दक्षिण कोरियामा केही दिनअघि एक नेपाली महिलाले आफ्नै प्रेमीलाई गम्भीर आक्रमण गरेर घाइते तुल्याएकी छिन्। अन्दाजी चालीस वर्षीया नेपाली महिलाले आफूसँगै बस्ने पुरुष साथीलाई अन्य महिलासँग पनि अनैतिक सम्बन्ध राखेको भन्दै बेहोस हुने औषधि सेवन गराइ हात काटिदिएको कोरियन सञ्चार माध्यमहरुले जनाएका छन्। यद्यपि, महिला साथीबाट गम्भीर घाइते भएका पुरुष कुन मुलुकका हुन् भनेर खुलाइएको छैन। तर, ती घाइते कोरियन भएको आशंका गरिएको छ।
आफूसँगै बस्ने पुरुष साथीले अरु महिलासँग कुराकानी गर्ने गरेको थाहा पाएपछि ती दुई जनाबीच झगडा भएको बताइएको छ। तर पछि ती महिलाले बेहोस पार्ने औषधि खुवाएर पुरुषको हात काटिदिएको खांग जिनगी गी हाम्यांग प्रहरी कार्यालय अनुसन्धान विभाग प्रमुखलाई उद्दृत गर्दै सञ्चार माध्यमहरुले जनाएका छन्। प्रहरीका अनुसार पुरुष सुतेको अवस्थामा फोनमा पठाएको म्यासेज, काकाओटक हेर्ने गरेको, अरु महिलाको फोन आउने भएकोले आपसमा झगडा भएको भएको हुन सक्छ। पुरुषले सधैं खाने गरेको औषधिमा बेहोस हुने औषधि मिसावट गरेर महिलाले अपराध गर्ने योजना बनाएको हुन सक्ने आशंका पनि प्रहरीको छ।
पुरुष साथीलाई बेहोस पारेर हात काटिदिएपछि अभियुक्त महिलाले प्रहरीको ११९ नम्बरमा कल गरेर घटनाको जानकारी गराएकी थिइन्। मादक पदार्थ सेवन गरेर मातेको अवस्थामा प्रहरीले ती महिलालाई फेला पारेको थियो। प्रहरीले घाइते अवस्थामा रहेका पुरुषलाई एम्बुलेन्स मार्फत अस्पताल पुर्याएको थियो। यद्यपि काटिएको हात भने प्रहरीले ६ घन्टा व्यापक खोजतलास गरी भेटाएर अस्पताल पुर्याएको थियो । अभियुक्त महिलाले हात काटेर भण्डार कक्षमा लुकाएर राखेकी थिइन्। चुँडिएको हात चिकित्सकले शल्यक्रिया गरेर जोडेको छ। अभियुक्त महिला फरार रहेको र प्रहरीले गम्भीर आक्रमणमा संलग्न अभियोगमा पक्राउको लागि आदेश दिन अदालतसँग माग गरेको छ।