दक्षिण कोरियामा कार्यस्थलमै दुर्घटनामा परी एक नेपाली युवाको ज्यान गएको छ। गुल्मी वाग्लाका ३१ वर्षीय विष्णु घिमिरे जिन्जुस्थित एक पोल्ट्री फार्ममा कुखुराको अण्डा प्रशोधन गर्ने मेशिन बिग्रिएपछि बनाउने खोज्दा दुर्घटनामा परेका थिए। फोरकिलिफ्ट गाडिको सहायताले मेशिन बनाउन खोज्दा फित्ता चुँडिएर घिमिरेको टाउकोमा लागेको थियो। त्यसक्रममा उनी भुईमा ढल्न पुगेका थिए।
भुइँमा ढलेका घिमिरलेलाई उपचारका लागि तत्कालै जिन्जुस्थित स्थानिय अस्पतालमा पुर्याइएको थियो। तर, अस्पतालले केही समयपछि मृत घोषित गरेको उनका सहकर्मीले बताएका छन्।
मृतक घिमिरे इपीएस मार्फत २२ महिनाअघि कामका लागि कोरिया आइपुगेको र कम्पनी परिवर्तन गरेर त्यहाँ पुगेको बताइएको छ।
उनी कोरियाको पुरानो छाता संगठन नेपाली सम्पर्क समितिको हालै सम्पन्न अधिवेशनबाट सहकोषाध्यक्षमा निर्वाचित भएका थिए।
सोलस्थित नेपाली दूतावासले पनि घटनाका बारेमा कोरियन प्रहरीले फ्याक्समार्फत रिपोर्ट पठाएर जानकारी गराएको बताएको छ। घटनाका बारेमा घर परिवारलाई हिजो शनिवार नै जानकारी गराइएको गुल्मी सम्पर्क समितिका अध्यक्ष गान्धिव सुबेदीले जनाएका छन्।
दूतावासका अधिकारी पनि भोलि त्यसतर्फ पुगेर विस्तृत जानकारी लिने तयारीमा रहेको बुझिएको छ। कृषि क्षेत्र अन्तर्गत अण्डा प्रशोधन गर्ने उक्त कम्पनीमा अन्य चार नेपाली कार्यरत रहेका छन्।