नेपालमा जब जब ठूला विपत्ति आइपर्छन् तब एउटा कारूणिक दृष्य देखिन्छ। त्यो हो- लाखौं मानिसरु निकै कष्टपूर्ण तरिकाले एकैपटक गाँउ फर्किरहेका हुन्छन्। चाहे चाडबाड् होस् या कुनै प्राकृतिक विपद ठूला शहर प्राय खाली हुन्छन्।
चाडपर्वको समयमा हजारौं मानिस महिनौं अगाडिदेखि गाडीको टिकट काट्न खोज्दा पनि नभेटिएपछि बसको छत, ट्रकको पछाडि होस् वा ट्र्याक्टरको टेलरमा जोखिमपूर्ण यात्रामार्फत् आफ्नो पुर्खौली थातथलो निस्कन्छन्।
हरेक मानिसको चाहना हुन्छ, मिठो खाँउ, राम्रो लगाउँ, सुखसयलको शान्त र आनन्दित जीवन बाँचौ। मानिस हरदिन केही न केही नयाँ कामको अनुभूति गर्न आतुर हुन्छ। समाजमा विभिन्न वर्ग र समुदाय छन्। कसैले ठूलो सपना देख्लान् कसैले सानो तर सबै आफ्नो क्षमताले भ्याएसम्म र सम्भव भएसम्म सुखी जिन्दगी जिउने अभिलाषा राख्छन् जुन स्वभाविक पनि हो।
मानिस यति महत्वकाङ्क्षी बनिसक्यो कि, ऊ सुखसयल र सपनाको जिन्दगी जिउने आशामा आफू जन्मेको जन्मभूमी, जन्मेको ठाउँ त के आफ्नो देश नै छाड्न पनि कुनै संकोच मान्दैन। सक्ने र धन सम्पत्ति हुने पहुँचवाला त सपनाको संसार खोज्न सात समुन्द्र पारी पनि पुगे होलान्। मध्यम सपना देख्नेहरू पनि भौतिक सुखको खोजीमा शहर पसे, कमाए, घर घडेरी जोडे अनि बाहिरी आँखाले नियाल्दा निकै सफल अनि रवाफको जीवन बाँच्दैछन्।
मानिस आफूसँग भएका हजार थोकमा सन्तुष्ट बन्नुभन्दा आफूसँग नभएको एउटा चिजको खोजी र प्राप्त गर्ने अभिलाषामा सधैं दौडिरहन्छ। हुने खाने, पढेलेखेका शहर पसे, कमाए, रमाए अनि भौतिक उन्नति गरे भनेर गाउँको एउटा गरिब पनि शहर पस्ने सपना बुन्छ। शहर पस्ने, धेरै पैसा कमाउने अनि जहान परिवारसँगै एउटा स्वप्निल जिन्दगी जिउने सपनाले ऊ आफू जन्मिएको थलो छोडेर शहर भासिन्छ।
शहर पस्दा ऊसँग न कुनै विशिष्ट क्षमता हुन्छ, न उच्च पढाई लेखाइ नै। केही गर्नको लागि पूँजि पनि हुन्न। सुरूका केही समय त ऊ शहरको भब्यता र झिलिमिलीसँगै हराउला, गगनचुम्बी महल र फराकिला बाटो भित्र आफ्नो पनि सुन्दर भबिष्यको नक्सा मनमनै कोर्ला। तर जब ऊ शहरसँग अभ्यस्त र परिचित हुँदै जान्छ निराशा र शून्यता बाहेक उसले अरु केही भेट्दैन।
छन त शहरमा गगनचुम्बी महल पनि छन्, करोडौं मूल्य पर्ने विदेशी स्टाइलका बिलाशी अपार्टमेन्ट र सुविधा सम्पन्न हाउजिङ पनि छन्। तर ऊ सुकुम्बासी बस्तिमा बस्छ जहाँ कुनै पनि आधारभूत सुविधा छैनन्। न त घर जग्गाको लालपूर्जा नै छ। उ एउटा साँघुरो अनि अध्यारो कोठा भाडामा लिएर स-परिवार कोचिएर बसेको छ, घर मालिकलाई कसरी डेरा भाडा तिर्ने उसलाई सधैं पिरलो हुन्छ।
छन त शहरमा तारे होटेल छन्, दिल खोलेर खान, बस्न, रमाउन, नाच्न, उफ्रिन अनि उन्मत्त भएर मन बहलाउन मिल्ने सयौँ ठाउँ छन् । तर पनि बिहान बेलुका दुई छाक कसरी जोहो गर्ने ऊ त्यहीँ ध्याउन्नमा लागेको छ। हप्ता दिनमा एकपटक केटाकेटीलाई एक छाक पेटभरी मासुभात खुवाउन सक्ने गच्छेसमेत उसको छैन ।
छन त शहरमा मरेको मान्छे ब्यूझाउनसम्म सक्ने हस्पिटल छन्, पैसा हुनेका घरमा नाम चलेका डक्टर आफैं हाजिर हुन्छन्। उसैको नाम भजेर उसैको भोटले सत्तामा पुगेका नयाँ महाराजाहरु सामान्य पेट दुख्दा पनि विदेशी सुविधासम्पन्न हस्पिटलमा जँचाउन पुग्छन् तर अफसोच् शहर पुगेपछि औषधि उपचारको अभावमा अकालमा मर्न नपर्ला भनेर आएको उसले बिरामी हुँदा आराम त के सिटामोल पनि किन्ने हैसियत राख्दैन।
छन त शहरमा नुनदेखि सुनसम्म पाइने भब्य सुपरमार्केट छन्, विदेशमा जस्तै पढाई हुने महङ्गा र स्तरीय स्कुल/कलेज छन। विलासी गाडी र ती गाडी हाँक्न मिल्ने सडक पनि छन्। महिनामा करोडौं कमाउने ब्यापारी छन्, लाखौं कमाउने कर्मचारी पनि छन्।
तर अफसोच् ‘आकाशको फल आँखातरि मर’ भने जस्तो शहरमा गगनचुम्बी महल र ऐस आरामको जिन्दगी त उसले प्रसस्तै देख्यो। तर न उसले त्यो जिन्दगी भोग्न पायो न त उसका सन्तानले नै। सुखी र आनन्दित जीवनको सपनाले उसलाई शहर त डोहोर्यायो नै, न अब ऊ फेरि गाउँ फर्कन चाहन्छ, न शहरमा सोचेजस्तो जीवन बाँच्न नै।
शहर पनि अचम्मको चिज रहेछ। हुनेसँग सबथोक छ। त्यहीँ स्वर्ग छ तर नहुनेसँग केही पनि छैन। आफ्नै देश भित्रै शरणार्थी जस्तो बन्नुपरेका कथा कम पिडादायी छैनन यहाँ। आफ्नो जन्मथलो छोडेर भासिनुनै थियो भने बरू अरबका मरभूमीमा भासिएको भए केही सुख र उपलब्धि हुन्थ्यो कि! आफ्नै देशमा ऊ झन पीडित बनेको छ।
भुईँचालो आँउछ सबैभन्दा पहिला उही पीडित हुन्छ। बाढी-पहिरो आउँछ सबैभन्दा पहिला उसैका घर भित्र पस्छ। रोगभोक सबैभन्दा पहिला उसैको छाप्रोमा पस्छ। कोरोना जस्तो महामारी आँउछ, सरकार लकडाउन गर्छ ऊ नै भोलिपल्टदेखि भोकै पर्छ । करोडपतिहरू उसको नामको राहत कुम्ल्याउँछन् उसको भागमा एक किलो चामल पनि नसिब हुँदैन। ऊ शहरमा भोकै पर्छ, बेसाहरा हुन्छ अनि उसलाई गाउँको सम्झना आउँछ, अन्ततः गाउँ फर्कन खोज्छ तर शासकहरू उसको बाटो छेक्छन्।
न उसको शहरमा आफ्नो कोही छ, न शहरसँग उसको कुनै साईनो नै। ऊ एउटा आम मानिस हो, एउटा सामान्य नागरिक हो। तर पनि शासन उसलाई दास जस्तो ठान्छ । चुनावमा भोट दिनुबाहेक उसको न त शासकसँग कुनै सम्बन्ध छ, न सत्ताले उसलाई मान्छे भएर बाँच्न पाउने न्यूनतम आधारभुभूत अधिकार सुनिश्चित गरेको छ। सुख के हो उसलाई थाहा छैन।
न त दु:खमा साथ दिने, हात थामिदिने, दुःख र अफ्ठेरोमा साथ दिने सरकार छ।
एउटा मानव भएर जन्मिनुको अर्थ के श्वास फेर्नु मात्रै हो? एउटा नागरिक हुनुको दायित्व चुनावमा भोट हालेर नेतालाई सत्ताको बागडोरसम्म पुर्याउने भर्याङ मात्र बन्नु हो त? आफ्नै जन्मभूमिमा श्रम र पसिना बगाएर सरकारलाई कर तिरेर कमसेकम आधारभूत आवश्यकता राज्यले ग्यारेन्टी गरेको छ, म भोकै मर्दिनँ, मेरा बच्चाले आधारभूत शिक्षा निःशुल्क पाउँछन् र म रोग लागेमा उपचार अभाबमा छटपटिएर मर्नु पर्दैन भन्ने ग्यारेन्टी सरकारले हर नागरिकलाई दिलाउनु सरकारको दायित्व हो कि होइन? देश संघीयतामा गइसकेपछि सबै जनतालाई आफ्नै राज्यमा जिउनसक्ने र सामान्य जीवनयापन गर्नसक्ने वातावरण बनाउने काम सरकारको हो कि होइन?
गाउँमा उर्वरभूमी बाँझै छन्, शहरमा लाखौं मानिस भोकै छन्। यो लेखको आशय आम मानिस शहर नपसुन् भन्ने होइन। तर शहरमा पसेर पनि कुनै सुख सुविधा भोग्न पाईँदैन, चाहे भूकम्प जाँदा होस् या कोरोना कहरमा, भोलिपल्टै राहतको लाइनमा उभिनुपर्छ भने शहर-शहर भनेर किन मरिहत्ते गर्नू?
फेरि एकपटक शहरले के दियो र गाउँमा के थिएन समिक्षा गर्नु जरूरी छ। देशमा स्थानीय र प्रदेश सरकार बनेको पनि चार वर्ष भइसक्यो अब त्यो निष्ठुरी शहर भासिनुभन्दा आफ्नै पाखापखेरोमा पौरखी पाखुरा बजार्नेतर्फ सबैले सोच्ने हो कि?