा स्थानीय निकाय निर्वाचनको नतिजासँगै राजनीतिक सरगर्मी बढिरहेको छ। सोही समयमा यता प्रवासका नेपाली समुदायबीच एउटा फरक तरिकाले माहौल तातियो।
कुनै सांगीतिक कार्यक्रम या राजनीतिक कार्यक्रम नभएर राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महाविर पुनसँगको अन्तर्क्रियाले विशेष गरी युरोपका विभिन्न शहरमा रहेका नेपालीबीच छुट्टै माहोल बनेको थियो।
२०२२ अप्रिल १ बाट राष्ट्रिय आविष्कार केन्द्रबारे युरोपभरि छरिएका नेपाली समुदाय, विभिन्न संघ संस्था तथा विश्वविद्यालयमा अन्तर्क्रिया भए। बेलायतको लण्डनबाट शुरू भएको महाविर पुनको युरोप यात्रा अप्रिल २४ मा पोर्तुगलको लिसबन शहरसम्म जारी रह्यो।
युरोपियन देश अझ भनौं, रहर र बाध्यताले विदेशिने नेपालीको रोजाइमा परेको गन्तब्य हो, पोर्तुगल।
यतिबेला पोर्तुगलमा चालिस हजारभन्दा बढी नेपालीको बसोबास छ। पोर्तुगलमा नागरिकता पाएपछि अन्य आकर्षक कमाइ हुने देशमा जान सहज भएको भन्दै रोजाईको देश बन्दै गएको छ।
पोर्तुगलमा नेपालीको बसोबास हुन सुरू गरेको ३ दशक नाघिसक्यो।
यो अवधिमा धेरै राजनीतिक मन्त्री र नेताहरू आए। आशन गरे, भाषण गरे, गए। त्यस्तै धेरै कलाकार आए। गीत गाए, कतिले नचाए, कतिले हँसाए, गए। तर मे २४, २०२२ मा पोर्तुगलमा भएको एउटा कार्यक्रम नेपाली समाजले सधै सम्झिरहनेछ।
लिजवनस्थित जिनासियो हलमा छुट्टै माहोल थियो। त्यहाँ कुनै सांगीतिक कार्यक्रम थिएन। न त कुनै होहल्ला नै। त्यहाँ महाविर पुनलाई भेट्न, उनका विचार, योजना सुन्न र राष्ट्रिय आविष्कार केन्द्रको बारेमा बुझ्न सबै शान्त र ब्यग्र प्रातिक्षारत थिए।
युरोप भ्रमणमा रहेका पुनलाई पोर्तुगल ल्याउने व्यवस्था म्याग्दी प्रवासी नेपाली संघ (मोना) ले मिलाएको थियो। दिउँसो ३ बजेबाट सुरू भएको कार्यक्रममा पोर्तुगलका लागि नेपाली पर्यटनदूत, एनआरएनएका अध्यक्षलगाएत बिभिन्न संघ संस्था, ब्यवसायी र पोर्तुगलमा रहेका आम नेपाली समुदायको उपस्थिति थियो।
कार्यक्रममा महाविर पुनले आफ्ना विगत, वर्तमान र भविष्यमा गर्न लागेका योजना तथा कार्यक्रमका बारेमा श्रब्य दृश्यमार्फत जानकारी गराए।
उनले आविष्कार केन्द्र खोल्नुपर्ने कारण, आविष्कार केन्द्रको उद्धेश्य, हाल भइरहेका काम र आगामी योजनाबारे करिब ३ घण्टासम्म जानकारी दिए। उनले सहभागीले राखेका जिज्ञासाको जवाफ समेत दिएका थिए।
केही वर्ष अगाडिसम्म बिभिन्न चाडपर्वको बेला राष्ट्रिय कलाकारहरू आफ्नो प्रस्तूती दिन विदेश आउने गर्थे। तर अहिले विदेशमा पनि वर्ग, सम्प्रदाय, धर्म र जात जस्ता कुराले गाँज्न थालिसकेको छ। यस्तो बेला बिभिन्न जातीय समाज, जिल्ला समाजले आफ्नो अनुकुलता अनुसार कलाकार बोलाउन थाले। फलस्वरूप कलाकारको विदेशमा हुने प्रस्तूतीमा सहभागिता कम देखिन थाल्यो।
विभिन्न दलका नेता आफ्ना कार्यकर्ता भेटघाट र भेला प्रशिक्षणमा आउँदा उक्त दल विशेषका कार्यकर्ता मात्र सहभागी हुन थाले
प्रवासमा रहेका सबै नेपाली र नेपालप्रति चासो राख्नेलाई समेट्न सक्ने कार्यक्रम आजकल खडेरी परिरहेको बेला महाविर पुनको कार्यक्रमले सबैलाई एकतृत पार्न सफल भयो।
युरोप भ्रमणमा रहेका पुनलाई बेलायत, पोल्यान्ड, वार्सादेखि पोर्तुगलसम्मको कार्यक्रममा उनलाई सुन्न, आविष्कार केन्द्रका बारे जानकारी लिन र एकपटक महाविर पुनलाई प्रत्यक्ष भेट्न हजारौं प्रवासी नेपाली उत्साहित देखिए।
पुनले यो भ्रमणलाई दान उठाउने भ्रमण नभएको भनिरहँदा पनि स्वःस्फूर्त आफूले सकेको सहयोग गर्ने प्रसस्त भेटिए।
जहाँजहाँ महाविर पुगे, त्यहाँ छुट्ट्याइएको समय कम भयो। धेरै जनाले चाहना हुँदाहुँदै पनि उनलाई भेट्न पाएनन्। भ्रमण र भेटघाटको कार्यक्रम आयोजकले नै बनाए। खाने बस्ने सबै खर्च बोलाउनेले नै व्यहोरे।
न कुनै जम्बो टोली, न सरकारी कोषको दोहन न कुनै अनावश्यक जयकार। न त महंगा होटलको बसाई। उनी एक्लै आए, एक्लै अहोरात्र खटिए, दिन रात नभनि हरेक सेकेन्ड समय उनले सदुपयोग गरे, धेरैभन्दा धेरै ठाउँका कार्यक्रममा पुग्न सफल भए।
जसले उनको कार्यक्रमको संयोजन गरे ती सबै महाविर पुनको ब्यक्तित्व देखेर अचम्मित बने। महाविरले महंगा होटलमा बस्न चाहेनन्, विदेशी रक्सी र खाना खान खोजेनन्, न त उनले खादा, माला र आशन अनि अनावश्यक भाषणमा समय खर्चिए।
‘महाविर नामका मात्र महाविर होइन, ब्यवहारमै साच्चै महान ब्यक्ति रहेछन्’, कार्यक्रममा सहभागीले भन्ने एउटै वाक्य हो, ‘उनी धेरै सुन्ने, थोरै बोल्ने, अत्यन्तै मिलनसार, सरल रहेछन्।’ उनको सादगी जीवनशैलीको धेरैले खुलेरै प्रशंसा गरे।
यति लामो युरोप यात्रामा निस्केका उनलाई धेरै ठाउँ घुमौं, रमाइलो गरौं, नयाँ खाना चाखौं भन्ने भाव कतै देखिएन। अत्यन्त कम समयमा कसरी धेरै भन्दा धेरै नेपाली माझ पुगेर आविष्कार केन्द्रबारे जानकारी गराउँ र धेरैभन्दा धेरै अन्तरक्रिया गरौं भन्ने एकमात्र उनको उद्धेश्य थियो।
उक्त कार्यक्रममा महाविर पुनले आजभन्दा २२ वर्ष अगाडि सुरू गरेको म्याग्दीको नागी भन्ने ठाउँको वायरलेस इन्टरनेटदेखि कोरोना संक्रमणका बेला आविष्कार केन्द्रले खेलेको भूमिकाको बारेमा जानकारी गराए।
आविष्कार केन्द्र शहरी भेगमा रहेका, पढेलेखेका र सम्पन्न ब्यक्तिलाई मात्र समेटेर अवसर प्रदान गर्ने नभएको भन्दै उनले नेपालभरि छरिएका सिर्जनशील क्षमताका जो कोही ब्यक्तिको साझा र आफ्नै संस्था भएको कुरा प्रस्ट पारे।
आविष्कार केन्द्रमा केही आविष्कार गर्न चाहनेले दिन रात चौबिसै घण्टा काम गर्न पाउने ब्यवस्था छ। ठूला ठूला मेसिनरी पार्टपूर्जा उत्पादन गर्ने मात्र नभइ साना तिना घरेलु उपयोगका सामान र कृषि औजारसम्म बनाउन पाइने आविष्कार केन्द्रको उद्धेश्य देशका युवालाई प्रोत्साहन गर्ने देशमै केही गर्न सहजिकरण गर्ने र युवा विदेस पलायन हुनबाट रोक्ने रहेको उनले प्रस्ट पारे।
संसारभरका नेपालीले चिनिसकेका तर नेपाल सरकारले उचित सम्मान र जिम्मेवारी दिन नसकेका महाविर पुन जस्ता राष्ट्रका गहना सबैका साझा सम्पत्ति हुन्।
महाविर पुन र उनले स्थापना गरेको राष्ट्रिय आविष्कार केन्द्रलाई सबैको सहयोग र हौसलाको खाँचो छ। सबैले आ-आफ्नो स्थानबाट यो अभियानमा जुट्न सके मात्रै आधुनिक र विकसित नेपाल निर्माणका लागि महाविर पुनले देखेको सपना साकार पार्न सहयोग पुग्नेछ।