रोजगारीको लागि आकर्षक गन्तब्य मुलुक दक्षिण कोरियामा पछिल्लो समय मृत्युको शृंखला बढेको छ। कार्यस्थल दुर्घटना, आत्महत्या, सुतेकै अवस्थामा मृत्यु हुने आदि कारणबाट सन् २०१७ को ८ महिनाकै अवधिमा १९ जना नेपालीले ज्यान गुमाइसकेका छन्।
यसरी मृत्यु हुनेमा सबैभन्दा धेरै कार्यस्थल दुर्घटनाबाट ७ जनाले ज्यान गुमाएका छन् भने ५ जनाले आत्महत्या गरेका छन्। त्यस्तै सुतेकै अबस्थामा (मृत्युको कारण थाहा नभएको ) मृत्यु हुनेको संख्या ५ पुगेको छ भने २ जनाको निधन रोगको कारणबाट भएको छ l
सन् २०१७ को पछिल्लो ३ महिनाको अवधिमै ५ जनाले आत्महत्या गरेका छन्। अगस्टको पहिलो सातामै ३ जनाले ज्यान गुमाए। गुल्मीका बिष्णुप्रसाद घिमिरेको कार्यस्थल दुर्घटनामा परि मृत्यु भएको ३ दिनमै पर्बतका केशब श्रेष्ठले पासो लगाएर आत्महत्या गरे भने त्यसैको ठीक भोलिपल्ट कञ्चनपुरका दिपक सिंहले पनि झुन्डिएर आत्महत्या गरे।
सन् २००८ मा रोजगार अनुमति प्रणाली इपिएस लागू भएयता कोरियाको रोजगारीमा १ सय ३२ जनाले बिभिन्न कारणले ज्यान गुमाइसकेका छन् भने औधोगिक दुर्घटनामा परि अंगभंग हुनेको संख्या पनि उत्तिकै बढेको छ।
सोलस्थित नेपाली दूतावासको तथ्यांकअनुसार सन् २०१५ मा सबैभन्दा धेरै २२ जना नेपालीको मृत्यु भएको थियो भने सन् २०१६मा २० जनाले ज्यान गुमाएका थिए।
यसरि बिभिन्न कारणबाट मृत्यु हुने नेपालीको संख्या दिनानुदिन बढ्दै गैरहेको भएता पनि सम्बन्धित निकायबाट निराकरणको लागि चालिएको कदम त्यति प्रभाबकारी भने बन्न सकेको छैन।
नेपाली दूतावास, कोरियाको पुरानो संस्था एनसीसी, तथा गैह्र आबासीय नेपाली संस्था एन आर एन कोरिया लगाएतले समय समयमा मानसिक तनाब ब्यावस्थापन तथा निराकरण सम्बन्धित कार्यक्रम राख्दै आएको भएता पनि आत्महत्या गर्नेको संख्यामा भने कमि आउन सकेको छैन।
यसैबीच कोरियामा लामो समयदेखि प्रवासी मजदुरको हकहितमा आवाज उठाउँदै आइरहेका प्रवासी मजदुर युनियनका अध्यक्ष उदय राईले इपिएस सम्झौतामा भएको खराब नीतिकै कारणले आत्महत्या ,दुर्घटना आदि बढेको बताउँछन्। उनी भन्छन्- जब सम्म एउटा मजदुरले आफु स्वतन्त्र भएर काम गरिरहेको अनुभब गर्दैन तब सम्म यस्ताखाले घटना घटी नै रहन्छन।
प्रवासी मजदुरले आफूखुसी कम्पनि परिबर्तन गर्न पाउने हो भने यस्ता घटनामा ८० प्रतिशत कमि आउने राईको बुझाई छ।