थाइल्याण्डको सर्वोच्च अदालतले पूर्व प्रधानमन्त्री यिङलक शिनावात्राविरुद्ध शुक्रबार पक्राउ आदेश जारी गरेको छ ।
आपराधिक लापरवाहीसम्बन्धी एउटा मुद्दाको फैसलाको दिन उनी अदालतमा उपस्थित नभएपछि न्यायाधीशहरुले पक्राउ आदेश जारी गरेका हुन् ।
सर्वोच्च अदालतले शुक्रवार शिनावात्रविरुद्धको मुद्दामा फैसला सुनाउने तयारी गरेपनि अदालतमा उनी उपस्थित नभएपछि मुद्दाको फैसला अर्को महिनाका लागि सारिएको छ । पारिवारीक स्रोतका अनुसार उनी दुबइ गइसकेकी छन्।
छ वर्षअघि उक्त मुद्दा शिनावातको जितसँग जोडिएको चामलसम्बन्धी अर्बौं डलरको अनुदानसँग सम्बन्धित रहेको बताइएको छ । उनी सन् २०११ मा थाइल्याण्डकी पहिलो महिला प्रधानमन्त्री भएकी थिइन्।
थाइल्याण्डको सैनिक सरकारले बजार मूल्यभन्दा दोब्बर मूल्यमा तत्कालीन सरकारले जनताका सबै चामल खरिद गर्दा भ्रष्टाचार भएको आरोप लगाएको छ ।
दोषी ठहर भएमा ५० वर्षाय शिनावात्राले १० वर्षका लागि जेल सजाय भोग्नुपर्ने हुनसक्छ ।