ग्लोबल नेपाली
रामेछापका आङ कामी लामा शेर्पा सन् २००८ देखि अस्ट्रियामा छन्। अस्ट्रिया र जर्मनीको हिमाली क्षेत्रमा उनले गेष्ट हाउस चलाएका छन्। त्यस्तै उनले पर्यटकका लागि अपार्टमेन्ट समेत भाडामा दिन्छन्।
सानै उमेरदेखि नेपालको ट्रेकिङ क्षेत्रमा काम गरेका शेर्पा सन् २००८ मा अस्ट्रिया गएपछि सुरूमा होटलको काममा व्यस्त भए। भाँडा माझ्नेदेखि सबै खालका काम गरेकाले उनलाई अस्ट्रियाको समाज अनि त्यहाँको पर्यटन बुझ्न पनि सजिलो भयो।
'यहाँ आएर सुरूमा गर्ने भनेको भाँडा माझ्ने नै हो। विस्तारै मैले सानो समूहलाई नेपाल घुमाउन समेत लैजान थालेँ,' उनले भने, 'अहिले पनि हरेक वर्ष अस्ट्रियाका पर्यटकलाई नेपाल लैजान्छु। म आफू जान सकिनँ भने कसैलाई पठाउँछु।'
८ वर्षदेखि उनी आफैले व्यवसाय सुरू गरेका छन्।
अस्ट्रियाको तिरोल र जर्मनीको बाबरियामा उनको गेष्ट हाउस छ। यो दुवै क्षेत्र ती देशका लागि 'टुरिजम हब' हुन्।
सन् २०१८ मा अस्ट्रियामा व्यवसाय सुरू गरेका शेर्पाले सन् २०२२ मा जर्मनीमा पनि विस्तार गरेका हुन्। दुई देशमा भएको भए पनि बोर्डरमा पर्ने भएकाले उनलाई काम गर्न सहज भएको छ।
शेर्पाका अनुसार अस्ट्रियाको गेष्ट हाउसमा ७८ जना सम्मलाई राख्न मिल्छ। समुन्द्री सतहदेखि २३ सय १० मिटर उचाइमा रहेको यो गेष्ट हाउसमा जुलाईदेखि अगष्टसम्म खचाखच हुन्छन्। अरू समय भने गेष्ट हाउस बन्द जस्तै रहन्छ। अस्ट्रिया र जर्मनीका उच्च पहाडी भेगमा अल्पाइन क्लबसँग भाडामा लिएर गेष्ट हाउस सञ्चालन गरिन्छ।
'यो ठाउँ भनेको नेपालमा भेडा गोठालाहरू बस्नको लागि खर्क बनाइए जस्तै हो। पछि हिमाली क्षेत्र घुम्न जानेहरूले आफै पकाएर खाने, पानी पर्यो भने ओत लाग्ने ठाउँका रूपमा यसलाई विकास गरे,' शेर्पाले भने, 'अहिले स्थानीय क्लबहरूले करारमा ठाउँको भाडा लगाउँछन्। थोरै उचाइमा जस्तो लागे पनि मेरो अनुभवमा यो ठाउँमा सगरमाथा बेसक्यामको जस्तै मौसम हुन्छ।'
-1760185753.jpg)
चिसोले गर्दा १४/१५ सय मिटर उचाइमा त्यहाँ रूखहरू हुँदैनन्।
उनको गेष्ट हाउसमा स्थानीय रूपमा खाइने खानाहरू पाइन्छ। शनिबार र आइतबार हिमाली क्षेत्रमा घुम्न जानेहरूले त्यहीको परम्परागत खाना खान्छन्। योसँगै उनले दाल, भात र मम पनि राखेका छन्। पछिल्लो समय हरेक दिन ४०/५० जनालाई दालभात खुवाउने गरेको शेर्पाले बताए।
उनको गेष्ट हाउसमा पुग्ने अधिकांश जर्मनी र अस्ट्रियाका हुन्छन्। एउटा अनौठो संयोग के हुन्छ भने त्यहाँ पुग्नेहरूमध्ये धेरै नेपालसँग परिचित हुन्छन्। कोही नेपाल गइसकेका अनि कोही नेपाल जाने तयारीमा रहेकाहरू हुने शेर्पाको अनुभव छ।
'यहाँ मैले स्पिनाट नुडल्स, काइजर, स्पेक नुडल्स, फ्रेन्च फ्राई लगायतका खाना बेच्ने गर्छु। सँगै दाल भात र मम भइहाल्यो। दालभातमा पर्यटकहरू बानी परिसकेका छन्,' उनले भने, 'अहिले त दाल भात भएन भने पर्यटकहरू रिसाउने स्थिति भइसकेको छ। अरू व्यवसायीले समेत दालभात राख्न थालिसकेका छन्। नेपाली दाल भातको माग बढ्दा खुसीको सीमा नहुने रहेछ।'

उनले शेर्पा मम र एभरेष्ट मम समेत बेच्ने गरेका छन्। जर्मनी र अस्ट्रियामा मम चिनाउन सानो प्रयास गरेको उनले बताए।
अस्ट्रियाको तुलनामा जर्मनीको गेष्ट हाउस भने अलि लामो समय सञ्चालनमा आउँछ। जर्मनीमा झण्डै १० महिनासम्म चलाउन सकिने उनले बताए।
त्यहाँ पनि गेष्ट हाउसको भाडा स्थानीय क्लबलाई दिनुपर्छ। जर्मनीको बाबरियामा रहेको गेष्ट हाउसमा भने खान र बस्नमध्ये कुनै एक या दुवै सेवा लिन पाइन्छ। तर अस्ट्रियाको गेष्ट हाउसमा भने खाने र बस्ने दुवै गर्नुपर्छ।
अस्ट्रियाको तुलनामा जर्मनीको गेष्ट हाउस केही सानो छ। त्यहाँ सुत्नको लागि २० जनाको मात्र क्षमता छ।
जर्मनीको गेष्ट हाउसमा पनि स्थानीय खाना सँगै दालभात समेत उनले बेच्न गर्छन्।
'मेरो गेष्ट हाउस दुई देशमा भए पनि म अस्ट्रिया बस्छु। एउटा गेष्ट हाउसबाट अर्कोमा डेढ/दुई घण्टाको ड्राइभमा पुग्न सकिन्छ। अस्ट्रियामा मेरो ५ वटा अपार्टमेन्ट छ,' उनले भने, 'शेर्पा हाउस नाम दिइएका ५ अपार्टमेन्टमध्ये एउटामा मेरो परिवार बस्छ अनि अर्कोम पाहुना र काम गर्नेहरू बस्छन्। भने ३ वटा भाडामा लगाउँछु।'
शेर्पाका अनुसार हिमाली क्षेत्रमा परिवार सहित घुम्न आउनेहरूले २/३ हप्ताको लागि अपार्टमेन्ट भाडामा लिने अनि उनीहरूले नै पकाउने र खाने गर्छन्। आफूले अपार्टमेन्टको सरसफाइ मात्र गर्दिने उनले बताए।
अस्ट्रियाको व्यवसाय र त्यसले दिएको आम्दानीबाट शेर्पा सन्तुष्ट छन्। युरोपियनहरूमा 'हाइकिङ कल्चर' भएकाले उनको व्यवसायलाई सजिलो भएको छ।
'हामी नेपालीको हाइकिङ कल्चर छैन। हामी फुर्सद भयो भने साथीभाइ मिलेर रेस्टुरेन्ट जाने घरमै रमाइलो गर्ने गर्छौं। तर अस्ट्रियन र जर्मनहरू परिवारसँग छुट्टी मनाउन घुम्न जान्छन्,' उनले भने, 'अस्ट्रियाको पर्यटन क्षेत्रमा जर्मनहरूको योगदान ८० प्रतिशत छ। यहाँका मानिसहरू फुर्सदको क्रममा ४/५ दिन ट्रेकिङ जानन्। त्यो क्रममा एक दिन मेरोमा बस्छन्।'
-1760185892.jpg)