घाना र आइभोरी कोस्टको सीमाना जोडिएको पश्चिम अफ्रिकन मुलुक बुर्किना फासोस्थित एक रेष्टुरेन्टमा बन्दुकधारी आक्रमणमा कम्तीमा १८ जनाको मृत्यु भएको छ। आइतबार साँझ भएको घटनामा आठ जना गम्भीर घाइते भएका बुर्किना फासो सरकारले विज्ञप्ति जारी गरी जानकारी दिएको छ।
स्थानीय प्रहरीका अनुसार आइतबार राति करिब ९ बजे एनकार एभिन्युमा रहेको रेष्टुरेन्टमा बन्दुकधारीले हमला गरेका थिए। हमलामा मारिनेमध्ये एक टर्किस नागरिक छन् भने अन्यको पहिचान भइनसकेको अन्तर्राष्ट्रिय समाचारमाध्यमले जनाएका छन्।
आक्रमणकारीबारे हालसम्म कुनै जानकारी प्राप्त नभएको प्रहरी अधिकारीहरूले जनाएका छन्। सन् २०१६ को जनवरीमा पनि सो नगरमा आतङ्ककारी हमला भएको जसमा ३० जनाको मृत्यु भएको थियो।