श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले संयुक्त अरब इमिरेट्स (युएई) जाने नेपाली कामदारको न्यूनतम तलब मासिक एक हजार दिराम हुनुपर्ने निर्णय गरेका छन्।
उनले गत बिहीबार मन्त्रिस्तरीय निर्णय गरेका हुन्। अब अदक्ष श्रमिकको हकमा एक हजार दिरामभन्दा कममा मागपत्र प्रमाणीकरण हुनेछैन। हालसम्म न्यूनतम आठ सय दिरामसम्ममा मागपत्र प्रमाणीकरण हुने गरेको थियो। अदक्षका लागि न्यूनतम आठ सय, अर्धदक्षका लागि एक हजार र दक्षका लागि १२ सय दिराम तलब थियो।
नयाँ तलबमान अदक्ष, अर्धदक्ष र दक्ष श्रमिकको क्रमशः न्यूनतम एक हजार, १२ सय र १५ सय दिराम निर्धारण गरिएको छ।
'तोकिएभन्दा कम तलब भए कुनै पनि मागपत्र प्रमाणीकरण हुने छैन। युएई जाने नेपाली कामदारको हितमा यो निर्णय उपलब्धिमूलक हुने विश्वास लिएको छु,' मन्त्री भण्डारीले भने।
एक हजार युएई दिराम तलब पाउँदा नेपाली रूपैयाँ ३७ हजार हुन्छ।
न्यूनतम तलब आठ सयबाट बढाएर एक हजार दिराम पुर्याउँदा पनि मन्त्री भण्डारी चौतर्फी आलोचनामा परेका छन्। अन्य मुलुकका अदक्ष कामदारले पहिल्यैदेखि एक हजार दिरामभन्दा धेरै तलब पाइरहेका छन्। नेपालीलाई एक हजार दिराममा पठाउने निर्णय हुनु गलत रहेको आलोचकहरूको भनाइ छ।
युएईमा अरू देशबाट जाने अदक्ष कामदारको तलब कति छ? नेपालीको कति हुनुपर्ने हो?
यी प्रश्नको सेरोफेरोमा हामीले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अधिकारी र अन्य सरोकारवालाहरूसँग कुरा गरेका छौं।
मन्त्रालयकै एक अधिकारी नेपालले बलियो कूटनीतिक पहल गर्न नसक्दा नेपालीहरू सस्तो मूल्यमा कडा परिश्रम गर्न बाध्य भएको बताउँछन्।
'अदक्ष भए पनि फिलिपिनीले १५ सय दिराम पाउँछन्। त्यही काममा नेपालीले ६ सयदेखि आठ सयसम्म पाउँछन्। हाम्रो बार्गेनिङ क्षमता राम्रो भएन,' ती अधिकारीले भने।
गैरआवासीय नेपाली संघ (एनआरएनए), युएईका महासचिव भुवनकुमार वाग्लेका अनुसार नेपाली कामदारहरू पहिल्यैदेखि तोकिएको न्यूनतम तलबभन्दा कममा युएई जाने गरेका छन्। नेपाली दूतावासबाट मागपत्र प्रमाणीकरण हुन अदक्ष श्रमिकको हकमा न्यूनतम आठ सय तलब र तीन सय भत्ता गरी मासिक ११ सय दिराम हुनुपर्ने थियो।
तर तलबको विषय कागजमा मात्रै सीमित रहेको उनी बताउँछन्।
'नेपालीहरू कम तलबमा युएई आउन बाध्य भइरहेका छन्,' वाग्लेले भने।
श्रम मन्त्रालयको पछिल्लो निर्णय अनुसार मागपत्र प्रमाणीकरण हुनेमा पनि उनलाई शंका छ। हाम्रा नीतिहरू राम्रा भए पनि कार्यान्वयनमै समस्या भएको उनले बताए।
'मासिक एक हजार दिराम पनि पर्याप्त होइन,' उनले भने, 'यहाँ नेपालीले भन्दा बढी तलब भारतीयले पाउँछन्। फिलिपिन्सले त अदक्ष कामदार १५ सय दिरामभन्दा घटीमा पठाउँदैन।'
युएईका रोजगारीदाताले फिलिपिनी कामदार लिन युएईस्थित फिलिपिनी दूतावासमा धरौटीका रूपमा निश्चित रकम जम्मा गर्नुपर्ने नियम छ। सम्झौता भए अनुसारको काम, तलब र सुविधा नदिए कम्पनीले जरिवाना तिर्नुपर्छ।
'दक्ष फिलिपिनी कामदारको त तलब स्केल र सेवासुविधा नै छुट्टै हुन्छ। उनीहरूबीच श्रम सम्झौता बलियो छ। कार्यान्वयनमा कडाइ छ,' वाग्लले भने।
युएईका रोजगारीदाताले बंगलादेशी कामदार सस्तोमा पाउँछन्। बंगलादेशीका लागि युएईको भिसा नीति कडा छ। भिसा पाउनकै लागि पनि बंगलादेशीहरू कम तलबमा काम गर्छन्। बंगलादेशीहरू भिसाको लोभमा चार सयदेखि हजार दिरामसम्ममा काम गर्छन्। नेपालीजस्तो इमानदार र मेहनती पनि नहुने उनले बताए।
नेपाली कामदार मेहनती र इमानदार हुने भएकाले नेपाल सरकारले पारिश्रमिक तथा सेवासुविधाका लागि युएई सरकारसँग लबिङ गर्नुपर्ने वाग्लेको भनाइ छ।
'चर्को गर्मीमा अत्यधिक खटेर काम गर्नुपर्छ। महँगी धेरै छ। ऋण काढेर आएका नेपाली दाजुभाइ, दिदीबहिनीलाई हजार दिरामले बचत गर्नै मुस्किल पर्छ,' उनले भने।
हामीले यस विषयमा म्यानपावर व्यवसायीहरूसँग पनि कुरा गरेका छौं।
म्यानपार व्यवसायी मानव विष्ट अदक्ष भारतीय कामदारको न्यूनतम तलब मासिक १२ सय र फिलिपिनीको १५ सय दिराम हुँदा नेपालीको एक हजार मात्र हुनु ठीक नभएको बताउँछन्।
नेपालीहरू मासिक चार सय दिराममा पनि काम गर्न बाध्य भएको भन्दै उनले नेपाल सरकार र वैदेशिक रोजगार व्यवसायी संघ निरीह देखिएको बताए।
अर्का म्यानपावर व्यवसायी ऋषि शर्मा भने युएईमा नेपाली कामदारको न्यूनतम तलब बढ्नु सकारात्मक कुरा भएको बताउँछन्। तलब र अन्य सुविधा बढाउन कामदारको दक्षता विकासमा पनि जोड दिनुपर्ने र बलियो लबिङ गर्नुपर्ने उनको भनाइ छ।
'अरू देशका कामदारको तलब धेरै छ। हाम्रा (नेपाली) श्रमिक दक्ष बनाएर कमाउने क्षमता बढाउनुपर्छ। युएईमा कामदार चाहिएको छ, हामीसँग कामदार छन्। यति तलब दिने भए पठाउँछौं नत्र पठाउँदैनौं भनेर हामीले अडान राख्नुपर्छ,' शर्माले भने।
वैदेशिक रोजगार विभागका अनुसार आर्थिक वर्ष २०८०/८१ मा कम्तीमा एक लाख ९३ हजार नेपाली युवाले युएईका लागि श्रम स्वीकृति लिएका थिए।
युएईमा नेपालीहरूले पहिले भनिएभन्दा फरक काम गर्नुपर्ने, तलब र अन्य सुविधा निकै कम पाउने जस्ता समस्या झेल्नुपरेको छ।
युएईका जनशक्ति आपूर्ति कम्पनीमा नेपाली कामदार पुर्याउने र दुःख दिने समस्या पनि रहेको एनआरएनए, युएईका महासचिव वाग्लेको भनाइ छ।