महेश श्रेष्ठ नेतृत्वको गैरआवासीय नेपाली संघ (एनआरएनए) ले शनिबार २२ औं स्थापना दिवस मनाएको छ । त्यस अवसरमा एनआरएनएले स्वयम्भूस्थित बौद्ध स्तुपामा दीप प्रज्वलन गरेको छ।
कार्यक्रममा संघका अध्यक्ष महेशकुमार श्रेष्ठ नेतृत्वको कार्यसमितिका पदाधिकारी एवं सदस्यहरूले शान्ति र समृद्धिको कामना गर्दै १०८ दीप प्रज्वलन गरे ।
सो अवसरमा संघका अध्यक्ष श्रेष्ठले अहिले गैरआवासीय नेपालीहरुका बिचमा एकताको आवश्यकता रहेको बताए। त्यसकालागि प्रयासहरू भइरहेको पनि उनले जानकारी दिए ।
अध्यक्ष श्रेष्ठले गत भदौ २३-२४ को जेनजी आन्दोलनले देशमा व्यापक क्षति पुगेको बताउदै राष्ट्र पुनर्निर्माणमा एकजुट हुन आह्वान गरे ।
कार्यक्रममा एनआरएनए उच्चस्तरीय समितिका सदस्य विनोद कुँवरले सबैले ब्यक्तिगत हठ त्यागेर एकताबद्ध भएर लाग्नु पर्नेमा जोड दिए।
उपाध्यक्ष विश्वासदीप तिगेलाले अहिलेको सन्दर्भमा एनआरएनको भूमिका झनै बढेर गएकाले एकता गरेर नेपाल र नेपालीको समृद्धिमा जोडिन आग्रह गरे।
संघका कोषाध्यक्ष ठाकुर ढुंगानाले जेनजी आन्दोलन पछि एनआरएनएले पुनर्निर्माणको काम जारी राखेको जानकारी गराउदै बग्गीखानास्थित ट्राफिक कन्ट्रोल रुमको पुनर्निर्माण अन्तिम चरणमा पुगेको जानकारी दिए।