पोर्चुगल युरोपियन युनियनको सेन्जेन देशहरूको समूहमा रहेको देश हो। पोर्चुगललाई विश्वकै सात औं शान्ति देशका नाममा पनि चिनिन्छ। भौगोलिक बनावट र हावापानी लगभग नेपालसँग नै मिल्छ।
समुन्द्र किनार पोर्चुगलमा छ भने हिउँ पर्ने हिमाल यहाँ छैन। नेपालभन्दा सानो देश जनसंख्या पनि नेपालको भन्दा कम छ।
पछिल्लो समय नेपाली युवाहरूको आकर्षक गन्तव्यको रूपमा पोर्चुगलले स्थान बनाएको छ।
यहाँका युवाहरू पनि कमाइका लागि युरोपका अन्य देश, अष्ट्रेलिया , क्यानडा लगायतमा जाने गरेका छन्। त्यसैले पनि यहाँ झन् युवाहरूको माग बढी छ।
पोर्चुगलका सरकारी कार्यालयमा धेरैजसो पाको उमेरका मानिसहरू मात्र देखिन्छन्।
देशको घट्दो जनसंख्या र युवा पलायनका कारण यहाँ आप्रवासीहरूलाई सहज तरिकाले बस्न दिइन्छ। यत्ति मात्र होइन पोर्चुगलमा यतिबेला आप्रवासीलाई रेसिडेन्स कार्ड र नागरिकता सहजै पाइने हुनाले नेपाली युवा यहाँ आउने गरेका छन्।
नेपालबाट १८ वर्ष पुगेका युवा मात्र होइन पछिल्लो समय ५० वर्ष काटेका मानिसहरू पनि यहाँ काम गर्न आएका छन्।
पोर्चुगलमा आएपछि तीन वटा कागजात बनाउनु पर्ने हुन्छ। अनि काम पनि पाइन्छ। यहाँ कर तिर्दै गयो भने १८ महिनादेखि २२ महिनाभित्र बस्नका लागि अनुमति टिआरसी पाइन्छ।
२ वर्ष समयावधि भएको टिआरसी पाएपछि परिवारका सदस्यहरूलाई पनि पोर्चुगल ल्याउन मिल्छ।
पोर्चुगलमा पुगेपछि बालबालिकाको स्वास्थ्य र शिक्षा यहाँकै सरकारले ब्यहोर्छ।
टिआरसी भएको ५ वर्षमा यहाँको सरकारको स्थायी बसोबासको लागि अनुमति दिन्छ।
५ वर्षमा नै यहाँ बसोबासका लागि कार्ड पाइने भएपछि नेपाली युवाको आकर्षण छ। यहाँ आउन शैक्षिक योग्यता चाहिँदैन। काम गरेर नै स्थायी कार्ड पाइन्छ।
विभिन्न कारणले युवाहरू यता आउन लोभिए पनि यहाँ आएपछि भने दु:खको पहाड छ। यहाँ आएको २ वर्ष कार्ड पाउनका लागि दु:ख गरेर काम गर्नुपर्छ।
यहाँ आएको ३ दिन भित्रमा लिगल इन्ट्री पेपर बनाउनुपर्छ। त्यसपछि भ्याट नम्बर बनाउनु पर्छ। योसँगै सामाजिक सुरक्षा नम्बर लिनुपर्छ। यो नम्बर दिएपछि ठेगान प्रमाणित बनाउनु पर्छ। यति कागजात बनाएपछि काम पाउन सहज हुन्छ। स्थानीय भाषाको ज्ञान छैन भने, काम पाउन गाह्रो छ। भाषा सिकेर सीप छैन भने त्यो पनि यहाँ टिक्न मुस्किल छ।
पोर्चुगलको न्यूनतम तलब भनेको ७ सय ६० हो। यसबाट ११ प्रतिशत सरकारलाई कर तिर्नुपर्छ। यहाँ नेपालीले यो न्यूनतमदेखि २५ सय युरोसम्म कमाउँछन्। पोर्चुगलमा पनि काठमाडौंमा जस्तै कोठा पाउन गाह्रो छ।
पोर्चुगलको अवसर नभएको भने होइन, यहाँ भाषा र सीपलाई प्राथमिकतामा राखिन्छ। सीप छैन भने ऋण काटेर पनि कोही युवा यहाँ नआउनुहोला।