ग्लोबल नेपाली
पुर्ख्यौली घर स्याङ्जा भएकी सरिता पाण्डे ललितपुर बस्थिन्। ज्ञानोदय बालबाटिकामा कक्षा चारमा पढ्दै थिइन्, एकाएक दक्षिण अफ्रिका पुगिन्।
उनका बुबा खडानन्द पाण्डे नेपालको सरकारी जागिर छाडेर दक्षिण अफ्रिका गएका थिए। त्यहाँ व्यवस्थित भएपछि उनले आफ्नी श्रीमती लक्ष्मी र छोराछोरीलाई उतै बोलाए।
लक्ष्मी दुई छोरी र एक छोरा लिएर दक्षिण अफ्रिका गइन्।
उनीहरू त्यस्तो बेला दक्षिण अफ्रिका पुगेका थिए जुन बेला विदेश जाने कुरा अहिलेको जस्तो सामान्य थिएन। अझ दक्षिण अफ्रिका जानु त करिब कल्पनाभन्दा बाहिरको कुरा थियो।
खडानन्द दक्षिण अफ्रिका जाने सूत्रधार थिए सरिताका मामा डा. खिमानन्द गैरे।
खिमानन्द दम्पती दक्षिण अफ्रिकामा चिकित्सक थिए। भारतमा पढेर बालरोग विशेषज्ञ बनेका डा. खिमानन्द कामका लागि दक्षिण अफ्रिका पुगेका थिए। भारतीय मूलका एक जना अफ्रिकी चिकित्सक उनका सहपाठी थिए। उनकै सहयोगमा डा. खिमानन्द दम्पती दक्षिण अफ्रिका पुगेका थिए।
'मेरा मामामाइजू दुवै जना दक्षिण अफ्रिकामा डाक्टरी (चिकित्सा पेसा) गर्नुहुन्थ्यो। उहाँहरूले बुबालाई पनि बोलाउनुभयो तर बुबाले नेपालमा जस्तो काम पाउनुभएन,' सरिताले भनिन्, 'दक्षिण अफ्रिका गएर पढ्नुभयो र शिक्षक बन्नुभयो। आफूलाई सहज भएपछि सन् १९९१ मा हामीलाई बोलाउनुभयो।'
खडानन्द तत्कालीन ट्रान्स्काई राज्यको उमटाटा भन्ने ठाउँमा बसेका थिए। लक्ष्मी र छोराछोरी पनि त्यहीँ गए।
त्यस बेला दक्षिण अफ्रिकामा श्वेत र अश्वेत जातिका विद्यार्थीका लागि फरक फरक स्कुल थिए। खडानन्दले छोराछोरीलाई अश्वेत जातिका विद्यार्थी पढ्ने स्कुलमा भर्ना गराए। उनी पनि त्यही स्कुलमा बायोलोजी पढाउँथे।

'हामीलाई देखेर त्यहाँका विद्यार्थीहरू अलमलमा पर्थे। कतिले हाम्रो छाला कोट्याउँथे, कपाल चलाउँथे। उनीहरूको कपाल घुम्रेको हुन्थ्यो,' सरिताले भनिन्, 'बिस्तारै भारतीय विद्यार्थीहरू पनि आए। दुई वर्षपछि हामी श्वेत विद्यार्थी पढ्ने स्कुलमा गयौं।'
त्यस बेला भर्खरै दक्षिण अफ्रिकामा रंगभेदविरूद्ध अश्वेतहरूको आन्दोलन सफल भएको थियो। ग्रेड १२ को पढाइ पूरा गरेपछि सरिता चिकित्सा शिक्षामा भर्ना भइन्। पढाइ पूरा भएर चिकित्सा सेवामा लागिन्।
उनी इस्ट–लन्डन सहरस्थित 'फ्रेअर हस्पिटल' मा नाक–कान–घाँटी (इएनटी) सर्जन (शल्यचिकित्सक) का रूपमा कार्यरत छिन्। उनले यो अस्पतालमा काम गरेको १० वर्ष भयो। उनका श्रीमान पुष्प भट्टराई पनि त्यही अस्पतालमा जनरल सर्जन छन्।
सरिताकी बहिनी समिता क्यानडामा छिन्। उनी पनि चिकित्सक नै हुन्। भाइ खलज पनि चिकित्सा शिक्षामा अन्डर ग्र्याजुएट पूरा गरेर पोस्ट ग्र्याजुएटको तयारीमा छन्।
अस्पताल आउने इएनटी बिरामी सामान्यदेखि क्यान्सरका भएकासम्म हुन्छन्। जन्मिँदै नाकको प्वाल नखुलेका र कान नसुन्ने समस्या भएका पनि धेरै हुन्छन्।
यी सबैको उपचार हुन्छ। सरिता सबैलाई हेर्छिन्।
उनका छोराछोरी स्कुल जाने उमेरका छन्।
उनले आफ्नो दिनचर्या सुनाइन्, 'बिहान साढे सात बजे बच्चाहरूलाई स्कुल पुर्याउनुपर्छ। उनीहरूलाई छोडेर आठ बजे अस्पताल जान्छु। फेरि चार बजे उनीहरूलाई लिन जानुपर्छ।'
छोराछोरीको हेरचाह पनि गर्नुपर्ने भएकाले उनी एउटा मात्र अस्पतालमा काम गर्छिन्।
सरिता पढाइ पूरा गरेर भरखरै इएनटी सर्जन भएकी थिइन्। नेपालमा २०७२ सालमा भुइँचालो आयो। उनी एउटा टोलीका साथ नेपाल आइन्, दुई हप्ता स्वैच्छिक सेवा गरेर फर्किन्।
उनले भनिन्, 'हाम्रो टोलीले काठमाडौंका दुइटा अस्पतालमा काम गर्यो। हामीले हरेक दिन शल्यक्रिया गर्यौं।'

बुबाआमा, भाइ, मामामाइजू र आफ्नो परिवार दक्षिण अफ्रिकामै भए पनि अरू आफन्तहरू नेपालमै छन्। श्रीमानतर्फका परिवारजन र आफन्तहरू पनि छन्।
सरिता सन् २००६ यता मौका पारेर हरेक वर्ष नेपाल आउँछिन्। कुनै वर्ष त दुई पटक पनि आएकी छन्।
आफ्ना छोराछोरीलाई नेपाल चिनाउन उनीहरूलाई लिएर आउने गरेको उनको भनाइ छ। उनकी छोरी हाल १५ वर्ष उमेरकी छिन्, छोरा आठ वर्षका छन्।
'हामी घरमा नेपाली भाषा बोल्छौं। छोराछोरी नेपाली भाषा बुझ्छन् तर बोल्न मान्दैनन्। घरमा नेपालीमै बोल्न कर गर्छौं। नेपाली परिकार बनाएर खुवाउँछौं,' सरिताले भनिन्, 'म छोराछोरी नेपाली भाषा बोलून्, नेपाल चिनून् भन्ने चाहन्छु।'
उनका अनुसार दक्षिण अफ्रिकामा ठूलो संख्यामा भारतीयहरू छन्। भारतीय सांस्कृतिक कार्यक्रमहरू भइरहन्छन् तर नेपाली कार्यक्रम नगन्य हुन्छ।
रंगभेदी शासन विरूद्धको आन्दोलन सफल भई नेल्सन मण्डेला जेलमुक्त भएका भए पनि सरिता दक्षिण अफ्रिका गएको समय शासनसत्ता श्वेतकै थियो। दक्षिण अफ्रिकामा स्वेत जाति अल्पसंख्यक समुदाय हो तर लामो समयदेखि अल्पसंख्यक स्वेतहरू नै सत्तामा थिए। बहुसंख्यक अश्वेत भेदभावपूर्वक शासित थिए।
सन् १९९४ मा नेल्सन मन्डेला राष्ट्रपति भए। अश्वेतहरू पनि शासनसत्तामा पुगे। मन्डेलाले अश्वेत र स्वेतका बीच सन्तुलन कायम गरेर सरकार चलाए।
बिस्तारै श्वेत जाति किनारामा पर्न थालेको सरिताको बुझाइ छ। परिणाम स्वरूप दक्षिण अफ्रिकाको समाज बिथोलिएको छ। अर्थतन्त्र र सुरक्षा अवस्था खस्किँदै गएको छ।
उनी गएको बेला दक्षिण अफ्रिकी मुद्रा दुई र्यान्ड बराबर एक अमेरिकी डलर थियो। अहिले एक अमेरिकी डलर बराबर झन्डै साढे १७ र्यान्ड छ।
आफ्नो परिवार बसेको इस्ट लन्डन सहरमा १० नेपाली परिवार रहेको सरिताले बताइन्। केही पर अर्को बस्तीमा पाँच परिवार छन्। कहिलेकाहीँ यी नेपालीहरूबीच जमघट हुन्छ।
सरिता दक्षिण अफ्रिका गएको ३४ वर्ष भयो।
उनका अनुसार नेपालको तुलनामा त्यहाँ सुरक्षा व्यवस्था कमजोर छ। अपराध डरलाग्दो ढंगले बढेको छ। तैपनि पेसागत हिसाबले सन्तुष्टि छ।
'दक्षिण अफ्रिका नपुगेको भए डाक्टर हुने थिइनँ होला। यहाँ अपराध निकै डरलाग्दो छ तर हाम्रो पेसामा कुनै खतरा छैन,' उनले भनिन्, अहिलेसम्म दक्षिण अफ्रिका छाडेर हिँडू जस्तो भएको छैन।'
उनी छोराछोरीलाई भने मेट्रिक (१२ कक्षा) पूरा गरेपछि अर्कै मुलुक पठाउन चाहन्छिन्। आफू नेपालबाट दक्षिण अफ्रिका आएजस्तै त्यहाँबाट अर्को देशमा पुगून् भन्ने चाहन्छिन्।
'अफ्रिकामा राम्रो छैन त्यस कारण छोराछोरी अन्तै जाऊन् भन्ने होइन। यहाँ पनि ठिकै छ,' उनी भन्छिन्, 'हामी नेपालबाट यहाँ आए जस्तै छोराछोरी अर्को नयाँ ठाउँमा जाऊन्। नयाँ कुरा देखून्, सिकून् भन्ने हो।'
अहिले उनको प्राथमिकता आफ्नो काम र छोराछेरीको उन्नत शिक्षा हो। उनले नेपाल फर्किनेबारे अहिले केही पनि सोचेकी छैनन्।