गाजाका लागि सहायता सामग्री बोकेर गएका झन्डै सय वटा ट्रक बन्दुकधारीले लुटेका छन्।
सहायता सामग्री बोकेर गएका १०९ वटा ट्रकमध्ये ११ वटा मात्रै गन्तव्यमा पुगेको प्यालेस्टिनीका लागि काम गर्ने संयुक्त राष्ट्र संघको संस्था युएन आरडब्लुएले सोमबार विज्ञप्ति निकालेर जनाएको छ।
बन्दुक देखाएर ट्रकहरू खाली गर्न लगाइएको, धेरै ट्रकहरू पनि लगिएको, केही ट्रकमा व्यापक क्षति भएको र केही चालकलाई गोली समेत हानिएको सो संस्थाले जनाएको छ। कति हताहत भए र कर्मचारीलाई के-कस्ता चोटपटक लागेको छ भन्नेबारे चाहिँ उसले खुलाएको छैन।
इसराइली बमबारीले ध्वस्त भएपछि भोकमरीको खतरामा रहेका गाजाका प्यालेस्टिनीहरू विदेशी सहायतामा भर पर्छन्।
ती ट्रकहरू आइतबार इसराइलबाट गाजा छिर्ने तयारी थियो। तर इसराइली सेनाले शनिबार एक्कासि ३० मिनेटभित्र अर्कै रूटबाट जान निर्देशन दिएको सो संस्थाको गाजाकी प्रवक्ता लुइस वाटरिजले बताएकी द न्यूयोर्क टाइम्सले लेखेको छ।
गाजामा मानवीय संकट भए पनि इसराइलले खाद्यान्न र अरू जरूरी सामग्री लैजान अवरोध गरिरहेको उनले आरोप लगाइन्।
सहायता सामग्री लुटिएको बारे इसराइली सेनाले कुनै प्रतिक्रिया दिएको छैन। तर हमासका लडाकुले सर्वसाधारणका लागि लगिने सहायता सामग्री लुट्ने गरेको दाबी इसराइलले गर्दे आएको छ।
इजिप्टसँग मिलेर विगत केही वर्षदेखि गाजामा नाकाबन्दी लगाएको इसराइलले गाजामा छिर्ने सबै नाकामा सेना राखेको छ। हमासले लुकाएर हतियार लैजान सक्ने भनेर सबै गाडी जाँच गरेर मात्रै छोड्छ।
व्यापक अमेरिकी दबाबका कारण पछिल्ला केही हप्तामा सहायता सामग्री लान दिए पनि अझै पनि इसराइलले पर्याप्त मात्रामा आपूर्ति हुन रोकेको छ।
इसराइलको युएन आरडब्लुएसँग पनि राम्रो सम्बन्ध छैन र सो संस्थाले हमासको समर्थन गर्ने आरोप लगाउँछ। सो संस्थाका केही कर्मचारी हमासले गत वर्ष अक्टोबर ७ मा इसराइलमाथि गरेको आक्रमणमा सहभागी भएपछि इसराइलले सो संस्थाको झन् धेरै विरोध गर्दै आइरहेको छ।
गत महिना मात्रै इसराइलले सो संस्थालाई आफ्नो भूमिमा काम गर्न प्रतिबन्ध लगाएको थियो।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)