विश्वभर छरिएर रहेका झापालीहरूको साझा संस्था अन्तर्राष्ट्रिय झापाली समाजको अध्यक्षमा महेन्द्रप्रसाद चम्लागाईं निर्वाचित भएका छन्।
झापाको बिर्तामोडमा सम्पन्न समाजको पाँचौँ अधिवेशनले चम्लागाईंको नेतृत्वमा सर्वसम्मत रूपमा कार्यसमिति निर्वाचित गरेको हो।
अधिवेशनले वरिष्ठ उपाध्यक्षमा दिपक चुडाल, उपाध्यक्षमा नविन पोखरेल र चूडामणि कार्की, महिला उपाध्यक्षमा सीता पाण्डे, महासचिवमा चिरण खवास, सचिवमा भवानी प्रसाद कोइराला र अजय राजवंशी, कोषाध्यक्षमा उमेश पोखरेल तथा सह–कोषाध्यक्षमा रविन गिरी चयन गरेको छ।
विगत ३० वर्षदेखि कतारमा व्यवसाय गर्दै आएका झापा बाह्रदशी गाउँपालिका–डाँगीबारीका चम्लागाईं यसअघि समाजका वरिष्ठ उपाध्यक्ष रहेका थिए।
समृद्ध झापा निर्माणका लागि अन्तर्राष्ट्रिय झापाली समाज भन्ने मूल मन्त्रका साथ स्थापना भएको समाजले स्थापनाको छोटो समयमा विश्वका ४० देशमा देशहरूमा आफ्नो सञ्जाल विस्तार गरिसकको छ।
समाजका नवनिर्वाचित अध्यक्ष चम्लागाईंले विश्वभर रहेका झापालीहरूलाई एकबद्ध गर्दै उनीहरूको समस्या समाधानमा समाजले अहम् भूमिका खेल्ने बताउँदै समृद्ध झापा निर्माणको अभियानलाई थप सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।