अघिल्लो पटक नेपाल जाँदा विश्व राजनीतिमा चासो राख्ने केही अग्रजले मलाई प्रश्न गर्नुभयो, ‘युरोप कसरी त्यति विकसित भएकोरहेछ र खासमा सरकार कस्तो हुनु पर्दोरहेछ? सरकार को हो र देश विकास गर्न कस्तो मोडेल अपनाउँदा राम्रो हुँदोरहेछ?’
यसै सन्दर्भमा लेखिएको यो लेख आम मानिस जो विकसित मुलुकका सरकार कस्ता हुन्छन् भनेर सरल भाषामा बुझ्न चाहन्छन् उनीहरूका लागि उपयोगी हुने मेरो विश्वास छ।
सरकार को हो ?
जब एउटी महिला गर्भवती हुन्छिन् उनको गर्भमा भ्रुण विकास हुन थाल्छ, तब मात्र एउटा मानव जीवनको सुरूवात हुने गर्छ। ‘मानिस धर्तिमा जन्मेपछि जीवन सुरू हुन्छ कि, आमा गर्भवती भएको निश्चित भएपछि’ भन्ने प्रश्नमा सरकारको हिसाबबाट सोच्दा गर्भबाट नै सुरु भएको मान्नु पर्दोरहेछ।
जब एउटा भ्रुण आमाको गर्भमा हुर्कन थाल्छ त्यति बेला नै आमाको उचित स्याहार सुसार र पोषण जस्ता पक्षमा राज्यले ध्यान दिन सके मात्रै एउटा स्वस्थ शिशुको जन्म हुन्छ। अहिले स्वस्थ शिशु जन्मिनु भनेको भविष्यको एउटा कर्तब्यनिष्ठ नागरिक पैदा हुनु हो, जसले भोलि देश विकासमा योगदान दिनसक्छ।
जब बच्चा पेटमा हुन्छ सरकारले गर्भवतीको पूर्ण हेरचाह र सम्पूर्ण आवश्यक जाँच निःशुल्क प्रदान गर्छ। उसको परिवारको आम्दानी र सरकारलाई तिरेको करको अनुपातमा १२ हप्तादेखि नै गर्भवती भत्ता प्रदान गर्छ।
महिनैपिच्छे अनेक जाँचका साथै देशको कानुन अनुसार ७ महिनादेखि तलबी बिदा दिन थाल्छ।
बच्चा जन्मिने समय सम्पूर्ण प्रशूति सेवा निःशुल्क हुन्छ। महिला सुत्केरी भएपश्चात फेरि सरकारले सुत्केरी आमा र नवजात शिशुलाई भत्ता दिन थाल्छ।
विभिन्न देशको कानुन अनुसार सुत्केरी महिलाले ३ महिनादेखि १ वर्षसम्म तलबी बिदा पाँउछन् भने श्रीमानले समेत एकदेखि ३ महिनासम्म सुत्केरी स्याहारको लागि तलबी बिदा पाउँछन्।
जब बच्चा जन्मिन्छ उसको, भ्याक्सिनदेखि औषधि उपचार सबै सरकारको जिम्मा हुनेगर्छ। देश हेरेर आधारभूतदेखि उच्च तहसम्मको शिक्षाको सबै जिम्मा सरकारले लिन्छ। त्यहिँ बच्चा ठूलो भएर श्रमयोग्य हुन्छ, अध्ययन पुरा गर्छ र दक्ष जनशक्ति बन्छ भने फेरि सरकारले उसको रोजगारिकोसमेत ग्यारेन्टी गर्छ।
यदि केही काम गरिरहेका नागरिकले रोजगारी गुमाए भने सरकारले बेरोजगार भत्ता दिन्छ, यदि काम गर्दा गर्दै विरामी पर्यो वा दुर्घटनामा परेमा निःशुल्क उपचार गरिदिन्छ र लामो समय आराम गर्नुपर्ने डाक्टरले सिफारिस गरेमा पुरा निको नहुने बेलासम्म सरकारले बिरामी भत्ता दिन्छ।
जव एउटा नागरिक जीवनभर इमान्दारीपूर्वक काम गर्छ, देश विकासमा योगदान गर्छ र सरकारलाई कर तिर्छ भने ऊ सेवा निवृत्त हुने बेला सरकारले एकमुष्ट रकमसहित विदा गर्छ। बाचुन्जेल पेन्सन, स्वास्थ्य उपचारलगायत अन्य सरकारी सेवा सुविधा प्रदान गर्छ र उसले स-सम्मान बाँकी जीवन जिउने अवसर पाउछ। जब उसको मृत्यु हुन्छ, फेरि पनि सरकारले उसको अन्त्येष्टीको लागि समेत भूमिका खेल्छ।
यो सम्पूर्ण प्रकृया लाई यसरी बुझ्न सकिन्छ,
जब बच्चा जन्मिन्छ, थिरिथिरी गर्दै उभिन थाल्छ उसको औंला समात्न सरकार त्यहाँ उपस्थित हुन्छ। जब ऊ युवा भएर काम गर्न योग्य हुन्छ, काम पाउँदैन सरकार त्यहाँ साथमा हुन्छ। जब ऊ बिरामी हुन्छ, थाक्छ त्यहाँ पनि सरकार हाजिर भएर उसको हात थाम्छ। जब ऊ वृद्घ हुन्छ, शिथिल हुन्छ, फेरि उसको हात समाएर डोहोर्याउन सरकार त्यहाँ उपस्थित हुन्छ।
जब म एक्लो छैन, मेरो साथमा सरकार छ। म बेरोजगार भएँ भने सरकारले साथ दिन्छ, बिरामी र वृद्घ हुँदा सरकारले स्याहार्छ भन्ने अनुभूति आम जनताले आत्माबाट गर्छन् त्यो देश आफैं स्वर्ग बन्छ अनि त्यहाँका नागरिक सुखी अनि खुशी हुन्छन्। देश वविकास र समृद्धिको उचाईमा पुग्छ।
जनताले रगत र पसिना बगाएर कमाएको रकमबाट तिरेको करको सही सदुपयोग भयो भने मात्रै देश प्रगतिपथमा लम्कन सक्छ। जब आफूले तिरेको कर सरकारले देश विकासमा खर्चन्छ, देश समृद्ध बन्छ र आफूले तिरेको कर भबिष्यमा फर्केर आफ्नै सुरक्षामा प्रयोग हुन्छ भन्ने विश्वास हरेक नागरिकलाई दिलाउन सकिन्छ तब मात्र सुखी जनता समृद्ध मुलुक सम्भव हुन्छ।
जनताले रगत र पसिना बगाएर कमाएको रकमबाट तिरेको कर यदि शासकको मोज मस्तीमा खर्च हुन्छ र जनताले सरकारबाट केही पनि सुविधा पाउँदैनन् भने त्यो सरकार जनताको नजरमा सेतो हात्ती अनि साहु सरकार सिवाए अरू केही हुन सक्दैन। त्यसकारण सत्ताको बागडोर सम्हाल्ने शासकले जनताको चाहना र समयको माग बुझेर अगाडि बढ्न आवश्यक छ।
जनक बराल
पोर्तुगल