पछिल्लो समय नेपालीको आकर्षक गन्तब्य युरोपीयन मुलुक पोर्चुगल बनेको छ। पोर्चुगलप्रतिको आकर्षण बढ्नुमा यहाँको कमाई र आरामदायी बसाई होइन।
न यहाँ अरू युरेपीयन मुलुकको जस्तो आकर्षक कमाई छ। नत यहाँ बसाई नै राम्रो छ। यहाँको मुख्य आकर्षण भनेकै टिआर हो।
टिआर पाएपछि आफ्नो परिवार ल्याउन पाइने, पिआर र पासपोर्ट पाएपछि अरू युरोपीयन मुलुकमा सहजै काम गर्न पाइने भएकाले धेरैको रोजाईमा पोर्चुगल पर्दै आएको छ।
यहाँ आएको २/३ वर्षसम्म हुने दुःख सास्ती र हन्डरका बारेमा पहिल्यै जानकारी हुने भए नेपाली यहाँ आउन हिचकिचाउँथे। तर यहाँ आएपछि न उनीहरू नेपाल फर्कन सक्छन् नत यहाँ भने जस्तो काम र दाम पाउँछन्। तै पनि कार्ड बनेको ५ वर्ष पछि पासपोर्टको एप्लाई र पासपोर्ट पाएपछि अन्त कमाई गर्ने आसमा ६/७ वर्ष कुर्नुको कुनै विकल्प हुन्न।
यती भन्दै गर्दा पोर्चुगल खत्तम छ, यहाँ केही छैन भन्न खोजिएको होईन। दुःख र मेहनत गरेर कमाउने पनि प्रसस्तै छन् पोर्चुगलमा। यद्यपी ९० प्रतिशतभन्दा बढी नेपाली पासपोर्ट नबनेसम्म यहाँ सर्भाईव हुने र त्यसपछि अरू मुलुकमा गएर कमाउने आसमा बसेका छन्।
त्यसै पनि रोजगारको कमै अवसर भएको यहाँको मुख्य आम्दानी पर्यटन क्षेत्र नै हो। यहाँका होटल, रेस्टुरेन्टमा अधिकांस नेपालीले काम गर्ने गरेका थिए। विकाससँगै रोजगारीको अवसरमा अगाडि बढेको पोर्चुगललाई कोरोना महामारीले ठूलो असर गर्यो। सबैभन्दा ठूलो आम्दानीको स्रोत पर्यटन क्षेत्र ठप्प भयो। यो सँगै होटल, रेस्टुरेन्ट, गेस्टहाउसलगायत साना ठूला व्यवसाय बन्द भयो। काम गर्ने ठाउँ बन्द भएपछि होटल रेष्टुरेन्टमा सेफदेखि सफाईसम्मको काम गर्ने नेपालीको रोजी रोटी खोसियो।
रोजी रोटी खोसिएसँगै कोही फरक पेसा अपनाउन थाले। कसैले घरमै मःमः बनाएर बेच्न लागे। कसैले कुखुराको मासु, बंगुरको मासु बेच्न थाले भने कोहीले साधेको अचार बनाएर बेच्न थाले। कसैले समोसा हटविङ्स बनाएर बेचे भने कसैले मास्क बनाएर बिक्री गर्न थाले। मेहनती हातहरू केही न केही गरेर बसे। कोही भाषा सिक्न र कोही सिप सिक्न र सिकाउन थाले।
केही दिनभरी सामाजिक सञ्जालमा बसेर नयाँ नयाँ मान्छेलाई म्यासेज गर्ने अनि विभिन्न प्रलोभन देखाएर ठगी गर्न थाले।
को- को कसरी ठगिए?
पोर्चुगलमा बसेका एक जनाले फेसबुकमार्फत साईप्रसका ४ नेपालीलाई यति रकम खर्च गर्ने हो भने पोर्चुगल ल्याईदिन्छु भने।
फेसबुक प्रोफाइल हेर्दा पोर्चुगलको एउटा नेपाली सामाजिक संस्थामा सहयोगीको रूपमा काम गरिरहेका रहेको देखेपछि उनीहरूले विश्वास गरे। पैसा पठाइदिए।
पैसा पठाए लगत्तै उनले झुलाउन थाले। आज भोलि भन्दा भन्दै उनले महिनौं झुलाए। त्यसपछि मात्र आफूहरू ठगिएको भनेर थाहा पाए। अहिले पैसा पाउन हारगुहार गरिरहेका छन्।
म्याग्दीका २ जना पुन दाजु भाइलाई पोर्चुगलबाट एक जना महिलाले फेसबुकमार्फत कुरा गर्न थालिन्। उनीहरूले म्यासेजमै लामो कुराकानी गरे। पोर्चुगलका बारेमा जानकारी लिए, आफ्ना बारेमा बताए। अझ भिडीयोमा पोर्चुगलका दृष्य हेरेपछि आफूहरू पनि आउन चाहेको भने। उनीहरूलाई ती महिलाले यहाँ ल्याईदिने तर जति सक्दो चाँडो २ लाख रूपैयाँ जम्मा गर्न भनिन्।
उनीहरूले पनि पोर्चुगल जाने आशमा उनले भनेको ठाउँमा पैसा पुर्याए। तर जब उनीहरूले पैसा पठाए त्यसपछि सम्पर्क हुन छोड्यो। १/२ महिनापछि मात्र उनीहरूलाई आफू ठगिएको थाहा पाए। अहिले पैसाको लागि उनीहरू हार गुहार गर्दैछन्।
पर्वतका लक्षमण कृषि कामका लागि पोर्चुगल आउने रहर गरे। यसैक्रममा उनले फेसवुकमार्फत वुटवलबाट आएर लामोसमयसम्म पोर्चुगल बसेका एक जनाको सम्पर्कमा आए। उनीहरू दुई बिच कुराकानी भयो। उनले कृषिमा पोर्चुगल ल्याउने आफू एजेन्ट भएको बताए। लक्ष्मणले विश्वास गरे। आफ्नो पासपोर्टको कपि पठाए। त्यसपछि ती एजेन्टले पोर्चुगल आएपछि बन्ने कागजपत्र (लिगल इन्ट्री, फिनान्स, सोसीयल) सवै कागजपत्र वनाएर नेपाल पठाए अनि तत्काल ८० हजार रूपैंयाँ हाल्न लगाए।
कागजपत्र नै हात परिसकेपछि लक्ष्मणले तत्कालै उनले भनेको रकम पठाइदिए। पैसा पठाएको केही समयपछि नै ती व्यक्ति सम्पर्कविहिन भए। फेसबुकमा पनि उनलाई ब्लक गरेछ। पछि बुझ्दै जाँदा ती सबै कागजपत्र नक्कली रहेछन्। अनि मात्र आफू ठगिएको थाहा पाए।
यी त केही उदाहरणका पात्र मात्र हुन्। यस्ता अनगीन्ती घटनाहरू अचेल पोर्चुगलमा बढेका छन्।
बेईमानीको कमि छैन पोर्चुगलमा
पोखराबाट पोर्चुगल आएका एक नेपाली युवा नेपाली एजेन्टकै खेतीमा काम गर्न थाले। १४ लाख तिरेर यहाँ आएका उनी हल्का बिरामी भएको बहानामा कामबाट निकालियो। उनी लिजवन आए। आफूसँग पैसा नभएपछि उनले साहुलाई फोन गरे। तर फोन उठेन। ‘हामीले काम गरेको पैसा माग्न बारम्बार फोन गर्यौं तर मालिकले फोन नै रिसिब गरेनन्। बल्ल बल्ल धेरै दिन पछि केही पैसा हालिदिए’, उनले भने, ‘कस्तो होला परदेशको ठाउँमा पाए भने नेपालीले नेपालीलाई नै शोषण गर्दा रहेछन्।’
वाग्लुङकी चेलीलाई एक नेपालीले फेसवुकमार्फत आफू पोर्चुगलमा रहेको, आफ्ना कोही नभएको र हालसम्म विवाह नभएको भन्दै माया जालमा फसाए। आफूभन्दा २२ वर्ष कान्छीलाई प्रेमजालमा पारेर केही पैसा पनि मगाए। युवती अहले यता न उताकी भएकी छन्। ती फसाउने युवा पोर्चुगलको रातो पासपोर्ट लियर अन्य युरेपीयन मुलुकमा गएर परिवारसँग बसेका छन्। अझै पनि ती पुरूषले पीडित महिलाको फेसवुक चलाएर व्लाकमेलीङ गर्न छोडेका छैनन्।
यस्तै इराकमा काम गर्ने एक नेपालीलाई पेपर म्यारीज गरिदिन्छु भनेर पटक पटक गरि ७/८ लाख रूपैयाँ लिएर पोर्चुगलका नेपालीले न अहिले उनको काम गरिदिएका छन् नत फैसा नै फिर्ता दिएका छन्।
यस्तै घरमा श्रीमती बिरामी परेको बेला आफूले दुःख गरि कमाएको केही पैसा नेपाली मनि ट्रान्फरबाट पठाउँदा ३-३ महिनासम्ममा पनि घर नपुगेको र नेपालीकै ट्राभलबाट टिकट काटेर नेपाल जान लाग्दा उड्नसमेत नपाएको तितो एथार्थ पनि यहाँका नेपालीले भोग्दै आइरहेका छन्।
कसरी ठगि गर्छन् पोर्चुगलबाट
प्रायः पोर्चुगलमा ठगि गर्ने गुमनाम हुन्छन्। उनीहरू आफ्नो वास्तविक नाम, फोटो राखेर सामाजिक सञ्जाल बनाउँदैनन्। फेक नाम र फेक फोटो राखेर सामाजिक सञ्जालल बनाउँछन्।
सामाजिक सञ्जालमा सकृय नहुनेहरू म्यासेन्जरमा कुरा गर्छन्। पोर्चुगलका राम्रा र लोभलाग्दा समाचार सेयर गर्ने गर्छन्।
उनीहरू आफू बाहिर प्रचारित हुन नचाहने तर धेरैलाई ल्याएको कथा बनाउँछन्। विभिन्न लोभ लालच देखाएर पोर्चुगल ल्याउँछौ भनेर पैसा उठाउँछन्। उक्त पैसा आफ्नो खातामा सिधै नमगाएर अरूनै माध्यमबाट प्रमाण नहुने गरि लिन्छन्। त्यसपछि हराउँछन्।
यस्तैं कुनै सामाजिक संस्थामा कार्यरत रहेको भन्दै संस्थाको आडमा पैसा उठाएर भाग्नेसमेत गरेका छन्।
यस्तै मनि ट्रान्फरमा पनि यस्तै ठगी धन्दा हुन्छ। सामाजिक सञ्जालमा सकृय मनिट्रान्फर खोलेका केही नेपालीले अरूभन्दा २/३ सेन्ट रेट बढी दिएर लोभ्याउँछन्।
त्यसपछि नेपालीले पठाएको पैसा महिनौंसम्म झुलाएर राख्ने गरेको उदाहरण पनि प्रसस्त भेटिन्छन्। यस्तै ट्राभल र मनि ट्रान्फरले गर्दा इमान्दारिताका साथ काम गर्ने नेपाली ट्राभल र मनि ट्रान्फर मर्कामा परेका छन्।
कानुनी कारबाही
ठगी गर्नेलाई कानुनी दायरामा ल्याउन पोर्चुगलमा नेपाली दूतावास नभएकाले ठूलो समस्या भएको छ।
प्रायः ठगिने नेपालमा हुन्छन् अनि ठग पोर्चुगलमा। ती ठगलाई नेपालमा केस गरे पनि ठगकै नाममा पैसा दिएको कुनै प्रमाण नहुने भएकाले कानुनी कारबाहीको दायरामा ल्याउन समस्या भइरहेको हुन्छ।
त्यस्तै पोर्चुगलमा आएर ठगिने नयाँ हुन्छन्। नयाँको कागज पत्र हुँदैन, भाषा हुँदैन अनि कहाँ गएर केस गर्ने थाहा हुन्न । बिना प्रमाण केस पनि लाग्दैन। अदालतमा केस गर्न पनि महंगो छ। यहाँ ठगिएकाहरू टाउको ठोकेर रूनुबाहेक अरू विकल्प हुन्न।
सामाजिक संस्थाको भूमिका
पोर्चुगलमा खुलेका बग्रेल्ती सामाजिक संस्थाहरू आपसी कलह र विवाद मै सिमीत छन्। एनआरएन छ तर एन आर सबैको बन्न सकेको छैन। कुनै एक झुन्डमै सिमित भएको छ। एनआरएनमै कार्यरत सहयोगीले ठगि गरेको उजुरी गर्दा उसलाई कुनै कारबाही हुन्न। सुरूमा कारबाही गर्ने प्रतिवद्दता गरे पनि त्यो हाँसो र मिठो बोलीमै सिमीत हुने चलन छ।
कतिपय मानवीय क्षती र संवेदनाका कुरालाई एनआरएनले सहयोग गर्दै आएको छ। तर संस्थामा बसिसकेपछि संस्था सवैको साझा बनाउनुपर्नेमा एनआरएन चुकेको छ।
पोर्चुगलमा नेपालीको छवि
दलाल, ठग र तस्करका बारेमा समाचार लेख्दा केही नेपाली पत्रकारले यहाँ नेपालीबाटै धम्की खानुपरेको छ। कोही कोही सांघातिक आक्रमणको शिकार पर्ने गरेका छन्। केही नेपालीलाई मानव तस्कर र श्रमषोषणको नाममा जेल सजाय पनि अदालतले तोकेको छ।
केही वर्ष पहिले यहाँको राष्ट्रिय मिडियामा नेपालीको अपराधबारे अनुसन्धान सुरक्षा र विदेसी हेर्ने निकायका उच्चपदस्थको ४५ मिनेट लामो वहस भएको थियो। यो विषले यहाँ निकै ठूलो चर्चासमेत पायो। नेपालीकै विभिन्न वदनामी कामले यहाँका नेपालीको विश्वास खस्किँदो छ।
ठगिनबाट कसरी बच्ने
सर्वप्रथम नेपाल हुँदा जे सोचिन्थ्यो, जे अपेक्षा गरिएको हुन्छ, जुन सपना हुन्छ त्यसको ठ्याक्कै विपरित छ यहाँ।
नमरि स्वर्ग देखिँदैन भन्ने उखान यहाँ आएपछि नै बुझिन्छ।
हामी नआउनुहोस् भन्दैनौं, तर यहाँ आउने भन्दैमा केही नबुझी गफैमा विश्वास गरि फस्ने काम नगर्नू । तपाईँ पोर्चुगल आउन चाहानुहुन्छ भने आफूले विश्वास गरेको साथीभाइसँग बझ्नुहोस्। कोही अपरिचितले म ल्याउँछु भन्दैमा पैसा बुझाउने कामा नगर्नुहोला।
यदि सामाजिक सञ्जालबाट तपाईँहरूलाई कुनै लोभ देखाएको भए त्यसको बारे राम्रोसँग बुझ्नुहोस्। नाम र फोटो फरक फरक भएका व्यक्तिको सामाजिक सञ्जालमा मिठा कुरा सुनेर नझुक्किनुहोला। कुरा जति मिठा भए पनि उद्देश्य ठगि गर्ने नै हो।
कसैको कार्ड बन्दैमा उसले यहाँ स्पोन्सर गरेर ल्याउन सक्दैन (आफ्नो बाबु आमा, छोराछोरी श्रीमान श्रीमती बाहेक) पेपर म्यारिज गरेर ल्याउँछु भन्लान् त्यो सहज छैन।
यहाँ हरेक कागजपत्रलाई कन्सुलर र यहाँको परराष्ट्रले छाप हानेर प्रमाणित गरिदिनुपर्छ। कसैले स्पोन्सर गरेर यहाँ ल्याउछु भन्ला त्यो पनि सम्भव हुँदैन पत्यार नगर्नू।
यदि कसैलाई विश्वास लागेर यहाँ आउन मन लागेमा जोसँग आफ्नो कुरा भएको उसैलाई आधार र प्रमाणसहित पैसा दिनुहोला। सकेसम्म बैंकबाट कारोबार गर्नु राम्रो। कोही पुरूष या महिलाले पेपर म्यारिज गरेर पोर्चुगल ल्याउँछु भनेमा सरासर ठग्ने नियत हो भनेर बुझ्नुपर्छ।
समुद्रमा सयर गरेका, सहरको चोक र रेष्टुरेन्टका टेवलमा खिचेको फोटा देखेर नलोभिनु होला।
पोर्चुगलमा पनि सहयोग गर्ने सहयोगी मन भेटिन्छन्। यहाँ व्यावसायीक सफलतासँगै राम्रो छबी भएका नेपाली पनि छन्। तर उनीहरू बाहिर प्रचारित हुन चाहन्नन्।
यहाँका सबै नेपालीको एकै चाहना छ त्यो हो पोर्चुगलमा नेपाली राजदूतावास होस्। ठगि गर्नेलाई बैमा पहिचान गरि दूतावासलगायस सरकारी निकायबाट कारबाही होस्। पोर्चुगलको नेपाली समुदाय ठगहरूको हव नबनोस्।