जापानको फुकुसिमामा दोस्रो विश्वयुद्धताका अमेरिकाले फालेको बम नपड्किएको अवस्थामा बिहीबार भेटिएको छ ।
सन् १९४५ को अगष्टमा अमेरिकाले जापानमा शक्तिशाली हानीकारक परमाणु बम हमला गरेको थियो ।
अमेरिकाले जापानको हिरोसिमामा सन् १९४५ अगष्ट ६ र नागासाकीमा अगष्ट ९ मा बम हमला गरेको थियो । सो बम आक्रमणका क्रममा दुई लाखभन्दा बढी नागरिकको ज्यान गएको थियो ।
जापानको फुकुसिमामा रहेको परमाणु उर्जा केन्द्रको परिसरमा सो बम भेटिएको जनाइएको छ ।
उक्त केन्द्रको परिसरमा मजदुरहरुले सवारी साधन पार्किङस्थल निर्माण गर्ने क्रममा खन्दा सो नपड्किएको बम भेटिएको समाचारमा जनाइएको छ ।
सुरुमा उक्त शङ्कास्पद वस्तु के हो भनेर मजदुरले प्रहरीलाई खबर गरेका थिए। प्रहरीले ती मजदुरलाई उक्त कार्यस्थलबाट बाहिर जान नदिई सो निर्माणस्थललाई नै घेराभित्र पारेर अनुसन्धान गरेको थियो ।
पछि सो वस्तु नपड्किएको बम नै हो भन्ने पत्ता लागेको उक्त परमाणु प्लान्टका प्रवक्ताले जानकारी दिएका छन्। उक्त बम प्रहरीको नियन्त्रणमा छ भने मजदुरहरूलाई छाडिएको छ।
भेटिएको बम ८५ सेन्टिमिटर लामो छ।
प्रहरीले अुनसन्धानकर्ताहरु समेत लगाएर गरेको अनुसन्धानबाट दोस्रो विश्वयुद्धमा अमेरिकाले जापानमा आक्रमण गर्दा फालेको बम नै भएको प्रमाणित भएको बताइएको छ ।
उक्त बम हमलाको ७२ वर्ष पूरा भएको छ । तर अहिले पनि जापानका कतिपय स्थानमा यस्ता नपड्किएका बमहरु भेटिने गरेका समाचारहरु यसअघि पनि आएका छन् । रासस/एएफपी