गैरआवासीय नेपाली संघ(एनआरएनए)का बिचमा एकताको अन्तिम तयारी भएको छ।
एकताका लागि सबै पक्षले विभिन्न चरणमा छलफल समेत गरेका छन्।
अक्टोबर ११(एनआरएन डे) को अवसरमा एनआरएनए एकताको घोषणा गर्ने तयारी रहेको एनआरएनए अध्यक्ष बद्री केसीले सेतोपाटीलाई बताए।
'हामी निरन्तर छलफलमा छौं। एनआरएनए दिवसकै दिनमा एकताको घोषणा गर्ने हाम्रो प्रयास जारी छ। यसको मोडालिटी कस्तो हुने भनेर छलफल भइरहेको छ,' उनले भने,'विदेशमा रहेका ८० लाख भन्दा धेरै नेपालीको भावनालाई आत्मसाथ गर्दै कसले के पाउने भन्दा पनि सबैले जित्ने गरी सहमति जुटाउने प्रयासमा हामी छौं।'
देशमा अफ्ठ्यारो परिस्थिती रहेको भन्दै केसीले यस्तो बेला सबै गैरआवासीय नेपाली एक ठाउमा आएर लगानीको वातावरण बनाउनुपर्ने बताए।
११औं महाधिवेशनबाट निर्वचित कार्यसमितिको नेतृत्व बद्री केसीले गरेका छन् भने गत वैशाखमा भएको एकता महाधिवेशनबाट निर्वाचित कार्यसिमितिको नेतृत्व महेश श्रेष्ठले गरेका छन्।
युनाइटेड नेपाली डायस्परा अर्गनाइजेसन (युएनडिओ)को नेतृत्व सोनाम लामाले गरेका छन्।