ग्लोबल नेपाली
विनोद नेपाल दक्षिण कोरिया गएको १४ महिना भयो। उनी रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत गएका हुन्।
अर्घाखाँचीको भूमिकास्थान नगरपालिका वडा नम्बर १ का विनोद उत्पादनमूलक क्षेत्रमा गएका थिए। उनको काम सेप्टिक ट्यांकी बनाउने कम्पनीमा परेको थियो।
दिनकै सिमेन्ट, बालुवाको काम गर्न सहज थिएन। केही समय उनी केही नभनी खटिरहे। तर एक दिन उनको शरीरले साथ दिएन।
'बल छउन्जेल सकेको काम गरियो। पछि खानेकुरा नरूच्ने भयो, कमजोर हुँदै गएँ। तागत हुन्जेल पो काम गरिँदो रहेछ, नभएपछि नसकिने। अनि मैले काम छाडेँ,' विनोदले भने।
उनले जसोतसो १३ महिना उक्त कम्पनीमा काम गरे।
इपिएसमार्फत दक्षिण कोरिया गएका श्रमिकले सम्झौतामा भनिएभन्दा फरक काम पर्यो, खाने र बस्ने व्यवस्था राम्रो भएन वा तलब र सेवासुविधा लगायत समस्या झेल्नुपर्यो भने कम्पनी परिवर्तन गर्न पाउँछन्।
कम्पनी परिवर्तन गर्न रोजगारदाताको अनुमति भने चाहिन्छ। अनि जुन क्षेत्रमा भनेर गएको हो, सोही क्षेत्रसँग सम्बन्धित कम्पनीमा काम गर्नुपर्छ। त्यसैले विनोद उत्पादनमूलक क्षेत्रमै काम खोजिरहेका छन्।
'एक महिना भयो काम छाडेको। अर्को काम खोजिरहेको छु,' उनले भने।
विनोदले काम गरेको कम्पनीमा १६ जना आप्रवासी कामदार थिए जसमा चार जना नेपाली थिए। काम गाह्रो र जोखिम महसुस गरेर उनीसँगै अन्य आप्रवासीले पनि काम छाडेका उनले बताए। उनले सुने अनुसार अहिले ९ जना मात्रै त्यहाँ काम गरिरहेका छन्।
'हामी नेपालीले मात्रै होइन, असहज भएपछि अरू देशका श्रमिकले पनि कम्पनी परिवर्तन गर्छन्,' उनले भने, 'आफूलाई असहज भएपछि फेर्नु त पर्यो नि होइन?'
उनको कमाइ राम्रै थियो। जति धेरै समय काम गर्यो, कमाइ उति बढ्थ्यो। तर कम्पनी सञ्चालकको पेलान धान्न गाह्रो भएको उनले बताए।
२२ वर्षीय विनोद दक्षिण कोरिया जानुअघि भारतमा थिए। त्यहाँ पार्टी प्यालेसहरूमा कुक काम गर्थे। भारतमा एक वर्ष काम गरेर नेपाल फर्किए।
'पढ्न पाउने अवस्था थिएन। काम पनि नपाइने। पाइहाले कमाइ थोरै हुने। त्यसैले कोरियामा राम्रो कमाइ होला भनेर आएको,' उनले भने।

विनोदले खाडी वा अन्य मुलुक जाने पनि सोचेका थिए। सन् २०२१ मा कुवेत जान भनेर सोचेर काठमाडौं आए पनि। त्यो बेला उनको उमेर नै पुगेन। कहिले उमेर पुग्ला र कमाउन जाऊँला भन्ने सोचिरहेका थिए। के काम गरेर कमाउन सकिन्छ भनेर युट्युब लगायत सामाजिक सञ्जालमा पनि हेर्थे।
'मैले धेरै पढेको पनि छैन। युरोप जान धेरै पैसा लाग्ने रहेछ। कोरियामा भने राम्रो कमाइ हुने, धेरै पढेको पनि हुनु नपर्ने, भाषामा मेहनत गरे पुग्ने सुनेपछि मैले कोरियन भाषा पढेँ,' उनले भने।
भाषा परीक्षा उत्तीर्ण भएको तीन महिनामै कोरियाको भिसा लाग्यो।
विनोदले महिनामा दुई/तीन लाख रूपैयाँसम्म कमाइ हुन्छ भन्ने सुनेर कोरिया रोजेका थिए। खट्न सक्दा कमाइ पनि त्यस्तै हुने रहेछ। तर कति काममा ज्यानकै जोखिम हुने भएकाले पैसा मात्रै ठूलो होइन जस्तो लाग्यो। बरू पैसा धेरै नहोस्, सुरक्षित काम खोजिरहेका छन्।
'मर्नुभन्दा बहुलाउनु निको भन्छन् नि, त्यही सोचेर काम छाडेर बसेको छु,' उनले भने, 'ज्यानै जोखिममा राखेर पैसा कमाउन त मन छैन। जस्तो आएको थिएँ, त्यस्तै सुरक्षित नेपाल फर्किन सकूँ भन्ने हो।'
उनले अहिले केही काम त पाइरहेका छन्। तर खाने र बस्ने सुविधा नभएकाले गरेका छैनन्।
नेपालीहरू भएको कम्पनी भए अलि सजिलो हुने थियो भन्ने उनलाई लागेको छ।
'बस्ने, खाने सुविधा भएको र पहिलेभन्दा केही सहज काम खोजिरहेको छु,' उनले भने।