सोल, साउन ३२
कोरियाबाट बैंकिंङ च्यानल प्रयोग नगरी पैसा पठाउने नेपाली कामदार पुनः कोरिया जान नपाउने भएका छन्।
बैदेशिक रोजगार बिभाग ईपिएस कोरिया शाखाले एक सूचना प्रकाशित गरि सन् २०१८ जनवरी १ देखि लागू हुने गरी बैंकिङ च्यानल प्रयोग गरेको प्रमाण पेश नगरेसम्म श्रम स्वीकृत जारि नहुने जनाएको छ।
कोरियामा एक कार्यकाल समाप्त कमिटेड कामदारको रूपमा, सिबिटी वा पिबिटी कुनै पनि तरिकाले पुनः प्रवेश गर्दा उक्त प्रमाण अनिवार्य देखाउनुपर्ने अन्यथा श्रम स्वीकृति नहुने वा बैदेशिक रोजगारीमा जान नपाउने समेत सूचनामा जनाइएको छ।
कार्यालयले वैदेशिक रोजगारका लागि कोरिया पुगेका नेपाली नागरिकले आफूले आर्जन गरेको रकम औपचारिक माध्यमबाट स्वदेश नपठाउँदा जे जति वैदेशिक मुद्रा राष्ट्रिय अर्थतन्त्रमा प्रवाहित हुनु पर्ने हो, सो हुन नसकेको भन्दै उक्त सूचना जारि गरेको हो।
हाल कोरियामा रोजगार अनुमति प्रणाली मार्फत करिब ४५ हजारको संख्यामा नेपाली कामदार कार्यरत छन्। मासिक १ देखि डेढ लाखसम्म कमाइ हुने भए पनि ९० प्रतिशत भन्दा धेरै रकम अबैध हुण्डी मार्फत नेपाल भित्रिदै आएको छ।