ग्लोबल नेपाली
म्याग्दीका प्रकाश कार्की १६ वर्षको उमेरमा रोजगारीका लागि विदेशी भूमिमा पुगेका थिए। त्यस बेला उनका बुबा पनि वैदेशिक रोजगारीमै थिए, युएई (संयुक्त अरब इमिरेट्स) मा एउटा कम्पनीमा काम गर्थे।
गाउँमा आम्दानीको बाटो केही पनि थिएन। विदेशमा एक जनाले कमाएको पैसाले मात्र घरखर्च धान्न सकेन।
कक्षा १० को पढाइ पूरा गरेपछि प्रकाशका लागि उनका बुबाले युएई जाने प्रक्रिया मिलाइदिए। त्यहाँको अमल कुइन (युएक्यु) स्थित एक कस्मेटिक (सौन्दर्य प्रसाधन) उत्पादक) कम्पनीले भिसाका लागि सिफारिस गरिदियो।
युएई जान ५० हजार रूपैयाँ खर्च लाग्ने भयो। त्यसमध्ये केही पैसा बुबाले जोहो गरिदिए। नपुग रकम आफन्तसँग ऋण लिए। यसरी कलिलै उमेरमा ऋण र पारिवारिक जिम्मेवारीको भारी बोकेर प्रकाश सन् २००१ मा युएई पुगे।
'घरको आर्थिक अवस्था राम्रो थिएन। पढाइ छाडेर कामको खोजीमा विदेश जानुपर्यो,' उनले भने।
उनी कम्पनीमा हेल्पर थिए। कार्यालय परिसरमा सरसफाइ गर्ने, निर्देशन अनुसार एक ठाउँबाट अर्को ठाउँमा पुर्याउने उनको मुख्य काम थियो। मासिक पाँच सय दिराम तलब पाउथे। खाना र बासको सुविधा कम्पनीले नै दिएको थियो, यसमा उनको खर्च थिएन।
काम सुरू गरेपछि परिश्रमको महत्त्व थाहा पाए। कम्पनीमा वृत्ति विकासको बलियो सम्भावना देखे। कुनै दिन जनरल म्यानेजर (प्रबन्ध निर्देशक) तहमा पुग्ने अठोटका साथ बिदासमेत नबसी काम गरे, मेहनत गरे। आफ्नो जिम्मेवारीमा सधैं अब्बल सावित भए।
साँच्चै, कम्पनीले क्रमशः जिम्मेवारी थप्दै पाँच वर्षमै उनलाई जनरल म्यानेजर पदमा पुर्यायो। त्यसको एक वर्षपछि मातृभूमि नेपाल आए। युएई गएपछि उनी पहिलो पटक नेपाल आएका थिए।
'म पहिलो पटक नेपाल जाँदा त साथीभाइ कसैले चिन्नै सकेनन्,' उनले सुनाए, 'विदेश जाँदा मेरो तौल ३९ किलो थियो। नेपाल जाँदा ८० किलोको थिएँ।'


केही दिन बसेर उनी कर्मभूमि युएई फर्के। उनले उक्त कम्पनीमा १० वर्ष काम गरे। दसौं वर्षमा उनको मासिक तलब ३० हजार दिराम पुगेको थियो, तत्कालीन विनिमय दर अनुसार करिब नौ लाख रूपैयाँ।
अनुभवले दक्ष प्रकाशलाई अन्य कम्पनीबाट पनि प्रस्ताव आउन थालेको थियो। आफूलाई अझै राम्रो हुन्छ भन्ने पक्का भएपछि मासिक ४० हजार दिराम तलब पाउने गरी सोही पदमा अर्को कम्पनीमा गए।
'धेरै कम्पनीबाट अफर (प्रस्ताव) आउँथ्यो। कुन कम्पनीमा काम गर्ने भनेर आफूले छान्न पाइन्थ्यो,' उनले भने।
अर्को कम्पनीमा गएपछि उनी तोकिएको जिम्मेवारीमा मात्र सीमित भएनन्। आफ्नो व्यावसायिक यात्रा पनि सुरू गरे। कम्पनीको जागिरे रहँदै एउटा 'ट्रेडिङ कम्पनी' खोले।
प्रकाश काम गर्ने कम्पनीले कस्मेटिक सामान उत्पादन गर्थ्यो। उत्पादित सामान आफ्नो कम्पनीमार्फत बेच्न सुरू गरे। 'ब्युटी क्लिनिक' नाममा आफैं ब्रान्डिङ पनि गरे। यसरी उनले उत्पादक कम्पनीमा जनरल म्यानेजर रहेरै लगातार ६ वर्ष युएईमा कस्मेटिक सामानको व्यापार गरे।
साढे एक दशक लामा त्यो अवधिमा उनले कस्मेटिक सामान उत्पादनको व्यावहारिक ज्ञान हासिल गरे। त्यसपछि भने आफै उद्योग चलाउने योजना बनाए। सोही अनुरूप पाकिस्तानमा कस्मेटिक उत्पादन गर्ने एक जना पाकिस्तानीसँग साझेदारीमा उद्योग खोल्ने सहमति भयो।
युएईकै अजमान भन्ने ठाउँमा थोरै जग्गा भाडामा लिएर संरचना बनाए। आवश्यक कच्चा पदार्थ चीन, भारत, युरोप र अमेरिकाबाट आयात गरे। सबै चाँजोपाँजो मिलेपछि 'ट्रेन्डस् फर ब्युटी एन्ड पर्सनल केयर रिक्युजिट म्यानुफ्याक्चर' नामको कम्पनीमार्फत सन् २०१९ मा उद्योग खुल्यो। उद्योगमा २० जना कर्मचारी भर्ना गरिए।
छाला र कपालको सुरक्षाका लागि क्रिम, स्याम्पू, कन्डिसनर लगायत कम्तीमा तीन सय किसिमका उत्पादन गरेर बजार पठाए। सुरूमा सबै उत्पादन प्रकाशले आफ्नो ट्रेड कम्पनीमार्फत बेचे। उत्पादन र व्यापारबाट उनको व्यावसायिक रफ्तार बढ्दै गयो।
तीन वर्षपछि अजमानमै एकल लगानीमा अर्को उद्योग खोले।
हाल प्रकाश युएईमा तीन वटा उद्योग चलाउँछन्। तीन वटैले कस्मेटिक सामान उत्पादन गर्छन्। उनका दुइटा ट्रेडिङ कम्पनी पनि छन्। दुइटा उद्योग भाडाको जमिनमा चलाएका छन्। एउटा उद्योग आफ्नै जग्गामा छ।


तीन वटा उद्योगबाट महिला र पुरूष दुवैका लागि दुई हजारभन्दा बढी प्रकारका कस्मेटिक सामान उत्पादन हुन्छ।
'कम्पनी र ब्रान्ड फरक भएपछि वितरक बढी बनाउन पाइन्छ,' उनले भने, 'एउटै ठाउँमा पनि आफ्नै ब्रान्डसँग प्रतिस्पर्धा भएको देखेर खुसी लाग्छ।'
हाल उनका उद्योगको उत्पादन खाडी मुलुकहरूसहित, अफ्रिका, युरोप र अमेरिका गरी ७० भन्दा बढी देशमा पुग्छ। उनका उद्योग र कम्पनीमा कम्तीमा तीन सय जनाले रोजगारी पाएका छन्।
उनका अनुसार उपभोक्ताले १९ वटा ब्रान्डमा उनका उद्योगका सामान किन्न पाउँछन्। उजुबा, निशा र ब्युटी क्लिनिक चल्तीका ब्रान्ड हुन्।
'हाम्रा प्रायः उत्पादन यी तीनवटा ब्रान्डमा बन्छन्। सबैभन्दा बढी बिक्ने ब्रान्ड पनि यिनै हुन्,' उनी भन्छन्, 'अन्य ब्रान्ड पनि छन्। उपभोक्ताको माग अनुसार ती ब्रान्डमा सामान बनाउँछौं।'
देशको हावापानी र संस्कृति अनुसार उत्पादन फरक हुने उनको भनाइ छ।
'देश अनुसार हावापानी फरक हुन्छ। हावापानीलाई सुहाउँदो सामान बनाउनुपर्छ,' उनी भन्छन्, 'उत्पादनमा संस्कृतिले पनि फरक पार्छ। देश अनुसार संस्कृति फरक छ। अरेविकलाई मन पर्ने फ्लेभर हामीलाई मन नपर्ने हुन सक्छ। यस्त धेरै कुरा विचार गर्नुपर्छ।'
उनका उद्योगका सामान 'फ्युचर ट्रेन्ड्स कस्मेटिक डटकम' बाट अनलाइन अर्डर गर्न सकिन्छ। सामान डेलिभरी हुन माग गरिएको देश अनुसार समय र मूल्य फरक फरक हुन्छ।
उनका अनुसार उद्योगको तुलनामा कस्मेटिक उद्योग चलाउनु चुनौतीपूर्ण काम हो।
प्रकाश भन्छन्, 'ग्राहकले कस्मेटिक उत्पादन धेरै परिवर्तन गर्दैनन्। त्यसैले कस्मेटिक उद्योगमा सफल हुन गुणस्तरीय सामान उत्पादन गर्नुपर्छ।'

(सेतोपाटी ग्लोबलका अन्य सामग्री पढ्न यहाँ क्लिक गर्नुहोस्
ग्लोबल नेपालीबारे यो इमेलमा सम्पर्क गर्नुहोस्- [email protected]